उपाधिका साथ आर्मीले ३ लाख रुपैयाँ र ट्रफी हात पारेको छ । उपविजेता पुलिसले २ लाख नगद पुरस्कार पाएको छ ।
सुरुआतदेखि नै बलियो देखिएको आर्मीका तर्फबाट पहिलो हाफको १९औँ मिनेटमा कप्तान भरत खवासले पहिलो गोल गरे । डिबक्सबाट खवासले गरेको बलियो प्रहार विपक्षी गोलकिपर सोजित गुरुङले रोक्न सकेनन् । भरतले दिलाएको १–० को अग्रतालाई पहिलो हाफकै ३०औँ मिनेटमा गोल गरी सुमन अर्यालले दोब्बर बनाए । त्यसपछि सुन्दर मौका पाएपनि दुवै टोलीले गोल गर्न सकेनन् ।
प्रतियोगिता अवधिभर उत्कृष्ट खेल कौशल देखाएका पुलिसका डिफेन्डर रबिन श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगिता अवधिभर ३ गोल गरेका आर्मीका कप्तान भरत खवास सर्वाधिक गोलकर्ता घोषित भए । त्यस्तै, फाइनल खेलको ‘म्यान अफ दी म्याच’ गोलकर्ता सुमन अर्याल घोषित भए । उनीहरु सबैले जनही १० हजार रुपैयाँ नगद पुरस्कार पाए ।
त्यस्तै, प्रतियोगिता समापनका अवसरमा पूर्व फुटबल खेलाडीहरु सूर्यमान श्रेष्ठ ‘कालु’, छन्नुराम चौधरी, रवीन्द्र श्रेष्ठ, वीरेन्द्र पाण्डे र अरुणा गुरुङलाई विशेष सम्मान गरिएको आयोजक स्पोर्टस् फर अल क्लब नेपालका अध्यक्ष लोकबहादुर शाहीले जानकारी दिए । फाइनल खेलको बीच इलामेली कुशल खेलाडी निशान राना मगरले फुटबल कौशल देखाएका थिए ।
सर्वोत्कृष्ट टोली, खेलाडी, पूर्वखेलाडी तथा सहयोगी संस्था एवम् व्यक्तिहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथि पूर्वउपप्रधानमन्त्री कमल थापाले पुरस्कार तथा सम्मान प्रदान गरे ।
समापन कार्यक्रममा सम्बोधन गर्दै थापाले चितवनमा ४ दशकअघि फुटबल खेलेको स्मरण गरे। प्रतियोगिताको समापन मूल कार्यक्रम संयोजक ऋद्धिचरण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । कुल ११ टोली सहभागी प्रतियोगिता ८ दिनसम्म चलेको थियो ।