नेपाल कृषि प्रधान देश हो, जहाँ कुल जनसंख्याको दुईतिहाइभन्दा बढी कृषिमा आधारित छ । नेपालमा नयाँ जनवादी क्रान्ति गर्नु भनेको कृषि क्रान्ति गर्नु हो । हाम्रो सन्दर्भमा पूरानो उत्पादन सम्बन्ध बदल्ने र उत्पादन गुणात्मक ढंगले बृद्धि गर्ने प्रश्न जमिनको समस्या हल गर्ने प्रश्नसँग जोडिएको छ । नयाँ जनवादी क्रान्ति भनेको एक प्रकारको पुँजीवादी क्रान्ति हुँदाहुँदै विचार एवं नेतृत्व र लक्ष्यका हिसाबले भिन्नै हो । पुँजीवादी क्रान्तिको नेतृत्व पुँजीपति वर्ग र साम्राज्यवादमा पुग्ने लक्ष्य हुन्छ भने जनवादी क्रान्तिको नेतृत्व सर्वहारा वर्ग र समाजवादमा पुग्ने लक्ष्य हुन्छ ।
जमिनको समस्या दुनियाँकै सर्वाधिक ठूलो समस्या हो, जुन इतिहासको कुनै कालखण्डमा जमिन कुनै समस्या नै थिएन । किनकि जमिन प्रकृतिप्रदत्त र निःशुल्क थियो र हो । कालान्तरमा अहिले आएर जमिन सर्वाधिक ठूलो समस्या बनिरहेको छ । तर, यो सत्य हो कि भविष्यमा गएर यो कुनै समस्या हुने छैन । जब मानव जातिले समाजवादी क्रान्तिको अन्तिम विजय हासिल गर्नेछ अथवा साम्यवादमा पुग्नेछ तब अहिलेको सर्वाधिक ठूलो जमिनको समस्या स्वतः हल भएर जानेछ । समग्रमा नयाँ जनवादी क्रान्तिले विचार नेतृत्व र लक्ष्यको प्रश्न हल गर्नेछ भने क्रान्तिकारी भूमिसुधारले जमिनको समस्या हल गर्नेछ ।
कृषिको विकासले आधार र उद्योगको विकासले उपरीसंरचनाको भूमिका खेल्नेछ । यसलाई देशको विकास र समृद्धिका दुईखुट्टे अवधारणा पनि भनिन्छ । नेपालको सन्दर्भमा कृषि र उद्योगको विकास भनेको उद्योग र कृषिमा महान् क्रान्ति गर्नु नै हो । जनसंख्याको सबैभन्दा ठूलो हिस्सा किसान वर्ग, जो परम्परागत र टुक्रे उत्पादन प्रणालीमा अर्धबेरोजगार भएर बसेको छ । उद्योगधन्दा, कलकारखाना एवं कृषि मजदुरमा जोडिएको छ । यही किसान र मजदुर वर्गको अगुवाई र अन्य सहायक र मित्र वर्गको सहयोगमा एकातिर कृषि क्रान्ति र अर्कोतिर औद्योगिक क्रान्ति अर्थात् समग्रमा नयाँ जनवादी क्रान्ति र अर्कोतिर औद्योगिक क्रान्ति अर्थात् समग्रमा नयाँ जनवादी क्रान्ति सम्पन्न हुन्छ । जमिन जोत्नेको आधारमा अर्थात् सामन्त, जमिनदार र भ्रष्टहरूको जमिन विना मुआब्जा जफत गरेर मात्र क्रान्तिकारी भूमिसुधार लागू गर्न सकिन्छ ।
परम्परागत उत्पादन प्रणालीद्वारा होइन, आधुनिक उत्पादन प्रणालीद्वारा कृषिको आधुनिकीकरण गरिनुपर्छ । पूरानो कृषिमा व्यापक सहकारीकरण गरिनु पर्छ । क्रान्तिकारी भूमिसुधार कृषिको आधुनिकीकरण र कृषिको सहकारीकरण आदि नै कृषि क्रान्तिका आधारहरू हुन् । कुनै पनि क्रान्तिको नेतृत्व सबभन्दा अघि बढेको चेतनाले गर्दछ । अर्थात् समाजवादी चेतना विना समाजवादी क्रान्ति हुँदैन । सोहीस्तरको चेतना र पर्याप्त पुँजी विना औद्योगिक क्रान्ति सम्भव हुँदैन । दलाल पुँजीपति र नोकरशाही पुँजीपतिहरूले लुटेको पुँजी फिर्ता नगरी राष्ट्रिय पुँजी निर्माण गर्न सकिँदैन । यो देशमा रहेको असिमित कच्चा पदार्थको प्रशोधन गरेर अकल्पनीय पुँजी निर्माण गर्न सकिन्छ ।
यो देशको करिव ८० प्रतिशत बेरोजगार जनशक्तिको श्रमलाई वैज्ञानिक ढंगले पुँजीमा रूपान्तरण गर्न सकिन्छ । जहाँबाट पर्याप्त पुँजी निर्माण गर्न सकिन्छ । लुटेको पुँजी फिर्ता, श्रमलाई पुँजीमा रूपान्तरण र कच्चा पदार्थबाट पुँजी निर्माण आदि नै पुँजी प्राप्त गर्ने आधारभूत र निर्णायक स्रोतहरू हुन् । यी स्रोतहरूको वैज्ञानिक परिचालन र उत्कृष्ट चेतनाको उचित तालमेल नै औद्योगिक क्रान्तिको सफलता हो नयाँ जनवादमा पुँजीवाद र समाजवाद दुवैका भ्रुणहरू हुने भएकाले पुँजीवादतिर उतार हुने या समाजवादतिर चढाव हुने सम्भावनाहरू विद्यमान रहिरहन्छन् । वर्गसंघर्षले नै समाजको ज्यान दिने एवं सामान्य नियम पनि भएकाले वर्गसंघर्षको अपरिहार्यता स्पष्ट नै छ ।
वर्गसंघर्षको विकास प्रक्रियासँगै विचार नेतृत्व र संगठनको पनि विकास हुँदै जाने सामान्य नियम नै हो । सही वैज्ञानिक विचार एवं सही र वैज्ञानिक सर्वहारा वर्गीय कम्युनिस्ट पार्टीको नेतृत्वमा मात्रै नयाँ जनवादी क्रान्तिले समाजवादी क्रान्तिमा फड्को मार्न सक्दछ । बुर्जुवा विचार एवं बुर्जुवा नेतृत्व हावी हुँदै गएमा नयाँ जनवाद पुँजीवादमा पतन हुन पुग्छ । विचार र नेतृत्वको सहीपनामा मात्र नयाँ जनवादले सही दिशा समात्न सक्छ अर्थात् समाजवादमा पुग्ने मार्ग सुनिश्चित हुन पुग्दछ । आजको सही विचार नेतृत्व जनवादी आन्दोलन र राष्ट्रवादी आन्दोलनकै भट्टीबाट विकास हुन्छ । जनवादी आन्दोलन र राष्ट्रवादी आन्दोलन नै नेपालको आजको जनवादी क्रान्तिका दुई आधारभूत तत्व हुन् ।
नेपाल कृषि बाहुल्य देश भएकाले क्रान्तिकारी भूमिसुधार नेपाली क्रान्तिको एउटा ज्यादै महत्वपूर्ण आधार हो । नेकपाको स्थापनालगत्तै भीमदत्त पन्तद्वारा अगाडि सारिएको नारा ‘कि त जो हलो, कि त छोड थलो, होइन भने छैन अब भलो’ ले आम नेपाली किसानहरूमा व्यापक जागरण र उद्वेलन पैदा ग¥यो । सामन्तविरोधी देशका विभिन्न ठाउँमा किसान आन्दोलन र खासगरी २०५२ देखिको स्थानीय सत्ता कब्जाको महान् अभियानले सिङ्गो देशलाई तरङ्गित मात्र गरेन २५० वर्षको राजतन्त्रको अन्त्य गरिदियो । जमिन जोत्नेको र सम्पूर्ण सत्ता किसान मजदुरको हातमा भन्ने नारा नै वर्तमानको एक्सनल नारा बन्न पुगेको छ । राज्यसत्ता किसान मजदुरको हातमा भन्ने राजनीतिक नारा र जमिन जोत्नेका नाममा अर्थात् क्रान्तिकारी भूमिसुधार भन्ने आर्थिक नारा नै वर्तमानका सबभन्दा अग्रगामी अभिभारा हुन् ।