क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशन राजधानीमा सुरु भएको छ । न्युरोडको भूगोलपार्कमा बिहीबार दिउँसो १ बजे भव्य समारोहबीच सो पार्टीका संयोजक मोहन वैद्य ‘किरण’ ले महाधिवेशनको उद्घाटन गरेका छन् ।
११ बजे रत्नपार्कस्थित शान्तिबाटिका र त्रिपुरेश्वरबाट निकालिएको जुलुस सुन्धारामा मिसिएर भूगोलपार्क पुगेपछि महाधिवेशनको उद्घाटन भएको हो । सन्तबहादुर नेपालीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा वरिष्ठ नेता सीपी गजुरेल ‘गौरव’ ले स्वागत मन्तव्य राखे । प्रवक्ता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले कार्यक्रमको सञ्चालन गरे ।
क्रान्तिकारी कम्युनिस्ट पार्टीको महाधिवेशनलाई शुभकामना दिन जर्मनी, भारत, बंगलादेश र टर्कीस्थित कम्युनिस्ट पार्टीहरुबाट ९ जना अतिथिहरु आइसकेको सो पार्टीले जनाएको छ । नेपालका मित्रपार्टीहरुको तर्फबाट शुभकामनाका लागि मोहनविक्रम सिंह नेतृत्वको मसाल, विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नारायणमान विजुक्छे नेतृत्वको नेपाल मजदुर किसान पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, लोकनारायण सुवेदी नेतृत्वको नेकपा र नारायण शर्मा नेतृत्वको कम्युनिस्ट पार्टीलाई आमन्त्रण गरिएको छ ।
शु्क्रबारदेखि मङ्सिर २३ सम्म कीर्तिपुरस्थित त्रिवि हलमा सञ्चालन हुने महाधिवेशनको बन्द सत्रमा संयोजक किरणसहितले पेस गर्ने राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन र मस्यौदा विधानमाथि छलफल गरी हलबाट प्राप्त सुझावहरू समेतलाई समेटेर परिमार्जनसहित पारित गर्ने कार्यक्रम रहेको बताइएको छ । देशभरबाट साढे तीन सय प्रतिनिधि सहभागी महाधिवेशनले पार्टीको नयाँ नेतृत्व समेत चयन गर्ने छ ।