newskoseli.Com

सुरु भयो ‘राष्ट्रिय परिचयपत्र’ को छपाइ

राष्ट्रिय परिचयपत्र वितरणका लागि सरकारले छपाइकार्य सुरु गरेको छ । बिहीबार गृहसचिव प्रेम राईले सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र प्रशोधन केन्द्रमा छपाइको सुरुआत गरेको जानकारी राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका सूचना अधिकारी शिवराज जोशीले दिएका छन् ।

पहिलो चरणमा सचिव राईले बटन थिचेर ५० वटा परिचयपत्र छापे । पाँचथर र सिंहदरबारका कर्मचारीलाई पहिलो चरणमा परिचयपत्र वितरण गर्नका लागि केन्द्रले छपाइको सुरुआत गरेको हो । पहिलो चरणमा वैयक्तिक र जैविक विवरण सङ्कलन गरिएका पाँचथरका २० हजार र सिंहदरबारका १ हजार कर्मचारीको परिचयपत्र छाप्ने जानकारी सूचना अधिकारी जोशीले दिएका छन् ।

पहिलो चरणमा पाँचथरका १ लाख १० हजार नागरिक र सिंहदरबारका सरकारी कार्यालयका ७ हजार कर्मचारीलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने योजना रहेको केन्द्रले जनएको छ । अहिले सबैको व्यक्तिगत र जैविक विवरण सङ्कलन नसकिएकाले २१ हजारको मात्र पहिलो चरणमा र अरुको पछि छापिने उनले बताए ।

सबै परिचयपत्र छापेर कात्तिकको मसान्तदेखि पाँचथरमा परिचयपत्र वितरण समेत गरिने छ । प्राविधिक परीक्षण सकेर कम्पनीले यन्त्र–उपलब्ध गराएपछि परिचयपत्रको छपाइ सुरू गरिएको केन्द्रका कम्प्युटर इञ्जिनियर ज्ञानेश्वर बोहराले बताए ।

उनका अनुसार परिचयपत्रमा व्यक्तिको वैयक्तिक र जैविक विवरण हुनेछ । वैयक्तिक विवरणमा नाम, ठेगाना, बुबा–आमा र बाजेको नाम, जन्ममिति, धर्म, जात, पेशा र शैक्षिक योग्यता रहनेछ भने जैविक विवरणमा फोटो, औंठाछाप र हस्ताक्षर हुनेछ ।

अमेरिकामा बनेको अत्याधुनिक यन्त्र ‘डाटा कार्ड कम्पनी’ बाट केन्द्रले प्रतिघन्टा ५ सय वटाका दरले परिचयपत्र छाप्ने जानकारी इञ्जिनियर बोहराले दिए । उक्त यन्त्र ‘आइडिमिया आइडेन्टिटी एन्ड सेक्युरिटी’ कम्पनीले अन्तर्राष्ट्रिय बोलपत्रका आधारमा ठेक्कामार्फत करिव ४ करोड रूपैयाँमा उपलब्ध गराएको हो ।

उनका अनुसार लेजर प्रविधिबाट कार्बन (पोली कार्बोनेट) लाई जलाएर परिचयपत्र छाप्ने गरिन्छ । उक्त प्रविधिलाई कसैले पनि चोर्न नसक्ने उनको भनाइ छ । परिचयपत्रमा व्यक्तिको सबै विवरण एउटा कार्ड र यन्त्रले पढ्न सक्ने ‘विद्युतीय चिप्स’ रहेको हुन्छ । यन्त्रमा कार्ड हालेपछि विद्युतीय चिप्समा व्यक्तिको विवरण लेखिन्छ । त्यसपछि लेजरले उक्त विवरणलाई कार्बनमा जलाएर लेखेपछि यन्त्रबाट परिचयपत्र बाहिर निस्कने जानकारी कम्प्युटर इञ्जिनियर बोहराले दिएको राससले जनाएको छ ।

विद्युतीय चिप्सलाई सरकारको आधिकारिक निकायले मात्र पढ्न सक्नेछ । छापेर आएका परिचयपत्र बिग्रेका भए यन्त्रले नै अलग्लै राख्ने गर्छ । परिचयपत्र छापिएपछि गुणस्तर परीक्षण गरेर मात्र केन्द्रले वितरण गर्छ ।

सरकारले नागरिकताको सट्टा व्यक्तिको सम्पूर्ण व्यक्तिगत विवरण समावेश गरिएको राष्ट्रिय परिचयपत्र ल्याउन थालेको हो । सरकारले २०६७ मा केन्द्र स्थापना गरे पनि २०७३ देखि मात्र परिचयपत्रको काम सुरु भएको हो । यसै वर्ष थप १५ जिल्लामा पनि परिचयपत्र वितरण गर्ने योजना रहेको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर