अग्रगामी मोर्चाले संगठनलाई गाउँगाउँ र वडावडासम्म विस्तार गर्दै आगामी राजनीतिक संघर्षलाई सशक्त बनाउने निर्णय गरेको छ । मोर्चाको सर्लाही जिल्ला समन्वय कमिटीको बैठकले संगठन विस्तारसँगै आगामी राजनीतिक गतिविधिलाई प्रभावकारी बनाउने रणनीति तय गरेको हो ।
मलङ्गवास्थित एक होटलमा जनता समाजवादी पार्टी (जसपा) नेपालका जिल्ला अध्यक्ष रन्धिरकुमार यादवको अध्यक्षतामा बसेको बैठकमा मोर्चाआबद्ध नौ राजनीतिक दलका जिल्ला अध्यक्ष तथा प्रतिनिधिहरू सहभागी भए । बैठकमा पूर्वगृहराज्यमन्त्री तथा नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष मोहम्मद रिजवान अन्सारी प्रमुख अतिथिका रूपमा सहभागी भए ।
२७ भदौमा जनकपुरधाममा आयोजना हुने मोर्चाको प्रदेशस्तरीय नेता तथा कार्यकर्ता अभिमुखीकरण एवं प्रदेश मोर्चा घोषणा कार्यक्रमलाई भव्य रूपमा सफल बनाइने निर्णय बैठकले गरेको छ । त्यसका लागि सर्लाहीबाट ठूलो संख्यामा नेता–कार्यकर्ता तथा समर्थक सहभागी गराउने निर्णय गरिएको बताइएको छ ।
‘प्रतिगमनको प्रयास भए प्रतिरोधको अग्रपंक्तिमा उभिन्छौँ’
बैठकलाई सम्बोधनका क्रममा प्राप्त लोकतान्त्रिक उपलब्धिको रक्षा गर्दै बाँकी अधिकार प्राप्तिका लागि संगठित संघर्ष आवश्यक रहेको अन्सारीले बताए । संघीयता समाप्त पार्ने र गणतन्त्र, धर्मनिरपेक्षता, संविधान तथा समावेशितामाथि आक्रमण गर्ने कुनै पनि प्रयास स्वीकार्य नहुने बताउँदै त्यस्तो अवस्था आए अग्रगामी मोर्चा प्रतिरोधको अग्रपंक्तिमा उभिने उनले दाबी गरे ।
मोर्चा क्षणिक राजनीतिक समीकरण वा सत्ताप्राप्तिको स्वार्थबाट गठन नभएको समेत अन्सारीले बताए । जनताका अधिकार, समानता, सामाजिक न्याय र सुशासनका लागि दीर्घकालीन राजनीतिक संघर्ष गर्ने साझा मञ्चका रूपमा मोर्चालाई अगाडि बढाइने उनले उल्लेख गरे । ‘यो मोर्चा विगतका मोर्चाजस्तो बन्ने र फेरि भत्किने होइन; यो कुनै व्यक्ति, पद वा तत्कालीन सत्तास्वार्थका लागि बनेको मोर्चा होइन,’ अन्सारीले भने– ‘उत्पीडित जनताको अधिकार र राज्यसत्तामा सार्थक सहभागिता सुनिश्चित गर्ने लक्ष्यसम्म हाम्रो एकता र संघर्ष कायम रहन्छ ।’
एउटै चिह्नबाट चुनाव लड्ने तयारी
आगामी दिनमा मोर्चाआबद्ध दलहरूबीचको एकतालाई थप सुदृढ पार्दै एउटै चुनाव चिह्नबाट निर्वाचनमा सहभागी हुने दिशामा अघि बढ्ने समेत अन्सारीले बताए । उनका अनुसार अग्रगामी मोर्चा निर्वाचनका बेला मात्र सक्रिय हुने गठबन्धन नभई सडक संघर्षदेखि निर्वाचन र सरकारसम्म जनताका पक्षमा संयुक्त रूपमा काम गर्ने राजनीतिक शक्तिका रूपमा स्थापित हुनेछ ।
‘हामी सडकमा पनि जनताको अधिकारका लागि सँगै संघर्ष गर्छौं, चुनावमा पनि एउटै चुनाव चिह्न लिएर जनताका बीच जान्छौं र सरकारमा जाने अवस्था आएमा पनि जनताकै पक्षमा काम गर्न एकताबद्ध भएर सहभागी हुन्छौं’– उनले भने । राष्ट्रिय स्वाधीनता, दिगो शान्ति, सुशासन र समृद्ध नेपाल निर्माणका लागि अग्रगामी राजनीतिक शक्तिहरूबीचको एकता अत्यावश्यक रहेको उनले बताए ।
क्षेत्रदेखि वडासम्म संगठन विस्तार गरिने
सर्लाहीमा अग्रगामी मोर्चाको संगठनलाई तल्लो तहसम्म विस्तार गर्ने निर्णय बैठकले गरेको छ । त्यसअनुसार संसदीय निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र, नगरपालिका, गाउँपालिका तथा वडा तहसम्म संगठन निर्माण र विस्तार गरिनेछ । त्यसैगरी बुद्धिजीवी, युवा, विद्यार्थी, किसान तथा महिलालगायत विभिन्न क्षेत्रका जनसमुदायलाई संगठित गर्न भ्रातृ तथा जनसंगठन निर्माण गर्ने निर्णय समेत गरिएको छ ।
संगठनलाई वडा तहसम्म पुर्याउनका लागि सक्रिय रूपमा लाग्न अध्यक्ष अन्सारीले मोर्चामा आबद्ध सबै दलका नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिए ।
‘ढुक्क हुनुहोस्, मोर्चा टुट्दैन’
लामो समयदेखि राजनीतिक, सामाजिक तथा आर्थिक रूपमा उत्पीडनमा परेका समुदायलाई अग्रगामी मोर्चाप्रति विश्वास गर्न अन्सारीले आग्रह गरे । मोर्चा सरकारमा सहभागी हुन अवसर खोज्ने मात्र नभई राज्यको चरित्र परिवर्तन, विभेदको अन्त्य र उत्पीडित जनताको अधिकार स्थापित गर्ने दीर्घकालीन अभियान भएको उनले बताए ।
‘उत्पीडित जनताले ढुक्क भए हुन्छ– यो मोर्चा टुटफुट हुँदैन । यो मोर्चा सरकारमा सहभागी हुन मात्रै गठन गरिएको होइन,’ उनले भने– ‘नेपाली उत्पीडित जनताको राज्यसत्तामा सार्थक सहभागिता स्थापित नभएसम्म र जातीय तथा साम्प्रदायिक विभेदमा आधारित शासन व्यवस्थाको अन्त्य नभएसम्म यो संघर्ष जारी रहन्छ ।’
जनकपुरको कार्यक्रम सफल पार्न अभियान सञ्चालन गर्ने
२७ भदौमा जनकपुरधाममा हुने प्रदेशस्तरीय अभिमुखीकरण तथा मोर्चा घोषणा कार्यक्रमलाई व्यापक जनसहभागितासहित सफल बनाउन सर्लाहीसहित मधेश प्रदेशका सबै जिल्लामा अभियान सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ । न्याय, समानता, स्वतन्त्रता, सामाजिक न्याय, जनअधिकार र राष्ट्रिय स्वाधीनताको पक्षमा उभिने परिवर्तनकामी नागरिकलाई जनकपुरधामको कार्यक्रममा सहभागी हुन अन्सारीले अपिल गरे ।
‘समानताको जगमा नेपाललाई उभ्याउन चाहने, विभेद र अन्यायको अन्त्य चाहने, जनताको अधिकार सुनिश्चित गर्दै नयाँ नेपाल निर्माण गर्न चाहने सबै न्यायप्रेमी र परिवर्तनकामी शक्तिहरू एक ठाउँमा उभिन आवश्यक छ’– उनले भने । संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता, सामाजिक न्याय, सुशासन, राष्ट्रिय स्वाधीनता तथा जनअधिकारको संरक्षण र विस्तारलाई आगामी दिनमा आफ्नो राजनीतिक अभियानको प्रमुख आधार बनाइने मोर्चाले जनाएको छ । संगठनलाई क्रमशः देशव्यापी रूपमा विस्तार गर्ने तयारी समेत मोर्चाले गरेको छ ।







