newskoseli.Com

पूर्वमन्त्री एवं उद्योगी रूप ज्योति ठगीकण्डमा पक्राउ

हाउजिङ निर्माण गरिदिन्छु भन्दै सर्वसाधारणको ठूलो रकम ठगी गरेको आरोपमा पूर्वमन्त्री एवं उद्योगी रूप ज्योति पक्राउ परेका छन् । सिंगापुरबाट काठमाडौं उत्रिने क्रममा बिहीबार साँझ प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै उनलाई पक्राउ गरेको हो । उनी टेकुस्थित काठमाडौं प्रहरीको हिरासत छन् ।

बिहीबार राति ११ बजे वीर अस्पतालमा ज्योतिको स्वास्थ्य परीक्षण गरिएको छ । हाउजिङका नाममा ठगी गरेको आरोपमा ०७५ मंसिर २० मा जिल्ला अदालत काठमाडौंले उनलाई पक्राउ गरी अनुसन्धान गर्न पुर्जी जारी गरेको थियो । त्यसको चार दिनपछि उनले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए  । प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणा र प्रकाश ढुंगानाको इजलासले मंगलबार जिल्ला अदालतको पुर्जीलाई सही ठहर गर्दै उक्त रिट खारेज गरेपछि ज्योतिलाई समात्न प्रहरीलाई बाटो खुलेको हो ।

अदालतबाट शुक्रबार म्याद थप गरेर अनुसन्धान अघि बढाउने प्रहरीको तयारी छ । ज्योति समूहको लगानी रहेको ल्यान्डमार्क डेभलपर्सका नाममा सर्वसाधारणबाट रकम उठाएर हाउजिङ नदिएको आरोपमा गतवर्ष मंसिरमा पीडितले महानगरीय प्रहरी परिसर काठमाडौंमा सञ्चालक ज्योतिविरुद्ध उजुरी दिएका थिए  । बाँसबारीमा हाउजिङ बनाएर वितरण गर्ने भन्दै ल्यान्डमार्कले सर्वसाधारणबाट मोटो रकम उठाएको थियो  ।

प्रहरीमा परेको उजुरीअनुसार ज्योति समूह र त्यसकै अर्को संस्था स्याकार कम्पनीका नाममा ल्यान्डमार्कको सेयर कायम गरी हाउजिङ कम्पनी दर्ता गरिएको थियो  । कम्पनी दर्तापछि सर्वसाधारणले हाउजिङ बुकिङस्वरूप लगानी गरेका थिए  । तर, हाउजिङ निर्माण नगरेपछि विज्ञेन्द्रकृष्ण मल्ल प्रहरीमा गएका थिए  ।

‘२०७१ मा ज्योति समूहको हाउजिङ कम्पनीले विज्ञेन्द्रकृष्ण मल्लबाट १ करोड ३६ लाख रुपैयाँ लिएर घर नदिएको आरोपमा गतवर्ष उजुरी परेको थियो,’ डीएसपी बोगटीले भने– ‘पीडितको उजुरीपछि नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा अदालतले पक्राउ पुर्जी जारी गरे पनि सर्वोच्चको अन्तरिम आदेशका कारण उनी पक्राउ पर्न सकेका थिएनन्  ।’

ठगीकाण्डका अभियुक्त ज्योति तत्कालीन राजा ज्ञानेन्द्रको शासनकाल (०६१) मा अर्थ सहायकमन्त्री रहेको खबर शुक्रबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर