प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषले एक करोड एक लाख रुपैयाँ सहयोग गरेको छ । सोमबार सञ्चालक समितिका कार्यबाहक अध्यक्ष उत्तरकुमार खत्री र कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।
रसुवाको भोटेकोशी तथा त्रिशुली नदीमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्का कारण ठूलो मानवीय तथा भौतिक क्षति पुगेको दुःखद् परिस्थितिमा सरकारको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले कोषले उक्त रकम जम्मा गरेको हो । चेक हस्तान्तरणकाे अवसरमा सञ्चालक समितिका सदस्य नारायणप्रसाद घिमिरे तथा निर्देशक शोभा श्रेष्ठ समेत उपस्थित थिए ।






