खेतबारीको नाममा यत्ति हो । वर्षभरि खाने अन्न यही खेतको धान हो । अरु केही छैन । गत वर्षहरुमा ३० मुरी धान फल्थ्यो । चाडपर्वको खर्च समेत यही धानबाट गर्ने गरिएको थियो । अहिले धानको बाला निस्किएपछि सबै सुकेर भुस मात्र फल्यो । अब हामी कसरी बाँच्ने ? नीलकण्ठ नगरपालिका– ७, तल्लोबेंसीका विष्णुप्रसाद कोइरालालाई ठूलाे चिन्ताले सताएको छ ।
गत आवमा कृषकलाई ५० प्रतिशत अनुदानमा क्षेत्रीय कृषि अनुसन्धान केन्द्र बाराले उत्पादन गरेको हर्दिनाथ– १ नामक धानको बिऊ जिल्ला कृषि विकास कार्यालयमार्फत वितरण गरेपछि सोही धान लगाएका कोइरालाले यस्तो समस्या भोग्नुपरेको हो ।
पाँच रोपनी जग्गामा लगाइएको हर्दिनाथ– १ धान लगाएका कोइरालाको ५ जनाको परिवार छ । धान फलेमा उनीहरुको परिवारलाई यही धानको भात खाएर एक वर्ष चल्छ । सन्तानको पढाइलेखाइ चल्छ । जब धान फलेन तब उनको ओठमा मुस्कानको सट्टा अँध्यारो बादल छाएको छ । अब के खाने ? एक वर्ष कसरी बाँच्ने ? कोइराला चिन्तामा छन् ।
कोइराला मात्र होइन, सुकुम्बासी विष्णु श्रेष्ठले अधियाँमा लगाएको चार रोपनी खेतको धान फलेन । बाला लाग्ने बेलामा भुस मात्र फलेको छ । धेरै फल्छ, अनुसन्धान केन्द्रको धान राम्रो हुन्छ, रोग प्रतिरोधी छ भन्ने लागेर उनीहरुले त्यसको बिऊ किनेर लगाएका थिए ।
बिऊ उम्रियो, सबै राम्रोसँग बढेको हो । अन्य वर्षभन्दा राम्रो फल्छ भन्ने देखिएको थियो । धानको बाला निस्कन लागेपछि मर्न थल्यो । जिल्ला कृषि विकास कार्यालयमा सम्पर्क भयो । कर्मचारीले औषधि पनि लेखिदिएका हुन् तर उनीहरुले लेखिदिएको औषधिले उपचार भएन ।
नीलकण्ठ नगरपालिका तथा सलाङ र त्रिपुरेश्वर गाविसमा १८ क्विन्टल धानको बिऊ वितरण गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । बिऊ ल्याउँदा आधा पैसा कृषकले तिर्ने गरी ल्याइएको र सोही बिऊ वितरण गरिएकाले आफ्नो कुनै कमजोरी नभएको तर कृषकको खेतमा धान नफलेको वास्तविकतालाई सहयोग गर्न जिल्ला कृषि विकास कार्यालय तत्पर रहेको कार्यालयका निमित्त कार्यालय प्रमुख दुर्गादत्त पन्थीले बताए ।
बालीरोग विज्ञान महाशाखाको सिफारिसमा अनुसन्धान केन्द्रले नै तयार गरी पठाएको बिऊ भए पनि बीउ वितरणकै समयमा किरा लागेको र बिनाउपचार बिऊ ल्याइएको कृषक टोपकुमारी मल्लले बताए । उनको अन्य खेत नभएको र सबै खेतमा लगाइएको धान सबै नफलेपछि समस्यामा परेको हो ।
धान नफलेर गुनासो आएको भन्ने जानकारीपछि महाशाखाले सो क्षेत्रका धानको परीक्षण गरी ‘नेक ब्लास्ट’ नामक रोग लागेकाले बिऊ लगाउँदा उपचार गर्न, धानको बाला निस्कनुअघि र निस्केपछि विषादी हाल्न र रोगग्रस्त बाला निकालेर फाल्न सुझाव दिएको छ । कृषकले भने धानको बिऊ लगाउँदा भन्नुपर्ने कुरा अहिले सुझाव दिएर कसरी लगाउनू भन्दै क्षतिपूर्तिको माग गरेका छन् ।
खाद्यअधिकार जिल्ला सञ्जाल, इन्सेक, राष्ट्रिय कृषकसमूह महासङ्घ लगायत संस्थाले कृषकलाई क्षतिपूर्ति दिन कृषि विकास कार्यालयमा माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । सो धान सामान्य तवरले फलेमा पनि १ सय ११ मेट्रिक टन उत्पादन हुने कार्यालयले जनाएको छ ।