कालिकोटमा सङ्घर्ष नझेलेको घर, बलिदान नगरेको गाउँ, सहिद नसुतेको पाखा, रगत नटासिएको पहाड भेट्टाउन असम्भव छ । कालिकोटले जनयुद्धमा गरेको योगदान र बलिदान विशिष्ट छन् । निःशस्त्र महिला र किसानले हतियार खोसेको मालकोट कारबाही मात्रै होइन, अत्यन्त थोरै हतियारले सान्नीघाट र पाद्मघाट चौकी कब्जाको सन्दर्भ ऐतिहासिक छन् ।
नेपाली राजनीतिमा कथित स्थानीय निर्वाचनमा केही गम्भीर नकारात्मक विरासतका साथै, महान् बलिदानको शृङ्खला थपिएका छन् । दाहाल र देउवाको अप्राकृतिक गठबन्धनको जगमा प्रचण्डपुत्री रेणु दाहालले ‘नेपाली कांग्रेसको निर्वाचनचिन्ह रुखमा परेको सबै भोट मेरो पक्षमा गणना हुनुपर्दछ’ भनेर गरेको रोदन र रडाकोले जग हँसाएको छ । रेणुले जनपक्षीय राजनीतिको त कुरै छोडौँ, मरणासन्न बुर्जुवा संसदीय पद्धतिको पनि खिल्ली उडाएकी छिन् ।
नेपालमा क्रान्तिलाई अलपत्र पारिएको छ । राज्यसत्तामा सामन्त–दलालहरू नै छन् । राज्यसत्ता बदल्ने क्रान्तिको नेतृत्व गरेका मानिस शान्तिप्रक्रियाको नाममा दलालीकरणको अपूर्व नमुना बन्न पुगेका छन् । तिनले जनतालाई दुश्मन देख्न थालेका छन् । क्रान्तिलाई आतङ्क देख्न थालेका छन् । क्रान्तिकारीलाई आतङ्ककारी देख्न थालेका छन् । कालिकोटको मालकोटमा प्रचण्ड सरकारद्वारा फासीवादी दमन गरेर कैयौंलाई घाइते बनाउनुका साथै धनरूप बटालाको हत्या गरिसकेपछि केही मानिस प्रश्नरूपी खुँडा बोकेर उपद्रो मच्चाइरहेका छन् । यसको कुनै अर्थ छैन ।
नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा कथित स्थानीय निर्वाचन खारेजी अभियान भव्य, महान् र ऐतिहासिक रूपमा सफल भएको छ । संसदीय दलहरू र सरकार नियन्त्रित तथा दलाल पुँजीद्वारा डामिएका सञ्चार माध्यमले जनताका विरुद्ध जति प्रचार गरे पनि यो निर्वाचनमा जनताको सहभागिता, उत्साह र चासो निकै न्यून रह्यो । नेपाल कम्युनिस्ट पार्टीको सिङ्गो पार्टी–पङ्क्तिले निर्वाचन खारेज अभियानमा देखाएको सक्रियता र व्यापकताले दलाल सत्ताधारीको सातोपुत्लो उड्यो । दलाल सत्ताका मतियार पार्टी नेता र कार्यकर्ताविरुद्ध तानाशाही तरिकाले दमनमा उत्रियो । उनीहरूले सञ्चारकर्मी, अधिकारकर्मी, महिला र नाबालकलाई समेत छोडेनन् । सयौँलाई पक्राउ पुर्जी जारी गरियो, झुट्ठा मुद्दामा फसाउने षड्यन्त्र गरियो । चौबीसैघन्टा सबैतिर छापा मारियो । जनताका विरुद्ध सबैतिर श्वेतआतङ्क मच्चाइयो । बन्दुकमुनि थोपरिएको कथित स्थानीय निर्वाचनका विरुद्ध कडा प्रतिरोध गर्दै जनताको अपार समर्थनका साथ देशलाई स्वाधीन र जनतालाई दलाल–सत्ताको जुवाबाट मुक्त गराउने युगीन दायित्व पूरा गर्न नेपाल कम्युनिस्ट पार्टी दत्तचित्त भएर लागिरह्यो । यसले एकीकृत जनक्रान्तिको उच्चतालाई नै प्रमाणित गरेको छ ।
देशभर प्रतिरोध सङ्घर्षकै तीव्रतामा वैशाख ३१ गते कालिकोट–मालकोटमा जनताले निर्वाचन खारेज गरेपछि प्रचण्ड सरकार फासिस्ट रूपमा जनताविरुद्ध उत्रियो । दमनका विरुद्ध जनताले कडा प्रतिरोध गरे । सोक्रममा मालकोटका युवा तथा राप्रपाका उम्मेदवार धनरूप बटलाको दुःखद् निधन भएको छ । दलाल संसदीय व्यवस्थाविरुद्ध पार्टीको नेतृत्वमा जनताले गरेको यो उच्चस्तरको प्रतिरोध र विद्रोहले नेपालमा नेपाली जनताको क्रान्तिप्राप्ति उत्कट चाहको प्रतिबिम्बन गर्दछ भने प्रचण्डको नेतृत्वको सरकारले श्रमिक जनतामाथि फासीवादी दमन गर्नुले राज्यको फासीवादी चरित्रलाई झन् उदाङ्गो पारेको छ । कुनै बेला प्रचण्ड आफैँ जनयुद्धको नेतृत्वकर्ता भएर पनि अहिले उनैद्वारा अपूर्व बलिदानका गाथा कोरेको मालकोटे–जनतामाथि आपराधिक शैलीमा दमन गर्नु प्रचण्डको वर्ग–पक्षधरता, राजनीतिक तथा वैचारिक टाटपल्टाइ हो ।
मालकोटलगायतका स्थानमा भएका जनताको यो प्रतिरोध र विद्रोह आम श्रमिक जनताको मुक्तिको महान् मार्ग हो भन्ने कुरामा कुनै दुविधा हुनुहुँदैन । जनयुद्धका प्रस्ताव र बलिदानलाई अपमान गर्ने, प्रतिक्रान्ति लाद्ने दलाल संसदीय व्यवस्थाको विरुद्ध यो प्रतिरोध र विद्रोहको बाटो सबै श्रमिक नेपाली जनताले अनुसरण गर्नलायक बनेको छ । बलिदानको कोटा चुक्ता गर्नुअघि धनरूप बटाला जुन पार्टीसित आबद्ध भए पनि उहाँले जनताको प्रतिरोधी महान् प्रक्रियामा सामेल भएर बलिदानको कोटा चुक्ता गरिसक्नुभएको छ । जनताको थोपा–थोपा अमूल्य रगतले नेपालीक्रान्तिलाई थप उचाइमा उठाउन सघाएको छ, क्रान्तिकारी जनतामा आत्मविश्वास बढाएको छ । यसले दलाल संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापनालाई अपरिहार्य र अवश्यम्भावी बनाएको छ ।
आज संसारभर संसदीय व्यवस्था असफल भइसकेको छ । नेपालमा पनि कथित संसदीय व्यवस्थाप्रतिको जनवितृष्णा क्रमशः मुखरित हुँदै गएका छन् । कथित निर्वाचन खारेजी अभियानमा कालिकोटको ऐतिहासिक भूमि मालकोटका क्रान्तिकारी जनसमुदायले फेरि एकपटक आफ्नो क्रान्तिकारी विरासत कायम गर्दै संसदीय दलाल सत्ताका विरुद्ध डटेर प्रतिरोध गरेका छन् । यसले ‘खै तिमीहरूले के पो गर्यौ र !’ भनेर ओठ लेप्र्याउनेहरूलाई गतिलो झापड दिएको छ । जनताले दलाली मिडियालाई प्रयोग गरेर जनतामा भ्रम सिर्जना गर्न खोजे पनि जनताले तिनका कायरता र षड्यन्त्रलाई चकनाचुर बनाइदिएका छन्; तिनको सत्तालाई संसदीय सिनो सावित गरिदिएका छन् ।
एकातिर जनताले प्रतिरोध र बलिदानको शृङ्खलालाई उच्च बनाइरहेका छन् भने अर्कोतिर चितवनको भरतपुर महानगरपालिकामा मेयर पदमा उठेकी प्रचण्डपुत्री रेणु दाहालले गरेको बबालका कारण मतगणनामा ढिलाइ भएपछि उनीहरूकै बीचमा मारामारको स्थिति उत्पन्न भएको छ । भरतपुरमा रेणु दाहाललाई जिताउन प्रचण्डले कांग्रेससँग अप्राकृतिक तालमेल गरेका थिए । निर्वाचन कार्यालय चितवनका अनुसार रेणुले मेयरका लागि रुखमा परेको मत आफ्नो पक्षमा गणना हुनुपर्ने अडान राखेपछि सो समाचार देशभर फैलियो । उनको वैचारिक स्खलन देखेर सबैले जिब्रो काढे । माओवादी केन्द्रसँग तालमेल गरेपछि चितवन कांग्रेस असन्तुष्ट थियो । यो प्रकरणले माओवादी केन्द्र, सो पार्टीका अध्यक्ष प्रचण्ड र तिनका नेता–कार्यकर्ताको वैचारिक, राजनीतिक तथा नैतिक सङ्कटलाई नै उजागर गरिदिएको छ ।
हामीलाई थाहा छ, बलिदान क्रान्तिको ऊर्जा हो । सर्वहाराक्रान्ति सर्वोत्कृष्ट क्रान्ति हो । यो क्रान्तिमा हुने बलिदान सर्र्वोत्कृष्ट र महान् हुन्छ । महान् सहिदहरू राष्ट्रका सर्वोत्तम छोराछोरी हुन् । सहिदको मृत्यु सगरमाथाजस्तै उच्च, ग¥हुङ्गो, अटल र अमर हुन्छ । यही ऐतिहासिक तथ्यलाई मालकोटले पुनः उजागर गरेको छ । सबैभन्दा पिछडिएको कर्णालीमा जनयुद्धको एउटा केन्द्रको रूपमा स्थापित कालिकोटबाट जुन बलिदान भयो; त्यसले कर्णालीको मात्र होइन, सिङ्गै नेपालको इतिहासमा विशिष्ट स्थान राख्दछ । कथित स्थानीय निर्वाचन खारेजी अभियानका क्रममा दैलेख, मुगु र मकवानपुरलगायत देशैभर भएका प्रतिरोधी सङ्घर्षले नेपालीक्रान्तिलाई झनै सन्निकट ल्याइदिएको छ ।
निश्चय पनि बलिदानले क्रान्तिकारी परिर्वतनलाई प्रेरित गर्दछ । सहिदहरू क्रान्तिकारी रूपान्तरणका मार्गदर्शक हुन् । जब क्रान्ति प्रतिक्रान्तिमा बदलिन्छ, जब नायक खलनायकमा परिणत हुन्छ, तब सहिदको बलिदानमाथि जबर्जस्त प्रश्नचिन्ह लगाइन्छ । हामीले महान् सहिदहरूका बलिदानको मूल्यमाथि प्रश्नचिह्न खडा गर्नेका विरुद्ध धावा बोल्दै तिनका दाह्रा–नङ्ग्रा भाँचभुच पारिदिनुपर्दछ । नकरात्मकताको न्यूनीकरण र सकारात्मकताको पुँजीकरणले जनताको परिवर्तनको आकाङ्क्षालाई साकार पार्न सकिन्छ । कथित स्थानीय निर्वाचन खारेजी अभियान सांस्कृतिक क्रान्ति पनि हो ।
यसर्थ, कथित स्थानीय निर्वाचन खारेजी अभियानका क्रममा देश्व्यापीरूपमा प्रस्तुत भएका कौशल, साहस, शौर्य र बलिदानको मूल्यलाई पुँजीकृत गर्दै नेपालीक्रान्तिलाई माथि उठाऔँ । दलाल संसदीय व्यवस्थाको अन्त अपरिहार्य छ, एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना अवश्यम्भावी छ । जनताद्वारा प्रदर्शित सशक्त प्रतिरोध, बलिदानी भावना र रेणु दाहालको रोदनको अन्तर्वस्तु पनि यही हो ।