
गैरआवासीय नेपाली संघ उच्चस्तरीय समितिका अध्यक्ष शेष घलेले एनआरएन अभियन्ता तथा प्रबुद्ध प्रवासी नेपालीहरुलाई आउँदो मे महिनामा काठमाडौंमा हुन गइरहेको एकता महाधिवेशनमा सहभागी भएर संघलाई एकताबद्ध बनाउन योगदान गर्न अपिल गरेका छन् ।
संघका पूर्वअध्यक्ष समेत रहेका डा. घलेले कर्मभूमि अष्ट्रेलियास्थित सिडनीमा आयोजित एक अन्तरक्रियालाई सम्बोधन गर्दै लामो समयदेखि विवादमा अल्झिएको एनआरएनएलाई लोकतान्त्रीकरण गर्ने एक अपूर्व अवसर आएको बताए । ‘गत अप्रिल, २०२४ मा सर्वोच्च अदालतले संक्षिप्त फैसला दियो र पछि पूर्णपाठ पनि प्राप्त भयो; अदालतको फैसलाको ६ महिनापछि अक्टोबर, २०२४ मा उच्चस्तरीय समितिलाई परराष्ट्र मन्त्रालयबाट निर्देशन प्राप्त भयो; उक्त निर्देशन प्राप्त भएको ३० दिनभित्र १९ नोभेम्बरर, २०२४ मा उच्चस्तरीय समितिको पहिलो बैठक बस्यो, त्यससँगसँगै ६ महिनाभित्र अन्तर्राष्ट्रिय साधारणसभा आयोजना गर्नुपर्ने समयावधि पनि सुरु भयो’– घलेले भने ।
उच्चस्तरीय समितिका अध्यक्ष डा. घलेले आफूहरुको जिम्मेवारी सर्वोच्च अदालतले दिएको म्यान्डेटभन्दा पनि बढी भएको बताए । ‘यो कानूनी निर्देशन पूरा गर्ने विषय मात्रै नभएर एउटा दिगो तथा प्रजातान्त्रिक संस्था निर्माण गर्नका लागि दरिलो ढाँचा बनाउने अवसर पनि हो; यो महाधिवेशनमा एनआरएनएसम्बन्धी ऐनअनुसार सदस्य बन्न योग्य सबै पञ्जीकृत सदस्य काठमाडौंमा आएर तोकिएको शुल्क तिरेर डेलिगेट्स बन्न पाउँछन्, आफ्नो नेतृत्व चयन गर्न पाउँछन्, नयाँ विधान बनाउन पाउँछन्; यस्तो अवसर फेरि आउँदैन त्यसैले अलिकति समय खर्च गरेर, समयमै ट्राभल बुक गरेर मे महिनामा काठमाडौं आउन म सबै साथीहरुलाई अनुरोध गर्दछु’– डा. घलेले भने । तोकिएको मितिमै महाधिवेशन हुनेमा ढुक्क हुन उनले सरोकारवाला आग्रह गरे ।