राष्ट्रिय योजना आयोगअन्तर्गनको केन्द्रीय तथ्यांक विभागले बुधबार राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ । २०७८ कात्तिक २५ देखि मंसिर ९ सम्म सञ्चालित जनगणनाको प्रारम्भिक नतिजा माघ १२ मा सार्वजनिक गरिएको हो ।
प्रारम्भिक नतिजाअनुसार गणनाको अवधिसम्ममा नेपालको कूल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । अहिलेको जनगणनाअनुसार नेपालमा १ करोड ४९ लाख १ हजार १ सय ६९ जना (५१.०४%) महिला छन् भने १ करोड ४२ लाख ९१ हजार ३ सय ११ जना (४८.९६%) पुरूष छन् ।
दस वर्षअघि २०६८ मा भएको जनगणनामा नेपालको कूल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो । त्यसबेला नेपालमा १ करोड ३६ लाख ४५ हजार ४ सय ६३ जना महिला र १ करोड २८ लाख ४९ हजार ४१ जना पुरूष थिए ।