सुन्तला उत्पादनमा ठुलाे मात्रामा कमी आएपछि म्याग्दीका किसान निराश भएका छन् । फल लाग्ने बेलामा पर्याप्त पानी नपरेका कारण सुन्तला उत्पादनमा कमी आएको कृषकको भनाइ छ ।
बोटमा फल नै कम लागेको र अहिले बोटमा फलेका सुन्तलाका दानासमेत झर्न थालेपछि समस्यामा परेको बेनी नगरपालिका–१३ बास्कुनाका सुन्तला खेती गर्दै आएका कृषक भीम थापाले बताए ।
२२ घरधुरीको बसोबास रहेको बास्कुनामा गत वर्ष सुन्तला निकासीबाट २२ लाख रूपैयाँ भित्रिए पनि यो वर्ष १ तिहाइ कम सुन्तला उत्पादन भएको कृषक थापाको भनाइ छ । बास्कुना सुन्तला उत्पादक कृषक समूहका अध्यक्षसमेत रहेका थापाले अघिल्ला वर्षहरुको तुलनामा सुन्तला उत्पादन घटेपछि कृषक निराश बनेको थापाले बताए ।
‘‘गत वर्ष ८ ट्रक सुन्तला निर्यात गरेका थियौं, यो वर्ष मुस्किलले ३ ट्रक उत्पादन भएको अनुमान छ’’ – थापाले भने । बास्कुनासँगै भकिम्लीको मरेक र राखुमा समेत सुन्तला उत्पादनमा कमी आएको छ । भकिम्लीको राखुमा सडक सञ्जाल पुगेपछि सुन्तलाको मूल्य राम्रो पाए पनि उत्पादनमा भने कमी आएको सुन्तला खेती गर्दै आएका स्थानीय कृषक बेगबहादुर घर्तीले बताए ।
राखुमा पोखराका व्यवसायीले सुन्तला खरिदका लागि कृषकलाई पेस्की दिएर बोटबाटै खरिद गर्ने सुरु गरेका छन् । कुल ५ सय ५६ हेक्टर जमिनमा सुन्तलाखेती भएको म्याग्दीको बेनी नगरपालिका, भकिम्ली, पिप्ले, बिम, बरंजा, ताकम, देवीस्थान, ओखरबोट, दाना, हिस्तान, भुरुङ तातोपानी, पात्लेखेत र घार गाविसमा करिब २ सय व्यावसायिक सुन्तला बगैंचा रहेका छन् ।