newskoseli.Com

यस्तै हुन्छ त कम्युनिस्टको सरकार ?

लेखक खेम थपलिया

लकडाउनको समय छ । सुरु–सुरुमा लकडाउन पनि अलि अलि रोमाञ्चकताजस्तो देखिएको थियो, विशेषतः मध्यमवर्गका लागि । लकडाउन बढ्दै जाँदा त्यो रोमाञ्चकताको डिग्री पनि स्वाटसुट घट्दै छ । पछिल्ला दिनमा मानिसहरू लकडाउनबारे खुलेर बोल्न सकेको देख्दिनँ । जताततैबाट खै के हुने, के गर्ने हो जस्ता कुरा बढी सुनिन थालेका छन् । नियमित श्रमको आधारमा जीवनको रथ हाँक्नेहरूको व्यथा अलि गम्भीर हुँदै गएको पाउँछु । यसो आफूलाई पनि छाम्छु, हो त नि है भन्ने पनि लाग्छ ।

समयको खातैखात छ तर मन स्थिर छैन । यसो दुनियाँतिर नजर लगाउँछु, झन् चौपट्टको अवस्था देख्छु । समकालीन पुस्ताले पहिलोपटक नयाँ अनुभूति गर्दै छ कोराना महामारीको । अमेरिका, बेलायत, ब्राजिल, स्पेन, इटाली, फ्रान्स तवाह–तवाह बनेका छन् कोरोनाका कारण । भयङ्कर मानव सङ्कटको क्षण हो यो । मानवीयताको रक्षा गर्ने बेला पनि हो यो । फोस्रो अहङ्कार र दम्भलाई सदाका लागि मिल्काउनुपर्ने समय पनि हो यो । अब पनि अनावश्यक तुजुक, अहङ्कार र दम्भका कारण मानवजगत्ले दुःख पाइरहनुहुँदैन । चीनले कोरानाको व्यवस्थापन लगभग गरिसकेको छ भने भारत कोरोनासित अलि बढी जुधिरहेको छ । भारत पछिल्लो चरणमा कोरोनाको इपिसेन्टर बन्ने खतरा बढ्दै छ । उसको अवस्था देख्दा झसङ्ग हुन्छु, ओहो तीनतिर खुल्ला सिमाना जोडिएको नेपालको अवस्था के होला ! कम्युनिस्टको आबरणमा हद दर्जाका लम्पसारवादी, नालायक, दलाल फासिवादी केपी ओली नेतृत्वको यो सरकारले कसरी जनताको रक्षा गर्ला ?

सम्झँदा पनि कहाली लागेर आउँछ । यो सांस्कृतिक रूपमा एकदमै विचलित सरकार हो । यो सरकार जनताको भोको पेटको वास्ता गर्दैन तर मठ–मन्दिर र चर्चहरू बनाउन अरबौँ रूपैयाँ खन्याउँछ । यो सरकार द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको उच्चारणसमेत गर्दैन । यो सरकार कुनै कुनै बेला माक्र्सवादको कुरा गर्छ तर व्यवहारतः गैर–मार्क्सवादी संस्कार देखाउँछ । सिद्धान्त भौतिकवादको लिन्छ तर जिउज्यान लगाएर अध्यात्मवादको सेवा गर्दछ । प्रधानमन्त्री ओली राज्यको ठूलो पैसा खर्च गरेर होलीवाइनको भोजभतेर लगाउँछन् र मोदीको लहै्लहैमा लागेर कोरोनासित लड्न भन्दै दीपावलीका उर्दी जारी गर्छन् । अनि, आफैँलाई सोध्न मन लाग्छ– यस्तो पनि हुन्छ त कम्युनिस्टको सरकार !

यस्तो पनि सरकार कम्युनिस्टको हुन्छ र !
यो त साह्रै बेइज्जत भो,
यो त साह्रै शरम भो !

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले लेख्नुभएको गीतांश हो यो । यो गीतले यो सरकारतर्फ नै इङ्गित गरेको छ । यो सरकार चौतर्फी असफल र बद्नाम छ । यो सरकार बेइज्जती र शरमयुक्त छ । यसले ओली सरकार देशभक्तमाथि गोली चलाइरहेको छ, भ्रष्टाचारको विरोध गर्नेलाई जेल पठाइरहेको छ र तस्करी र बलात्कारको विरोध गर्दा उग्रवादीको संज्ञा दिइरहेको छ । शान्तिपूर्ण सभा गर्न र जनताका आवाज बोल्न नदिने, आफू विदेशीको पाउमा पर्ने र देशभक्त तथा क्रान्तिकारी योद्धाहरूलाई नेल लगाउने यो सरकारको गतिविधिको जति भण्डाफोर गरे पनि कमै हुन्छ । यसले आफूलाई सर्वहारा भन्दै करोडपति बनाउँदै लगिरहेको, कम्युनिस्ट हुँ भन्दै पुँजीवादी बन्दै गइरहेको र आफूलाई सुविधै–सुविधाले छोप्ने अनि जनतालाई करमाथि कर थप्ने काम गरिरहेको छ । महासचिव विप्लवको गीतको अन्तर्वस्तुबारे सोच्छु, मनमनै गुन्छु अनि भन्न मन लाग्छ– हत्तेरिका यस्तो पनि हुन्छ त कम्युनिस्टको सरकार !

यो भ्रष्ट–शिरोमणि सरकार हो । यसको खास परिचय नै भ्रष्टाचार हो । यसबाट भ्रष्टाचार शब्द झिकिदिने हो भने यो सरकार नै कहाँ रहन्छ र ! प्रधानमन्त्री ओलीजस्तै अन्य मन्त्रीहरूले बेला–बेलामा भनिरहेको सुनिन्छ– भ्रष्टाचार नगर्ने, गर्न नदिने र गरेको नसहने ! योजस्तो सफेद झुट अरू के नै हुन सक्ला र ! ओलीतन्त्रलाई चिनाउने गाँठी कुरा नै भ्रष्टाचार हो । भ्रष्टाचारी ओलीभक्त र भजनकर्मीहरूको चर्चा एकाध घन्टा वा दिनमा गर्न सकिने विषय होइन । आफ्ना भ्रष्ट–भक्तहरूको बचाउ गर्ने ओलीको तरिका पनि बेजोड छ । बालुवाटारमा बसेर ओलीले झुटको व्यापार गरिरहेका छन् । यतिसम्म कि कोरोना महामारीको समयमा पनि औषधीजन्य सामग्रीमा भएको भ्रष्टाचारमा ओली आफूले ओम्नीको नाम नै नसुनेको भनेर जग हँसाउँछन् । गोकुल बास्कोटाले गरेको सत्तरी करोडको हाकाहाकी बार्गेनिङलाई पनि ओली एक कानले सुनेर अर्को कानले उडाइदिन्छन् । बालुवाटारकै जग्गा आफ्नो नाममा बनाउनेलाई यो सरकार लौ गज्जब भनेर धाप मार्छ । यो सरकारले भ्रष्टाचारलाई गाउँ–गाउँमा सिंहदरबार भन्दै देशव्यापी संस्थागत गरेको छ । अधिकांश जनप्रतिनिधिको भ्रष्टाचारबारे सञ्चार–माध्यममा समाचार प्रसारण भइरहेकै छ । भ्रष्टाचार तथा कमिसनको हिसाब–किताब नमिल्दा जनप्रतिनिधि तथा ठेकेदारहरूका बिचमा मारमुङ्ग्रीसमेत भएका घटना पनि नयाँ हुन छाडेका छन् ।

केपी ओली र विद्या भण्डारीलाई अहिले धेरैले प्रश्न गरिरहेका छन्– मदन भण्डारीको हत्यारा खै ? एमालेकै ठूलो पङ्क्तिको आरोप छ कि यसमा भण्डारी र ओली गम्भीर बनेनन् । राष्ट्रियतासम्बन्धी अडान लिएकै कारण मदन भण्डारी मारिएका थिए । यसले ओली र भण्डारीहरूको राष्ट्रियतासम्बन्धी चिन्तनमाथि बारम्बार प्रश्न उठ्ने गरेकै छ । राधाकृष्ण मैनालीले बेला–बेला भन्ने गर्छन्– मदन भण्डारीको हत्यापछि सबैभन्दा बढी फाइदा विद्या भण्डारी र केपी ओलीलाई भएको छ । यो ‘फाइदाको सौन्दर्यशास्त्र’ को अध्ययन गर्न आवश्यक छ । राष्ट्रियताको विषयमा पनि यो सरकार निकै कमजोर प्रतीत हुन्छ । कम्युनिस्टहरू अलि बढी देशभक्त, अलि बढी राष्ट्रवादी हुनुपर्ने हो तर यसमा त्यस्तो कुनै पनि लक्षण देखिँदैन । महाकाली बेच्ने पनि ओलीहरू नै हुन् । महाकाली बेच्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीको नाम अग्रपङ्क्तिमा आउँछ । उनीहरूले अहिले जुन पदमा आसीन छन्, त्यसमा महाकाली बेच्दाको प्रतिफल हो भन्ने कुरामा कुनै शङ्का छैन । देशको राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, करिब दुईतिहाइको केन्द्रीय सरकार, सातमध्ये छ प्रदेशमा एकल सरकार, अधिकांश स्थानीय तहमा आफ्नै बहुमतको सरकार हुँदा पनि आफ्नो पार्टीको नेताको हत्यारा पत्ता लगाउन नसक्ने वा नचाहने ओली र उनले नेतृत्व गरेको सरकारप्रति एकैपटक धेरै आशङ्का पैदा भएको छ । विगतदेखि र आगतसम्म जोडेर ल्याउँदा उनका अनेक चित्र देखिन्छन् ।

यो मौसम नयाँ नक्साको मौसम बनेको छ । सबैभन्दा पहिले भारतले नेपालको लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रको नेपाली भू–भाग समेटेर आफ्नो नक्सा निकाल्यो । नेपालमा त्यसको चर्को प्रतिवाद भयो । सीमा बचाउ अभियानद्वारा नेपालको वास्तविक भूगोल समेटेर नक्सा प्रकाशन गरियो र जनस्तरमा व्यापक प्रचार गरियो । भारतीय साम्राज्यवादले नेपाली भूमि छाड्नु त कता हो कता, उल्टै उसले नेपाली भूमिमाथि निर्माण गरेको मानसरोवरको बाटो रक्षामन्त्री राजनाथले उद्घाटन गरेपछि नेपालमा राष्ट्रिय स्वाधीनताको आन्दोलन चर्किरहेका छ । व्यापक जनदबाबपछि यो सरकारले नयाँ नक्सा सार्वजनिक गर्न बाध्य भएको छ । कुनै पनि देशका नागरिकका लागि आफ्नो देशको माटो कति महत्वपूर्ण हुन्छ भन्ने कुरालाई सरकारले अझ पनि आत्मसात् गर्न सकेको देखिँदैन । यतिबेला ओली सरकार नयाँ नक्सा र लकडाउनको वैसाखी टेकर अमेरिकी सैन्य–रणानीति एमसीसी पारित गराउन मरिमेटेर लागेको छ । एमसीसी प्रकरणले यो सरकारको कथित राष्ट्रवादी लँगौटी पनि ह्वाङ्गै फुस्काइदिएको छ । यो सरकारको आजसम्मको विकृत इतिहासले धेरै कुराको बुझ्न सकिन्छ ।

देशमा फासिवादी ओली सरकारविरुद्ध आक्रोश चुलिँदो छ । भारतीय साम्राज्यवादले नेपाली भूमिमाथि बाटो बनाएपछि दिनदिनै सडकमा राष्ट्रियताको नारा घन्किँदो छ । यो सरकार सडकमा उत्रिएका युवा, विद्यार्थी, बुद्धिजीवी, नेता, मानवअधिकारकर्मी, प्राज्ञिकलगायत अभियन्ताहरूलाई निर्लज्जतापूर्वक पक्राउ गरिरहेछ; अन्धाधुन्ध लाठी बर्साउँदै चरम दमन गरिरहेछ । यो सरकार कम्युनिस्ट हुन्थ्यो भने, यो सरकार राष्ट्रवादी हुन्थ्यो भने राष्ट्रिय स्वाधीनताको पक्षमा सडकमा निस्किएका आफ्ना नागरिकको निर्लज्ज भएर टाउको फुटाउँदैनथ्यो । धन्यवाद र बधाई दिनुपर्ने ठाउँमा यो सरकारले देशको माटोको रक्षा गरौँ भनेर सडकमा निस्कँदा लाठी र अश्रुग्यास उपहार दिइरहेछ । यो सरकारले देशका प्रवुद्ध वर्गलाई हिरासतमा लिइरहेछ । यो सरकारले आन्दोलनकारीलाई विद्युतको झट्कासहित अनेक तबरबाट यातना दिइरहेछ । मलाई कस्तो पनि लाग्छ भने कतै डबल नेकपाभित्रको विवाद व्यवस्थापन नै गर्न नसकिने अवस्थामा पुगेको र सरकार पनि सोचेअनुरूप चलाउन नसकिरहेको सन्दर्भमा प्रम केपी ओलीकै योजना र अनुरोधअनुरूप भारतीय प्रधानमन्त्री मोदीको निर्देशनमा भारतीय रक्षामन्त्रीले मानसरोवर राजमार्ग उद्घाटन गरेर बेमौसमको बाजा बजाएका त हैनन् ? ओलीका सहयात्रीहरूका अनुसार उनी अत्यन्त सन्देहस्पद मान्छे हुन् ।

आज मात्रै पनि थुप्रै मित्रहरूले फोन गरेर सोध्नुभएको थियो– हाम्रो चुच्चे नक्सालाई बुच्चे बनाउने को हो ? लौ न पत्ता लगाउनुप¥यो । यो प्रश्नले मलाई भित्रैदेखि छोयो पनि । ओहो कसले पो यति भयानक राष्ट्रघाती काम गर्‍याे भन्ने लागिरह्यो । भारतीय रुचि र षड्यन्त्रअनुरूप चुच्चो मेटिएको बुच्चो नक्सा प्रयोगमा ल्याउने कार्यमा को को संलग्न थिए होलान ? ती बेइमान राष्ट्रघातीहरूको नाम सार्वजनिक गर्न सके यो देशको लागि निकै ठूलो काम हुने थियो ! यतिविघ्न अन्याय र अत्याचार, यतिविघ्न अमानवीयता र बर्बरता, यतिविघ्न असफलता र संवेदनहीनता, यतिविघ्न भेदभाव र हिंसात्मक दमन, यतिविघ्न अवैज्ञानिक र अव्यवाहारिक, यतिविघ्न झुट, लुट र भ्रष्टीकरणमा आधारित सरकार पनि कम्युनिस्ट हुन सक्छ र ! अझ पछिल्ला दिनमा देशका विभिन्न भू–भागमा मानवताका विरुद्धका जघन्य अपराधका घटनाले हृदय कम्ति पोलेको छैन । पश्चिम रुकुममा कथित जातपात र छुवाछुतका कारण ठूलो नरसंहार हुनु समकालीन समाजको कहिल्यै नमेटिने कालो धब्बा हो । यो कथित कम्युनिस्ट सरकार समाजको न्यायिक, सांस्कृतिक मूल्य, अनुशासन र नैतिक आदर्श कायम राख्न पुरै असफल भएको प्रमाण पनि हो । लकडाउनको समयमा क्वारेन्टिनदेखि राहतको बितरणसम्म दलित समुदायमाथि भेद्भाव गरिएका समाचार झन् उदेकलाग्दा छन् । यसो सोच्छु, मेरो देश यस्ता अमानवीय, आपराधिक र जातीय विभेदबाट कहिले मुक्त होला !

पछिल्ला घटनाले नेपाली समाजको सांस्कृतिक परिस्थितिमाथि गम्भीर प्रश्न उब्जाइदिएको छ । यसले जनयुद्ध र विभिन्न समयका राजनीतिक, सामाजिक एवम् सांस्कृतिक आन्दोलनको मूल्यमाथि पनि प्रश्नचिन्ह खडा गरिदिएको छ । नेपालमा सामन्तवादी संस्कृतिका विरुद्ध निकै लामो समयदेखि कठोर सङ्घर्ष हुँदै आए पनि त्यसको रूपान्तरणको नाजुक अवस्थाले एकैपटक धेरै कुरा सोच्न बाध्य बनाएको छ । यो दलाल संसदीय व्यवस्था आफैँ विभेदकाारी र अन्यायकारी छ । यसको अन्त्यबिना न्यायिक र विभेदरहित समाजको स्थापना गर्न छैन । ऐन महरको अभिव्यक्तिले विशेष चर्चा पाएको छ । उनले सामाजिक सञ्जालमा लेखेका थिए– धेरै पढेपछि विद्वान् हुन्छ, विद्वान बिग्रे बाबुराम हुन्छ भन्थे, पुष्टि हुँदै छ । यी गद्दार दलाल राष्ट्रघातीलाई हार्दिक श्रद्धाञ्जली ! अब भयो त । जिउँदै मान्छेलाई श्रद्धाञ्जली ! मित्रमणि आचार्यहरूले बलिदान गरेको विद्यार्थी सङ्गठनको पछिल्लो कडीमा संयोजक रहेका ऐन महरले अध्ययनशीलता, विद्वता, बौद्धिकता र प्राज्ञिकताको घोर अपमान र खिल्ली उड्ने गरी दिएको निकृष्ट अभिव्यक्तिले सत्ताको मनमौजी छाताको आबरणमा मूल्यहीनता र अपसंस्कृति कसरी हुर्कंदै गएको छ भन्ने कुरा स्पष्ट हुन्छ ।

यो सरकारले कमरेड विप्लवले नेतृत्व गर्नुभएको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएको छ । यो सरकारले इन्काउन्टरको नाममा पार्टीका नेता तथा कार्यकर्ताको हत्या गरेको छ । यो सरकारले हेमन्तप्रकाश वली’, माइला लामा, उमा भुजेल, अनिल शर्मालगायत हजारौँ नेता तथा कार्यकर्तालाई झुट्टा मुद्दामा जेल तथा हिरासतमा राखेको छ । एउटा कम्युनिस्ट पार्टीले अर्को कम्युनिस्ट पार्टीमाथि राजनीतिक प्रतिबन्ध लगाएर यति चर्को दमन गर्ला भनेर दुनियाँका कुनै पनि राजनीतिशास्त्रीले अनुमान पनि गरेका हुँदैनन् तर नेपालमा त्यही भइरहेको छ । अदालतले निर्दोष ठहर गर्दै मुक्त गर्न दिएको आदेशलाई यो सरकारले गम्भीर अवहेलना गर्दै आएको छ । अरू त अरू, कोरोना महामारीको समयमा पनि ओली सरकारले नेताहरूलाई जेल तथा हिरासतमै राखेको छ । यो सरकारले सामान्य राजनीतिक चरित्र पनि देखाउन सकेको छैन । यो सरकार आफूलाई कम्युनिस्ट तर गैर–कम्युनिस्टसित घाँटी जोड्छ । यसको नाभी पनि तिनै बुर्जुवासित जोडिएको छ । यो सरकार देशभक्त तथा क्रान्तिकारी शक्तिमाथि दमन गर्दछ । यो सरकारले देशका अधिकांश कम्युनिस्ट विचार र सिद्धान्त मन पराउने जनसमुदायको भावना र संवेदनामाथि गम्भीर खेलवाड गरिरहेको छ । कम्युनिस्टहरू वैज्ञानिक हुन्छन् तर यो सरकार जति रुढीग्रस्त र पुरातनवादी सायदै दुनियाँमा पाइएला !

यो सरकारमा मानवीय संवेदना र उत्तरदायित्व नै देखिँदैन । यो सरकारले कोरोना महामारीमा परेको उचित सेवा गरिरहेको छैन । मजदुरहरू सयौँ किलामिटर हिंडेर गन्तव्यमा पुग्न बाध्य छन् । लकडाउनपछि मात्र झन्डै छ सयभन्दा बढीले आत्महत्या गरिसकेका छन् । यो सरकार आफूलाई मजदुर–किसानको साथी भन्छ तर मजदुरहरू–भरियाहरू खान नपाएर सडकमै मर्न विवश छन् । धादिङका सूर्यबहादुर तामाङ यसको ताजा उदाहरण बनेका छन् । बच्चाहरूको बेहाल अवस्था छ, महिलाहरूको अवस्था पनि उस्तै छ तर पनि यो सरकार आफूलाई कम्युनिस्ट नै भन्दछ । यस्तो बेलामा न हाँस्न सकिन्छ, न त रुन नै ! सामाजिक सुरक्षाको सुनिश्चितता भएको प्रचार गर्ने यो सरकारको कूसंस्कार, अमानवीयता र उपेक्षा पुँजीवादी सांस्कारिक प्रतिबिम्बनसिवाय अरू केही होइनन् । यो सरकार अज्ञानताको पनि अज्ञानीजस्तो लाग्छ मलाई । मलाई यतिबेला बर्नाड शाको भनाइको याद आइरहेछ । बर्नाड शाले भनेका थिए– मिथ्या ज्ञानदेखि सावधान होऊ, यो अज्ञानताभन्दा खतरनाक हुन्छ । यो सरकारमा यही खतरनाक कुरा देखिन्छ ।

जब सत्ता निकम्मा हुन्छ, जब शासकहरू असफल हुन्छन्, जब देश र जनता सकसमा पर्न थाल्छन्, तब संसारभरका शासकहरू ‘राष्ट्रवाद’ को कार्ड फाल्न थाल्छन् । यसो हेर्छु, हामीकहाँ पनि भएको त्यही त हो । यो सरकार शिरैसम्म गैर–कम्युनिस्ट चरित्रले चुर्लुम्म डुबेको छ । यसको केन्द्र, प्रदेश र स्थानीय तह विषाक्तै–विषाक्तताले भरिएको छ, जसको कारण समाजमा जटिल सइन पल्टिने खतरा बढ्दो छ । यो सरकार विकृति र विसङ्गतिले चुर्लुम्म डुबेको छ । यो सरकार भौतिकवादको खिल्ली उडाउँदै आदर्शवादमा चुर्लुम्म डुुबेको छ । प्रम केपी ओली आफैँ सदनमा देवसभाको चर्चा गर्न थालेका छन् । वैचारिक, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र दार्शनिक कहीँ कतै पनि यो सरकारमा कम्युनिस्टको ‘क’ पनि देखिँदैन । फेरि पनि दुनियाँमा भ्रम छ– नेपालमा कम्युनिस्ट सरकार छ । यो नक्कली कम्युनिस्टलाई कम्युनिस्ट भनिदिएर सक्कली कम्युनिस्ट सिध्याउने चाल पनि त हुन सक्तछ ! फेरि एकपटक चिच्याएर भन्न मन लाग्छ– यस्तो पनि हुन्छ त कम्युनिस्टको सरकार !

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर