
माधव नेपालः बैठक कहिले बस्छ ? कार्यक्रम मिलाउनुपर्ने हुन्छ…
प्रचण्डः फेरि विदेश जाँदै हुनुहुन्छ कि क्या हो ?
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को चियापानकै क्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच राजनीतिक ठट्टा चल्यो । आगन्तुकहरुलाई स्वागत गर्नमै व्यस्त रहेका प्रचण्ड र नेपालले केहीबेर पार्टीको केन्द्रीय सचिवालय र स्थायी समिति बैठकबारे छलफल गरे । छलफलकै क्रममा ठट्टा चल्यो ।
‘सचिवालय र स्थायी समितिको बैठक तत्काल बस्छ कि बस्दैन, के भइरहेको छ ? नत्र मैले पूर्वनिर्धारित कार्यक्रमहरूको सेड्युल हेरेर मिलाउनुपर्ने हुन्छ’– प्रचण्डसँग माधव नेपालले जिज्ञासा राखे ।
प्रचण्डले ठट्टा गर्दै व्यंग्यात्मक जवाफ फर्काए– ‘होइन, तपाईं फेरि विदेश जाँदै हुनुहुन्छ कि क्या हो ?’ प्रचण्डको ठट्टालाई सहज रुपमा लिँदै नेपालले फेरि भने– ‘विदेश नै जानुपर्छ भन्ने छैन, स्वदेशमै पनि थुप्रै कार्यक्रम हुन्छन् । सेड्युल मिलाउन सजिलोका लागि सोधेको हुँ ।’
१२ र १३ कात्तिकका लागि तोकिएको स्थायी समितिको बैठक नबस्ने भए बाराको निजगढस्थित अन्तर्राष्ट्रिय विमानस्थलको ‘फिल्ड भिजिट’ मा जाने आफ्नो योजना रहेको नेपालले प्रचण्डलाई सुनाए । जवाफमा अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था अनुसार बैठकबारे निश्चित हुन सक्ने जवाफ फिर्काए ।
यसअघि नेता नेपाल विदेश भ्रमणमा रहेका बेला (५ असोजमा) पार्टीको केन्द्रीय सचिवालय बैठकले गरेको प्रदेश कमिटीहरुको नेतृत्व चयनसम्बन्धी निर्णयमा विवाद भएको छ । नेपालले उक्त निर्णयमा फरक मत राख्दै आएका छन् । त्यसैतर्फ इंगित गर्दै प्रचण्डले ठट्टापूर्वक ‘फेरि विदेश जाँदै हुनुहुन्छ कि क्या हो’ भनेर व्यंग्यात्मक प्रश्न गरेको खबर आइतबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।