आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसिपअन्तर्गत नेपाल र केन्याबीचको दोस्रो खेलमा नेपालले १ सय ५६ रनको लक्ष्य पाएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको केन्याले ४६ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५५ रन बनायो । केन्यालाई सामान्य स्कोरमा समेट्ने क्रममा नेपालका शरद भेष्वाकरले महत्वपूर्ण ४ विकेट लिए । उनले ७ दशमलव १ ओभर बलिङ गर्दै २८ रन खर्चे ।
यस्तै मेहेबुब आलम र वसन्त रेग्मीले २÷ २ विकेट लिए । आलमले साेमबार निकै कसिलो बलिङ गरे । उनले ७ ओभर बलिङ गर्दै ५ मेडन राखेर ११ रनमात्र खर्चेर २ विकेट लिए । यस्तै सोमपाल कामीले ५ ओभर बलिङ गर्दै एक मेडन राखी २४ रन खर्चे । यस्तै सागर पुन र सन्दीप लामिछानेले १÷१ विकेट लिए । केन्याका लागि कोलिन्स ओबुयाले ७८ बल खेल्दै सात चौकाको मद्दतमा सर्वाधिक ४८ रन बनाए । यस्तै इरफान करिमले ३८ रन बनाए । उनले ७७ बल खेल्ने क्रममा ३ चौका प्रहार गरे । केन्याका आरआर पटेलले २१, एनएन ओढियम्बोले १५ तथा करन कौलले १४ बनाए ।
शनिबार पहिलो खेलमा नेपालले टस हारेको थियो र प्रारम्भमा ब्याटिङ गर्न पुगेको थियो । उक्त खेल पटक पटक वर्षाका कारण अवरुद्ध भएको थियो । मौसमले साथ दिएको छ । विश्वकप क्रिकेटको छनोटमा पर्ने सम्भावनालाई जीवितै राख्न नेपालले साेमबारको खेल जित्नैपर्ने बाध्यता छ । ९ खेलको समाप्तिसँगै नेपाल ६ अङ्कका साथ छैटाैँ स्थानमा छ भने समान खेलबाट केन्याको १० अङ्कका साथ पाँचौँ स्थानमा रहेको छ ।