चार दर्जनभन्दा बढी कृतिका कृतिकार प्रा. शिवगोपाल रिसालका नाममा नयाँ कृति लोकार्पण गरिएको छ ।
गत चैत ३० मा डोटीमा सवारी दुर्घटनामा परी दिवंगत भएका प्रा. डा. जयराज पन्तद्वारा रचित ‘प्रा. शिवगोपाल रिसाल’ स्वाध्याय नामक अध्यात्मिक संस्थाले प्रकाशन गरेको हो ।
प्राध्यापक रिसालको जन्मकुण्डली, व्यक्तित्व, शैक्षिक क्षेत्रको सेवा, अध्यात्मिक पक्ष, अन्य रचनासहित उनले प्रकाशित गरेका ५० भन्दा बढी कृतिको सुक्ष्म विश्लेषण सो कृतिमा गरिएको छ । आठ भागमा विभाजित करिब ८०० पृष्ठको सो पुस्तकको मूल्य रु. एक हजार ५०० राखिएको छ ।
सो कृति लोकार्पण गर्दै एक हजार आठ स्वामी रामानन्द गिरीले बेदान्तको प्रतिमूर्तिका रूपमा भएका प्राध्यापक रिसालका कृति साहित्य, ज्ञान र दर्शनले भरिएको छ भने ।
शिक्षासेवी तथा समाजसेवी अङ्गुरबाबा जोशीले शिक्षा, साहित्य र बेदान्तमा समेत प्रखर वक्ताका रुपमा रहेका प्राध्यापक रिसालले समाजिक क्षेत्रमा पनि उत्तिकै प्रेरणादायी भूमिका खेलेका छन् ।
साहित्यकार कमलमणि दीक्षित भन्छन् : ‘लेखक रिसालका कृतिमा प्रसंशा गर्न सकिन्छ तर समीक्षा गर्न कठिन छ भन्दै यो कृति महाविद्यावारिधिको उपाधि पाउने खालका छन् ।’
प्राध्यापक माधवप्रसाद आचार्यले प्राध्यापक रिसालका कृति ज्ञान, भक्ति र कर्मको त्रिवेणी भएको चर्चा गरे । कृतिका नायक प्राध्यापक रिसालले धार्मिक तथा आध्यात्मिक क्षेत्रका ज्ञाता लेखक स्व डा पन्तको यो कृतिमा आफ्ना बारेमा सुक्ष्म अध्ययन भएकाले लेखकप्रति अनुगृहित भएको बताउँछन् ।