newskoseli.Com

सहकारीले कमायो १ वर्षमा ६८ लाख

मन्थली बचत तथा ऋण सहकारी संस्था आर्थिक वर्ष २०७२–७३ मा ६७ लाख ६७ हजार २ सय ३९ रुपैयाँ कमाउन सफल भएको छ । संस्था वर्षभरिमा भएका सबै खर्च कटाएर उक्त मुनाफा कमाउन सफल भएको हो ।

संस्थाले शनिबार मन्थलीमा आफ्नो १९औं साधारणसभामार्फत वर्षभरिमा भएको आर्थिक तथा सांगाठनिक विवरण आफ्ना सेयर सदस्यहरुलाई जानकारी गराएको छ ।

९ हजारमाथि शेयर सदस्यसंख्या रहेको उक्त संस्थाको साधारणसभाको उद्घाटन प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले गरे । प्रमुख अतिथि अधिकारीले सहकारीको अभियानलाई सबैको सहकार्यमा सार्थक बनाउनुपर्ने धारणा राखे । प्रजिअ अधिकारीले भने– ‘सरकारले पनि सहकारीको संस्थागत विकासमार्फत सामाजिक र आर्थिक परिर्वतनमा जोड दिएकाले यसलाई पूर्णता दिनका लागि आम शेयर सदस्यसँगै त्यसका सञ्चालकहरु जिम्मेवार हुनुपर्छ ।’

केही वर्षयता प्रतिनिधिमूलक ढंगले साधारणसभामा सहभागी गराएर एक वर्षमा भए–गरेका काम र आगामी वर्षको कार्ययोजनासहित छलफल गराउँदै आएको मन्थली बचतले यस वर्ष पनि आफ्नो कार्यक्षेत्रभित्रका तोकिएका प्रतिनिधिहरुको भेला गरी साधारणसभा सम्पन्न गरेको हो ।

साधारणसभाले संस्थाका सचिव गोविन्दप्रसाद घिमिरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष सुरेश श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ । १९ वर्षअघि ६८ जना शेयर सदस्यहरुबाट संस्थाको अभियान सुरु भएकोमा आ.व. ०७२–७३ सम्म आइपुग्दा सदस्य संख्या बढाएर ९ हजार ८ सय १९ पुर्याएको छ ।

संस्थाले यस अवधिमा आफ्नो शेयर पुँजी ४ करोड ७७ लाख ७१ हजार ४ सय रुपैयाँ पुर्याएको छ भने संस्थासँग बचत संकलन ४९ करोड ६ लाख २३ हजार ८ सय ५५ रहेको छ । संस्थाले ४१ करोड ८५ लाख ८२ हजार ९ सय ३६ रुपैयाँ आफ्ना शेयर सदस्यसलाई क्रण लगानी गरेको कोषाध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाका अध्यक्ष ध्रुवप्रसाद सुवेदीको अध्यक्षतामा भएको साधारणसभाले अध्यक्ष ध्रुवप्रसाद सुवेदी र उपाध्यक्ष रामचन्द्र बियोगीको कार्यकाल तीन वर्ष थप गरेको छ । सभाले ऋण उपसमितिका सदस्य र अन्य एक कार्यसमिति सदस्यमा पनि नयाँ मनोनयन गरेको छ ।

साधारणसभाले एक वर्षको बीचमा संस्थासँग निकट रहेर विभिन्न विधामा असल कारोबार गर्ने आफ्ना केही शेयर सदस्यहरुलाई सम्मान समेत गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर