newskoseli.Com

सहिद साझा सम्पत्ति, सम्मान गर्नु राज्यको दायित्व : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहिदको बलिदानका कारण नै आजको राजनीतिक परिवर्तन सम्भव भएको भन्दै उनीहरु देशका साझा सम्पत्तिका रुपमा रहेकाले सहिदको सम्मान गर्नु राज्यको दायित्व भएको बताएका छन् । गोरखा नगरपालिका– १४, गोप्लिङस्थित एकै घरबाट तीनजना सहिद भएका नहर्की परिवारसँग भेट गर्दै अध्यक्ष प्रचण्डले यस्तो धारणा राखेका हुन् ।

‘राजनीतिक परिवर्तनका लागि नेपालमा विभिन्न आन्दोलनहरु भएका छन्, तीमध्ये सबैभन्दा ठूलो र लामो समयसम्म चलेको आन्दोलन महान् जनयुद्ध हो,’ अध्यक्ष प्रचण्डले भने– ‘यसमा हजारौं जनताका छोराछोरीको रगत बगेको छ, यही रगतको जगमा नै आजको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएकाले सम्पूर्ण सहिदहरु देशका साझा सहिद हुन्, उनीहरुको सम्मान गर्नु राज्यको दायित्व हो ।’ आफ्नो पार्टीले सहिद तथा बेपत्ता परिवार र घाइते योद्धाहरुको योगदानलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै आफूले तेस्रो पटक सरकारको नेतृत्व गर्दा जनयुद्धसहित आजसम्मका सबै आन्दोलनका सहिदहरुको नाम राजपत्रमा प्रकाशित गरेर राष्ट्रिय सहिदका रुपमा स्थापित गरेको उनले बताए । छुटेका नामहरु पनि सहिदको सूचीमा निरन्तर समावेश गरिने जानकारी समेत उनले दिए ।

सहिदको रगतका कारण आएको राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने अभियानमा माओवादी निरन्तर जुटेको उल्लेख गर्दै अब बदलिएको व्यवस्था अनुकूल जनताको अवस्था बदल्न अभियानात्मक रुपमा अघि बढ्ने जानकारी अध्यक्ष प्रचण्डले दिए । शान्ति प्रक्रियामा आएपछि केही समय आफ्नो वर्ग र समुदायका जनतासँगको नियमित सम्पर्कमा कमी आएको र त्यही क्रममा सहिद तथा बेपत्ता परिवारसँगको भेटघाट पनि पातलिन पुगेको स्वीकार गर्दै पछिल्लो केन्द्रीय समितिको बैठकले पार्टीलाई पुनः आफ्नै वर्ग र समुदायमा फर्काउने निर्णय गरेको र त्यसकै कार्यान्वयनमा आफूहरु पार्टी रुपान्तरण तथा पुनर्निर्माणको अभियान लिएर देशव्यापीरुपमा अघि बढेको उनले जानकारी गराए ।

सरकारको काममा व्यस्त हुँदा आफ्नो निर्वाचन क्षेत्रका कार्यक्रममा बढी ध्यान नदिन नसकेको उल्लेख गर्दै सरकारबाट बाहिरिएपछि त्यसलाई बढाइएको र अब निरन्तर आफ्ना मतदातासँगको घेटघाटमा आइरहने प्रचण्डले बताए । आफू प्रधानमन्त्री हुँदा गोरखामा पूर्वाधार निर्माण र जनताको जीवनस्तर रुपान्तरणमा सहयोग पुग्ने गरी आवश्यक बजेट विनियोजन गरिएको जानकारी दिँदै यसको कार्यान्वयनमा ध्यान दिन स्थानीय पार्टी र जनसमुदायलाई उनले आग्रह गरे ।

सो क्रममा गोरखा नगरपालिका– १४, गोप्लिङ निवासी सहिदहरुका बुबा नरबहादुर नहर्की र लक्ष्मी नहर्कीसहित परिवारसँग अध्यक्ष प्रचण्डले भेट गरे । उनीहरूका छोरा गुप्तबहादुर नहर्की ‘ज्वाला’ ले १३ पुस, २०५५ मा गोरखाको केराबारीमा, छोरीहरु सरस्वती नहर्की ‘विपना’ ले ८ वैशाख, २०५६ मा गोरखाको बाक्राङमा र कल्पना नहर्की ‘नमूना’ ले २३ असार, २०५८ मा लमजुङको बिचौरमा सहादत प्राप्त गरेका थिए ।

पालुङ्टार– ८ स्थित घरैमा पुगेर प्रचण्डले सहिद वीरेन ओलियाका बिरामी बुबा देवराज ओलियालाई पनि भेट गरी स्वास्थ्यलाभको कामना गरे । सो क्रममा उनले सहिद परिवार र स्थानीयसँग समेत भेटघाट गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर