कामरेडहरु ! समाजवादको सपनामा होइन, हामी विपनाकै यात्रामा छौं अहिले । तर, यसका लागि मुख्य नेताहरुको विचार, निष्ठा र व्यवहार समाजवादी सभ्यता अनुकूलको हुनु पर्दछ । आफ्ना लागि समाजवाद होइन कि समाजवादका लागि आफ्नो भूमिका खोज्नुपर्ने स्थिति हो अहिले ।
नेतृत्वको शीर्ष तहले पार्टी एकतापछिको समाजवादको यात्रालाई बोली र आश्वासनमा होइन, व्यवहार र आचरणमा देखाउनु जरुरी छ । अब पनि व्यक्तिवादी बन्ने, गुटको अहंकार गरेर अरुलाई निषेध गर्छु भनीठान्ने र अकर्मण्यतामा फसिरहने हो भने जनताको कडा सजाय भोग्नु पर्नेमा कुनै द्विविधा छैन ।
सचिवालय बैठकले यी तीन मुख्य कुरालाई ध्यान दिन सकोस्–
१. पार्टी एकताको विशिष्ट परिस्थितिमा प्रस्तावित समाजवादउन्मूख ‘जनताको जनवाद’ लाई उर्बरा, रसिलो, भरिलो र गर्विलो बनाउन सबैको ध्यान पुर्याइयोस् ।
२. एउटा व्यक्तिलाई धेरै जिम्मा दिँदा परिणाम प्रभावकारी नहुने र अरु आकांक्षीहरु जिम्मेवारीविहीन हुने गैरन्यायिक स्थितिबाट पार्टी र आन्दोलनलाई बचाउन ‘एक व्यक्ति एक कार्यकारी पद–जिम्मेवारी’ सहित पार्टी एकताका सबै काम टुंग्याइयोस् र पार्टी तथा जवस र विभागका सबै तहमा निर्देशिका जारी गरियोस् ।
३. पुँजीको न्यायिक वितरणविना समाजवाद नहुने अर्थराजनीतिक मान्यताअनुरुप माटोलाई माया गर्ने संस्कृतिको विकास गर्दै उत्पादन, आत्मनिर्भरता, स्वाधिनता र समृद्धिसहितको वैज्ञानिक समाजवादउन्मूख ओरियन्टेसनमा जाने साहसिलो निर्णय गरियोस् । साथै, हजारौं कार्यकर्ता, लाखौं समर्थक, झन्डै दुईतिहाइ मत दिएका जनता र आम नैपालीको मनोबल उठाउने गरी पार्टी कार्यक्रम सार्वजनिक गरियोस् ।
फेरि दोहोर्याऊँ– अब पनि व्यक्तिवादी बन्ने, गुटको अहंकार गरेर अरुलाई निषेध गर्छु भनीठान्ने र अकर्मण्यतामा फसिरहने हो भने जनताको कडा सजाय भोग्नु पर्नेमा कुनै द्विविधा छैन ।
(सुझावकर्ता तिवारी लामो समयदेखि कम्युनिस्ट आन्दोलनमा क्रियाशील छन्)