newskoseli.Com

इमानदारिता, लगनशीलता, परिश्रम र धैर्यता नै सफलताका आधार

१३ भदौ, २०४२ मा दिलप्रसाद–लिलावती पराजुलीको सन्तानका रुपमा स्वरेक– ४, स्याङ्जामा जन्मेका भरत पराजुली अहिले टोखा–१५ गोंगबुमा ‘रेन्बो फर्निचर प्रा.लि.’ सञ्चालन गरिरहेका छन् । नेपालमा रोजगारी र अवसरको कमी छ भन्दै उनको उमेरका धेरै युवा धमाधम विदेश पलाय भइरहेका छन् । इमान, लगन र परिश्रम हुने हो भने देशको परिस्थिति र वातावरणलाई मात्र दोष दिइरहनु पर्दैन, जीविका र प्रगतिका लागि नेपालमै प्रशस्त सम्भावना छ भन्ने उदाहरण प्रस्तुत गरिरहेका छन् पराजुलीले । प्रस्तुत छ उनै युवा उद्यमी पराजुलीसँग न्युजकोसेलीकर्मी सुस्मिता मगर र सजनी आचार्यले गरेको संक्षिप्त कुराकानी ।

राम्रै फर्निचर सोरुम चलाउनुभएको रहेछ, कति भयो यो पेशामा लाग्नुभएको ?

८ वर्ष भयो । पहिले धेरै साझेदारहरुसँगबाट सुरु गरियो तर ४ वर्षयता मेरै एकल निर्णयबाट चल्नेगरी व्यवस्थित गरिएको छ ।

रोजगारी वा अरु पेशा–व्यवसायतिर नलागी किन यही पेशामा लाग्नुभयो ?

म आफ्नै सोचाइ र स्वतन्त्रतामा चल्नुपर्ने स्वभावको मान्छे भएकाले जागिरमा लाग्न र अरुबाट निर्देशित भएर चल्न चाहिँन । जागिरका लागि पनि प्रशस्तै अवसर पाएको हुँ तर व्यापार–व्यवसायमै लाग्नु उचित ठानेर यतातिर लागेको हुँ । काम गर्ने क्रममा यही पेशा अँगाल्न पुगियो, यसैमा सन्तुष्ट छु ।

देशमा नयाँ संविधान आएको छ, सरकार पनि नयाँ बनेको छ… राजनीतिक घटनाक्रमहरुप्रति कत्तिको चासो छ ?

नयाँ संविधान आउनु सुखद् कुरा हो । म पनि एउटा नेपाली र व्यावसायिक व्यक्ति भए तापनि असल नागरिकका हैसियतले सोच्नुपर्दा अहिलेका राजनीतिक परिवर्तनलाई सकारात्मक रुपमा लिन्छु । तर, नयाँ सरकार आउनु र पुरानो सरकार जानुमा चाहिँ खुशी हुनुपर्ने कुनै कारण म देख्दिनँ । जुन सरकार आए पनि राम्रो काम गरोस्, जनता र देशलाई राम्रो हुने खालका कार्यक्रम ल्याओस्, हाम्रो सरोकार यत्ति हो । देशको बारेमा सोच्ने नेता र सरकार नै देशको आवश्यकता हो, यो वा ऊ भन्नेमा जनताको खासै सरोकार छैन । जो सरकारमा आए पनि आ–आफ्नै परिवार र दललाई मात्र केन्द्रमा राखेर सोच्ने वा कमाउने अनि देश र जनतालाई जहाँको त्यहीं छाड्ने वा झन् तल झार्ने दल र नेताको कुनै आवश्यकता छैन ।

Exif_JPEG_420

राजनीतिक अस्तव्यस्तताले यहाँ केही गर्नै पाइएन भन्दै धेरै युवा विदेशिइरहँदा तपाईंचाहिँ स्वदेशमै उद्यमशील हुनुहुन्छ, विदेश जान मन लागेन ?

तपाईंले एकदमै राम्रो प्रश्न सोध्नुभयो । अघि नै यो विषयमा कुरा गरिहालौं कि जस्तो लागेको थियो, तपाईंले नै सोधिहाल्नुभयो ।  यो प्रश्नका निम्ति तपाईंलाई धेरै धन्यवाद । रोजगारीका निम्ति विदेश जाने कि स्वदेशमै केही गर्न प्रयास गर्ने भन्नेबारे मेरो बेग्लै धारणा छ । काम गर्न सक्षम युवा–युवतीका लागि स्वदेशमै अत्यन्त धेरै अवसरहरु छन् । आफूले बगाएको पसिनाअनुसार वा मेहनतअनुसारको फल नेपालमै पाइन्छ । खाडी राष्ट्र वा अन्यत्र कतै गएर दैनिक १२–१४ घन्टा परिश्रम गर्दा महिनामा २०–३० हजार त कमाएका छन् नि हाम्रा दाजुभाइ–दिदीबहिनीले । त्यति कमाउन त यहाँ दैनिक ६ घन्टा मात्रै काम गरे पुग्छ । मलेशिया वा अरु कुनै राष्ट्रमा गएर २–३ वर्षसम्म गर्ने परिश्रम यहीं गरे यहाँ जे पनि गर्न सकिन्छ ।

जे–जति परिश्रम र बलबुद्धि लगाए पनि सहज ढंगबाट जीविका चल्ने आम्दानी भएन भन्दै कयौं युवा–युवती गलत कामधन्दातिर पनि लागेका छन्, त्यस्तालाई के भन्नुहुन्छ ?

तपाईं अरु जेसुकै भन्नोस्, म पत्याउँला । तर, राम्रो बाटोमा लागेर काम गर्दा मेहनतअनुसार फल पाइएन वा पाइँदैन भन्ने कुराचाहिँ म कुनै हालतमा पत्याउन सक्दिन । जागिरजस्तो व्यापार–व्यवसाय होइन र व्यापार–व्यवसायजस्तो जागिर पनि होइन । जागिरमा हाजिर गरेपछि र महिना पुगेपछि तलब आउने पक्का हुन्छ तर व्यवसायमा यसैबेला र यति नै आम्दानी हुन्छ भन्ने हुँदैन । तर, असल तरिकाले गरिएको काममा एक न एक दिन राम्रो मुनाफा अवश्यै हुन्छ, यसमा जोसुकैले सय प्रतिशत ढुक्क भए हुन्छ । व्यापार–व्यवसाय गर्दा केही कुरामा ध्यान दिनु अत्यन्तै जरुरी हुन्छ, जस्तो– इमानदारिता, लगनशीलता, परिश्रम र धैर्यता । यी कुराको पालना गरिए जुनसुकै व्यवसाय भए पनि राम्रोसँग अगाडि बढ्ने कुरा पक्कापक्की छ ।

Exif_JPEG_420विवाह गर्नुभयो ?

हजुर, गरियो ।

बालबच्चा नि ?

विवाह भएको करिव १ वर्ष मात्र भयो, बालबच्चा छैनन् ।

काम गर्दै जाँदा कहाँसम्म पुगेर के बन्ने सोच्नुभएको छ ?

अगाडि बढ्दै जाँदा जीवनचक्र कहाँ पुग्छ, के बनिन्छ भन्ने कुरा आफ्नो वशमा हुँदैन जस्तो लाग्छ । तर, असल सोचविचार राखेर सही तरिकाले काम गर्दै जाँदा अवश्य नै राम्रै हुन्छ भन्नेमा चाहिँ म ढुक्क छु ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर