सिँचाइमन्त्री दीपक गिरीले दाङको बाघमारे गाविसस्थित बोगटी कुलोको बिहीबार एक समारोहबीच शिलान्यास गरे । बाघमारे गाविसका २ वटा गाउँलाई सिँचाइ सुविधा पुग्ने गरी निर्माण गर्न लागिएको उक्त कुलोबाट १ सय ३ हेक्टर जमिनमा सिँचाइ पुग्ने अनुमान गरिएको छ ।
८५ लाख रूपैयाँको लागतमा उक्त कुलोको निर्माण हुन लागेको हो । सो अवसरमा मन्त्री गिरीले दाङको पश्चिम क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन सकेमा दाङ खाद्यान्नमा आत्मनिर्भर हुनसक्ने बताउँदै सिँचाइ क्षेत्रमा लगानी बढाउन आफूले सक्दो पहल गर्ने धारणा व्यक्त गरे ।
“अब सिँचाइ नपुगेको क्षेत्रमा सिँचाइ पुरियाउन सम्बन्धीत सबै पक्ष लाग्नुपर्छ” उनले भने– नेपाल कृषि प्रधान देश भए पनि सिँचाइको उपयुक्त व्यवस्था नहुँदा वर्षेनी लाखौं बिगहा जग्गा बाँझै रहने गरेकाले यसतर्फ सरकार गम्भीर भएर काम गरिरहेको छ ।
कार्यक्रममा सांसद अनिता देवकोटा, स्थानीय विकास अधिकारी कुलबहादुर जिसी, जल उत्पन्न प्रकोप नियन्त्रण विभागका महानिर्देशक मधुकर राजभण्डारी, सिँचाइ विभागका महानिर्देशक राजेन्द्र अधिकारी, नेपाली काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्का, सचिव शङ्कर डाँगीलगायतले कुला निर्माणपछि त्यस क्षेत्रको कृषि उत्पादनमा सघाउ पुग्ने विश्वास व्यक्त गरे ।