‘ल हुन्छ, आँगनमा बाटिका बनाऔं र त्यसको बीचमा जनयुद्धको प्रतिमा बनाऔं’– मैले जवाफ दिएँ । सहिद स्मृति हलमा सबै सहिदहरुको फोटोसहितको विवरण राखौं र अर्को पाटो, अफिस साइडमा जनयुद्धको खोज–अनुसन्धान गर्ने अफिस खडा गरौं भन्ने पनि हामीबीच सहमति बन्यो ।
वास्तवमै देशमा कहिं यस्तो छैन, यसको खाँचो छ भन्ने कुरा राजनबाट आउँदा म सहमत नहुने कुरै थिएन । माओवादी आन्दोलन अर्थात् महान् जनयुद्धमा देशमा सबैभन्दा ठूलो बलिदान भयो । यसको सम्मानमा हामीले सकेको योगदान दिनुपर्ने कुरा एकदम सही हुन्छ ।
किनबेचमा विवाद हुन्छ, बलिदानलाई बेचेर खाए भन्ने हल्ला गर्न पाउँछन् एक खालका मानिसहरुले । जग्गाको वैधानिक स्वामित्व जोसँग भए पनि त्यो जनयुद्ध र त्यतिबेलाको बलिदानको मूल्य हो । व्यक्तिगत वा अहिलेका पार्टीगत स्वामित्वमा त्यसलाई लानु आवश्यक छैन, स्वतः विवादको अनावश्यक झमेला हुन जान्छ । ३ पार्टीका ३ जना भयौं, न भागबन्डा मिल्छ न जनयुद्धको सम्मान र त्यो बेलाको बलिदानलाई सम्मान गर्ने बाहेकका अरु काममा त्यो लगाउन मिल्छ ।
वसन्तजीले त तपाईंले भनेको मान्ने कुरा होला तर दीर्घराज दाइले त यो कुरा नमान्नुहोला, के गर्ने नि ? मेरो प्रश्नको जवाफमा यो कुरा मिलाउँला, बेच्ने हैन, हामी सबैको माओवादी आन्दोलन र बलिदान हो नि त ! उनले नमान्ने नैतिक आधार पनि त हुनु पर्यो नि !
राजनले यसो भन्दै गर्दा म एक मधेसी युवाको कपाल काटिरहेको थिएँ । आफ्नो दाह्री समेत आफैं नकाट्ने गरेको बताउने उनले मेरो कार्यबाट आफू छक्क परेको भाव प्रकट गरे । नजिकैको सहकारीको साधारणसभा सकेर आएका उनी सदरमुकामको त्यही जग्गाको कुरा गर्न आएका थिए होलान् शायद ।
त्यति कुरा गरेपछि फर्किन खोजे । त्यही क्रममा मैले किरणजी र विप्लवको पार्टीको पनि सहमति चाहिने कुरा राखें । मैले यो कुरा ती पार्टीहरुलाई पनि सोध्नुपर्छ र बेला–बेला राख्ने गरेको पनि छु भनें ।
माओवादी आन्दोलन ‘अन्त्य’ गरी ‘शान्ति प्रक्रिया’ अघि बढेको ३ वर्षपछि तत्कालीन माओवादी पार्टीले अफिस स्थापना गर्नका लागि सिन्धुलीको सदरमुकामस्थित मधुटारमा करिव १ कट्ठा जमिन किन्यो । यो जग्गा किन्ने बेला खासमा पार्टीको कुनै पूर्वयोजना बनेको थिएन ।
पार्टीले निर्णायक संघर्ष गरेर जनविद्रोहलाई सफलतामा टुंग्याउन ‘काठमाडौं जाऔं’ कार्यक्रम ल्याएको थियो । हामी सबै नेता–कार्यकर्ता त्यसमा जुट्यौं । कहीं–कतै, कसैको व्यक्तिगत आग्रह–पूर्वाग्रह देखिएन । विशेष टोली नै बनाएर खर्च जुटाउने कार्य भयो । हजारौंलाई ७ दिनसम्म काठमाडौंमा राख्ने कार्य चानचुनको थिएन ।
तर, परिणाम चाहिँ उही जनयुद्धको जस्तो भयो । नेतृत्वले सबै टोलीलाई फिर्ता बोलायो । फर्किएपछि आर्थिक समितिको बैठक बस्यो, हिसाब पारदर्शी नै थियो– १४ लाख रूपैयाँ बचेको हिसाब आयो । त्यो रकम के गर्ने भन्ने छलफलका क्रममा पार्टी कार्यालय स्थापना गर्ने निर्णय भएअनुसार जग्गाको खोजी भयो र उक्त जग्गा किन्ने निर्णय भयो । अरु पैसा कसरी जुटाउने भन्नेबारे पनि छलफल भयो । पहिले आश्वाशन पाएका रकम उठाउने र निमाजीको खाताबाट ऋणस्वरुप उहाँको पैसा लिने कुरा आयो । त्यसरी २० लाख ५० हजार दिएर १ पाई घटी १ कठ्ठा जग्गा किनियो ।
दीर्घराज दाइसँग यसबारेमा पहिले पनि कुरा भएको थियो । अब त्यो केही काम नलाग्ने भयो भन्नेमा उहाँको पनि चिन्ता थियो । अब के गर्ने हो भन्ने कुरा हामीले राखेर मात्र हुने विषय होइन ।
पार्टीहरु सग्लै छन्– अहिले ४ वटा समूहमा । २ वटा पार्टी त अहिले माओवादी आन्दोलनबाट बाहिरिईसके । २ वटा चाहिँ ‘नयाँ जनवाद’ तथा ‘समाजवाद’ को लक्ष्य राखेर क्रियाशील नै छन् । ती पनि माओवादी आन्दोलनलाई पुनर्गठन गर्न जनयुद्धको बाटोमा लाग्नुभन्दा अर्कै बाटो तय गर्ने बताइरहेका छन् । जनक्रान्तिकै लक्ष्य बोकेर हिँड्नेहरु ढिलो–चाँडो, एक दिन एउटै बाटोमा हिँड्न बाध्य हुनेछन् । माओवादी आन्दोलनलाई पुनर्गठन गर्न आइपुग्नेछन् र जनयुद्धको महान् यात्रामै लाग्नेछन् । अरु केही समूहहरु पनि त्यही प्रतीक्षा गरिरहेका छन् ।
नेपालको जनक्रान्तिले एक दिन सही दिशा लिनेछ भन्नेमा हाम्रो समूह पनि विश्वस्त छ । हामी दृढताका साथ अघि बढिरहने छौं । हामीले अहिले अघि बढाइरहेको सहिद स्मृति हल बनाउने र जनयुद्धको प्रतिमा बनाउने कुराले हाम्रो यात्रामा ऊर्जा नै दिनेछ भन्नेमा हामी विश्वस्त छौं, हेर्दै जाऔं !
थप कुरा के भएको छ भने भौतिक संरचना र प्रतिमाको ‘स्केच’ बनाएर हेरौं, देखाऔं र त्यसका लागि आर्थिक पहलका निम्ति विशेष व्यवस्था मिलाऔं । साना संरचना बनाएर त्यत्तिकै जग्गा छोड्ने वा अर्को कुनै निकायमा सारीहाल्ने कुराले राम्रो गर्दैन । पार्टीहरु विशेषको एउटा स्थायी संयन्त्र बनाएर व्यवस्थित गर्दा राम्रो हुन्छ । यसैमा विगतमा भएको बलिदान र वीर–वीराङ्गनाहरुको सम्मान हुन्छ, इतिहासप्रति न्याय हुन्छ र देश तथा जनताको भविष्यका लागि सही मार्गनिर्देशको आधार बन्छ । अब यतिखेर त्यतिबेलाको पार्टीभित्रका तीतामिठा कुराको प्रभावबाट यो विषयलाई प्रभावित नपारौं ।