विभिन्न वामपन्थी दलहरूसँग आबद्ध दस युवानेताहरूले लोकतन्त्रिक गणतन्त्र, संघीयता, समानुपातिक समावेशिता, धर्मनिरपेक्षता लगायतका अधिकारहरूबाट पछाडि हटेर गरिने कुनै खालका पहल वा सहमति आजका समस्याको समाधान नहुनेमा ध्यानाकर्षण गराएका छन् । साथै उनीहरूले आ–आफ्ना दलको आमूल परिवर्तन गर्ने उदघोष समेत गरेका छन् ।
‘२०८२ भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको उत्कर्षले एकातिर मुलुकमा परिवर्तनको नयाँ संकेत गरेको छ भने अर्काेतर्फ ठूलो मात्रामा भएको धन, जन र सम्पदाको क्षतिले आम अराजकता हुँदै असफल राष्ट्रतर्फको गम्भीर खतरालाई पनि साथसाथै इंगित गरेको छ’, बुधबार साँझ जारी संयुक्त वक्तव्यमा लेखिएको छ– ‘नेपाली जनताको शताब्दीऔं लामो संघर्षपश्चात संविधानसभाबाट प्राप्त नेपालको संविधान, २०७२ ले सुनिश्चित गरेका लोकतान्त्रिक गणतन्त्र, संघीयता, समानुपातिक समावेशिता, धर्मनिरपेक्षता लगायतका अधिकारहरूबाट पछाडि हटेर गरिने कुनै खालका पहल वा सहमति आजका समस्याको समाधान होइन भन्नेमा हामी प्रष्ट छौं ।’
‘हामी हाम्रा दलहरूभित्र रहेका खराबी, विकृति र समस्याहरूको समाधानका लागि दलको आमूल परिवर्तन गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं र विगतका कमजोरीहरूप्रति गम्भीर आत्मालोचना गर्दछौं,’ उषाकिरण तिमल्सेना, दामोदर अर्याल, दीपक देवकोटा, महेन्द्र श्रेष्ठ, युवराज चौलागाईं, लक्ष्मण लम्साल, लेखनाथ न्यौपाने, शरद रसाइली, सोनामसिंह स्याङतान र टेकम बाँठाद्वारा जारी वक्तव्यमा उल्लेख छ– ‘राज्यको प्रगतिशील रूपान्तरण गर्दै जनताको आकांक्षा अनुरूप विकास, न्याय र समृद्धिको यात्रामा सबैसँग हातेमालो गर्ने अवसर आगामी दिनहरूमा अझ विकसित हुँदै जाने अपेक्षा समेत गर्दछौं ।’
वर्तमान संवैधानिक मान्यताहरूबाट पछि नहटी प्रणालीको थप विकास गर्न समेत उनीहरूले सम्बद्ध पक्षसँग माग गरेका छन् ।










