उग्रचण्डी नाला गाविस– ४ बुल्ले गाउँका ४० वर्षीय हरि सञ्जेल अहिले आर्थिक रुपमा निकै सवल छन ।
विगत दुई वर्षदेखि करिब तीन रोपनी जग्गामा टनेल राखेर तरकारी उत्पादन गर्न थालेपछि उनले आर्थिक रुपमा सवल छन । टनेल राखेर तरकारीखेती गर्न थालेपछि नसोचेको आम्दानी गर्न सकेको सञ्जेल बताए ।
टनेल खेतीबाट एक वर्षमै एक रोपनी जग्गाबाट १ लाख ५० हजार आम्दानी गरेको उनको भनाइ छ । विगत ५ वर्षदेखि १३ वटा टनेल राखेर सञ्जेलले बेमौसमी तरकारी उत्पादन गर्दैआएका छन । टनेलभित्र उत्पादन गर्दा बेमौसमी तरकारी खेतीबाट किसानले मौसमी खेतीभन्दा दोब्बर उत्पादन लिनसक्छन् । “तरकारीको आम्दानीले ५ जनाको परिवार धान्न सजिलोे भएको छ,” उनले भने ।
सञ्जेल जस्तै अन्य स्थानीयवासी पनि अहिले टनेल खेतीप्रति निकै आकर्षित भएका छन् । सुरुमा आफूले ६ वटा टनेलमा तरकारी उत्पादन गर्दै आएकोमा त्यसबाट मनग्य आम्दानी भएपछि थप ७ वटा टनेल राखेको अर्का किसान नवराज सञ्जेलले बताए । केही वर्ष रोजगारका लागि मलेसिया गएका उनी स्वदेश फर्किएपछि पर्याप्त आम्दानी हुने देखेर तरकारी खेतीतर्फ आकर्षित भएका छन । खुल्ला ठाउँमा तरकारीखेती गर्दा चाँडै बिग्रने थाहा पाएर उनले टनेल बनाएर तरकारीखेती गर्न लागेका हुन ।
“विदेशको भन्दा तरकारी खेतीबाट मनग्य आम्दानी गर्न सफल भएको छु,” उनले भने। टनेलमा तरकारीखेती गर्दा खुल्ला ठाउँमा भन्दा कम खर्च हुने गरेको उनले बताए । नेपालबाट बर्सेनि लाखौं युवा विदेश पलायन हुने गरेका छन् । कतिपयले त अकालमै ज्यान समेत गुमाउने गरेका छन् । स्वदेशमै बसेर मेहनत गरेर पढाइ र खेती गरे पर्याप्त आम्दानी गन सकिने स्थानीयवासी २३ वर्षीय साजन श्रेष्ठ बताए । स्नातकोत्तर तहमा अध्यनरत श्रेष्ठले विगत ५ वर्षदेखि पढाइ र टनेलखेती दुवैलाई निरन्तरता दिँदै आएका छन । “स्वदेशमै मेहनत गरे आम्दानी गर्न सक्ने थुपै्र सम्भावना छन्,” श्रेष्ठले भने । परिवारसँगै रहेर काम गर्दा हौसला समेत मिलेको उनको भनाइ छ ।
जिल्ला कृषि विकास कार्यालयमा बर्सेनि ५ हजारभन्दा बढी किसानले टनेल खेतीका लागि निवेदन दिने गरेका छन् । “वर्षमा ५०० जनालाई मात्र टनेलका लागि रकम उपलब्ध गराउने गरेका छौँ,” बाली विकास अधिकृत थर्क जिसीले भने । टनेलमा तरकारीखेती गर्दा तरकारीको सुरक्षा र उत्पादन बढी गर्न सकिने उनले बताए । जिल्लामा करिब १ हजार किसानले टनेल बनाएर तरकारीखेती गर्दै आएका छन् । टनेलमा गोडभेँंडा, काउली, लसुन, बन्दागोभी, बोडी, काँक्रोलगायत तरकारी उत्पादन गर्न सकिन्छ । टनेल निर्माणका लागि जिल्ला कृषि विकास कार्यालयले किसानलाई ५० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको छ ।