बेलौरी नगरपालिका–२ का वन्धुराम चौधरीले वार्षिक ५० क्विन्टल माछा बिक्री गर्दै आएका छन् । २ दशकदेखि माछापालन व्यवसायमा संलग्न चौधरीले सुरुमा १ लाख रूपैयाँ लगानी गरी २ वटा पोखरीमा माछापालन गरेका थिए । हाल उनले ३६ लाख रूपैयाँ लगानी गरेर ७ बिगाहा जग्गामा ७ वटा पोखरी निर्माण गरेका छन् । व्यवसाय विस्तार गरेसँगै आम्दानी बढेको छ ।
“माछापालनमा वार्षिक २० लाख रूपैयाँ खर्च लाग्छ, खर्च कटाएर १० लाख रूपैयाँ आम्दानी हुने गरेको छ,” उनले भने । चौधरीले पोखरीमा सिल्भर, विगेट, कमन, रोहु, नैनी, भ्याकुर, ग्रासलगायत सात प्रजातिका माछापालन गरेका छन् ।
उत्पादित माछा कञ्चनपुर र कैलालीसँगै भारतीय सीमावर्ती क्षेत्रका व्यवसायीले पोखरीबाटै खरिद गरेर लैजाने गरेका छन् । “बिक्री गर्न बजारको समस्या छैन,” उनले भने । उनले माछाका भुरा उत्पादनका लागि ह्याचरी स्थापना गर्ने सोच बनाएका छन् ।
पोखरी रेखदेख गरेबापत स्थानीय ४ जनाले रोजगारी पाएका छन् । उनी माछापालनमा यस वर्षको राष्ट्रपति कृषि पुरस्कारबाट समेत पुरस्कृत भएका छन् ।