नेपालमा पहिलो पटक ४५ मुलुकका राष्ट्राध्यक्ष–सरकार प्रमुखहरूसहित १ हजार ५ सय जना सहभागी एशिया प्यासफिक समिट चलिरहेका बेला केही सञ्चार माध्यम कुत्सित मनसाय राखेर सम्मेलनलाई बदनाम गराउन हात धोएर लागेको पाइएको छ ।
सरकारको एक पैसा खर्च नगरी यति ठूलो संख्यामा सहभागी ल्याएर नेपालमा शिखर सम्मेलन गराउनु आफैंमा निकै चुनौतीपूर्ण कार्य हो । यस्तो अवस्थामा युनिभर्सल पिस फेडरेसनले साहसिक कार्य गरेर सबैतिरबाट स्याबासी पाउनुपर्ने हो । त्यसको बदला यूपीएफले नगरेका कार्यहरुलाई समेत उछालेर केही सञ्चार माध्यमले सम्मेलनको रापमा रोटी सेक्ने काम गरेका छन् ।
शिखर सम्मेलनमा सहभागी हुन विश्वका ७ मुलुकका सरकार तथा राष्ट्रप्रमुख नेपाल आएका छन् । ५ जना प्रथम महिला, १० जना पूर्व राष्ट–सरकार प्रमुखहरू, १ जना वर्तमान उपप्रधानमन्त्री, ७ जना मन्त्री, ५ जना संसदका सभामुखहरू तथा उपसभामुखहरू सम्मेलनमा सहभागी हुन आएका छन् । कम्बोडियाका प्रधानमन्त्री र म्यानमारकी स्टेट काउन्सिलर नेतृ आङ सान सूची आफ्नै विमान लिएर आएका छन् । कम्बोडियाको टोलीसँग त द्विपक्षीय छलफलपछि नयाँ समझदारी समेत भएको छ । अन्य मुलुकसँग पनि नेपालका द्विपक्षीय वार्ता भइरहेका छन् । एउटा संस्थाले आफ्नै खर्चमा विश्वका नेताहरुलाई भेला पारिदिएको छ । यस्तो बेला सम्मेलनमा सहभागिता जनाउन आउने विभिन्न मुलुकका प्रतिनिधिमण्डलबाट कसरी फाइदा लिने भन्ने सुझाव नेपाली मिडियाले दिनुपर्ने हो ।
नेपाल सरकारको ‘समृद्ध नेपालः सुखि नेपाली’ को दूरदृष्टिलाई सहयोग गर्नुमा शिखर सम्मेलनको मुख्य जोड रहने आयोजक यूपीएफले बताएको छ । शिखर सम्मेलनका बेला हुने द्विपक्षीय तथा बहुपक्षीय भेटघाटबाट नेपालले पारस्परिक लाभ लिन सक्नुपर्ने हो । यसरी हुने वार्ता र छलफल नेपालका निम्ति नयाँ कूटनीतिक अवसर र सम्भावनाहरूको अन्वेषण गर्न केन्द्रित हुन सक्ने छन् । सम्मेलनमा सहभागी हुन आउने राज्य र सरकार प्रमुखको प्रतिनिधिमण्डलमा विदेशी लगानीकर्ता तथा उद्यमीहरू समेत समावेश छन् । तिनीहरूले आपसी लाभप्रद व्यापारिक अवसरहरूको खोजी गर्न सक्छन् । त्यसरी अन्वेषण गर्न नेपाली मिडियाले सहजीकरण गर्नुपर्ने हो ।
विभिन्न ४५ मुलुकका १ हजार ५ सय प्रतिनिधि एकै पटक नेपालमा भेला हुनु चानचुने कुरा होइन । उनीहरुले स्वदेश फर्केपछि नेपालका बारेमा आफ्नो मुलुकमा गर्ने सकारात्मक प्रबद्र्धनले नेपालको पर्यटन प्रवर्द्धनमा ठूलो प्रभाव पार्ने कुरा छर्लङ्गै छ । त्यस्तो अवसर नेपालले आफ्नै खर्च गरेर जुटाउनु असम्भवप्रायः हुन्छ । त्यस्तो अवसरलाई कसरी आफ्नो पक्षमा पार्ने भनेर नेपाली मिडियाले भूमिका निर्वाह गर्नुपर्ने हो ।
युनिभर्सल पिस फेडरेसनमा क्रिस्चियनहरु होलान् । केही मिडियाले समेत यसका प्रमुखले हिन्दू संस्कारअनुसार आमाको अन्तिम संस्कार गरेको, जनै लगाउने गरेको, विभिन्न हिन्दू चाडबाड मनाउने गरेको भनेर स्वीकारेका छन् । तिनै सञ्चार माध्यमले यूपीएफमा धर्मान्तरण अनिवार्य नभएको स्वीकारेका छन् । संस्थामा धर्म परिवर्तन अनिवार्य नभएको, संस्थाको अध्यक्ष समेत हिन्दू रहेको स्वीकारीसकेपछि युनिभर्सल पिस फेडरेसनलाई क्रिश्चियन धर्म प्रचारक संस्था भनेर बद्नाम गर्न खोज्नुले ती सञ्चार माध्यमको कुत्सित मनसाय सजिलै प्रकट हुन्छ । उनीहरु ‘विरोधका लागि विरोध’ गर्न मात्र लेखिरहेका छन् भनेर सजिलै भन्न सकिन्छ । युनिभर्सल पिस फेडरेसनले कुनै एउटा मात्र धर्मको प्रवर्द्धन गर्दैन । यसले सबै धर्महरुलाई जोड्छ । यसले भिन्नभिन्न धर्म मान्नेहरुलाई साझा मञ्च प्रदान गर्दछ ।
यूपीएफले आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थित भारतीय हिन्दूवादी सत्तारुढ दल भाजपाका नेता विजय जोलीले नेपालले यस प्रकारको सम्मेलन आयोजना गरेर विश्वमा आफूलाई चिनाउने अवसर पाएको बताएका थिए । उनले आफू स्वयं हिन्दू भएको घोषणा गर्दै आफू कयौं वर्षदेखि युनिभर्सल पिस फेडरेसनमा सहभागी भइरहेको बताएका थिए । यस प्रकारको सम्मेलन नेपालमा हुँदा धेरैले रोजगारीको अवसर पाउने, बौद्ध पर्यटनले प्रश्रय पाउने र नेपालको अन्तर्राष्ट्रिय रुपमा प्रवर्द्धन हुने दावी उनले गरेका थिए । ‘म मस्कोमा भएको एउटा कार्यक्रममा सहभागी भएर सिधै शिखर सम्मेलनमा सहभागी हुन नेपाल आएको छु,’ उनले भनेका थिए– ‘मजस्तै नेपाललाई माया गर्ने धेरै मुलुकका विशिष्ट व्यक्तित्वहरु शिखर सम्मेलनमा सहभागी हुन आउँदै हुनुहुन्छ । उहाँहरुले नेपाललाई पक्कै संसारसामु राम्रो सन्देश लैजानु हुनेछ ।’ हिन्दूवादी नेता जोलीले भनेजस्तै यूपीएफले सबै धर्मको उत्तिकै सम्मान गर्छ । सबै धर्मलाई एउटै ठाउँमा ल्याउने मञ्च खडा गर्छ ।
यूपीएफले आयोजना गरेको एशिया प्यासिफिक शिखर सम्मेलन कुनै धार्मिक कार्यक्रम होइन । यसले ‘वर्तमान समयका गम्भीर चुनौतीहरूमाथि सम्बोधनः अन्तर्निर्भरता, पारस्परिक समृद्धि र सर्वव्यापक मूल्य–मान्यता’ शीर्षकमा एशिया प्यासिफिक क्षेत्रसहित विश्वका अन्य मुलुकका वर्तमान तथा पूर्व राष्ट्राध्यक्ष–सरकार प्रमुखहरू, सभामुखहरू, सांसदहरू, राजनीतिक नेताहरू, विभिन्न धर्मका धार्मिक अगुवाहरू, महिला नेतृहरू, सञ्चारकर्मीहरू, प्राज्ञिक व्यक्तित्वहरू, व्यवसायी, कलाकार तथा नागरिक समाजका अगुवाहरू सहभागी गराएर विचार–मन्थन गरी काठमाडौं घोषणापत्र जारी गर्न लागेको हो । कसैले कुप्रचार गर्दैमा सम्मेलनले आफ्नो विषयलाई परिवर्तन गर्दैन ।
सम्मेलनको मुख्य आयोजक तथा प्रायोजक युनिभर्सल फिस फेडरेसन (यूपीएफ) अन्तर्राष्ट्रिय हो । यो संस्था संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषदबाट मान्यता प्राप्त संस्था हो । विश्वका १ सय ५५ मुलुकमा यसको सक्रिय उपस्थिति छ ।
सम्मेलनमा आउने सहभागीलाई राख्न राजधानीका अधिकांश होटल बुक भएका छन् । सम्मेलनकै लागि भनेर दैनिक १ सयभन्दा बढी सवारी साधन सडकमा गुडिरहेका छन् । अधिकांश नेपाली टेलिभिजनले सम्मेलनको प्रत्यक्ष प्रसारण गर्दैछन् । सम्मेलनकै लागि एक महिनादेखि दैनिक १ सय ५० जनाभन्दा बढी व्यक्तिहरु खटिइरहेका छन् । सम्मेलन सम्पन्न गर्न आयोजकका तर्फबाट २० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । सम्मेलनमा सहभागी हुन आउनेहरुले गर्ने व्यक्तिगत खर्चको कुनै हिसाब छैन । यसरी अनुमान नै गर्ने हो भने पनि एउटा शिखर सम्मेलनमा १ अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुने निश्चित छ । यति ठूलो रकम एउटा संस्था युनिभर्सल पिस फेडरेसनले आफ्नो मातृसंस्थाबाट नेपाल भित्र्याएको छ । यति ठूलो रकम खर्च गरेर मुलुकको अर्थतन्त्रलाई चलायमान बनाई सयौंंलाई रोजगारी दिने कार्यक्रम गरेकामा आयोजकलाई धन्यवाद दिनुको साटो केही सञ्चार माध्यम हात धोएर विरोधमा लाग्नुले उनीहरु कसको प्रवक्ता बनिरहेका छन् भनेर आशंका गर्नुपर्ने भएको छ ।
सम्मेलनले गरिबी, आतंकवाद, जलवायु परिवर्तन, खाद्य असुरक्षा, नैतिक पतन, जबर्जस्ती विस्थापन, प्राकृतिक विपत्ति, शस्त्रको होडबाजीजस्ता चुनौतीलाई सामना गरिरहेको विश्वसमुदायलाई ती समस्या समाधान गर्न सघाउने विश्वास आयोजक संस्थाले लिएको छ । युनिभर्सल पिस फेडरेसनले सरकार, नागरिक समाज, निजी क्षेत्रका प्रतिनिधिहरूको सहकार्यमा यस्ता अन्तराष्ट्रिय शिखर सम्मेलनका श्रृंखलाहरू नै विश्वव्यापी रुपमा आयोजना गर्दै आएको छ । यति वृहत् स्तरमा शिखर सम्मेलन नेपालमा पहिलो पटक आयोजना हुन लागेको हो । हाम्रो समयको गम्भीर चुनौतीलाई प्रभावकारी रुपमा सम्बोधन गर्न र समाधान गर्न सघाउने यस प्रकारको कार्यक्रमको प्रवर्द्धन गर्नुको साटो मानमर्दन गर्नु आफैंमा निकै नकारात्मक कुरा हो ।
सम्मेलनको उदघाटन सत्रमा विभिन्न मुलुकका सरकार तथा राष्ट्र प्रमुखबाट सम्बोधन हुने छ । त्यसपछिका सत्रमा शान्ति, विकास, सुशासन र सांसदहरूको भूमिका, अन्तर–धार्मिक संगठन र नागरिक समाजको भूमिका, जलवायु परिवर्तन, सञ्चार माध्यमको भूमिकाबारे छलफल हुनेछन् । जलवायु परिवर्तन र काठमाडौं घोषणाबारे विशेष उदघोषसहित एशिया प्यासिफिक शिखर सम्मेलन समापन हुनेछ । सम्मेलनलाई कसरी प्रभावकारी बनाउने भन्नेमा नेपाली मिडियाले आफ्ना समाचार, लेख, सम्पादकीय टिप्पणीहरुमार्फत भूमिका निर्वाह गर्नुपर्ने हो ।
मुलुक यतिखेर शिखर सम्मेलनमय भएको छ । सरकारले समेत आफ्नो मुलुकमा आएका विदेशी पाहुनाको स्वागत–सत्कारमा नेपाली पम्पराअनुसार सक्दो भूमिका निर्वाह गरिरहेको छ । यस्तो बेला ‘अतिथि देवो भवः’ को नेपाली परम्पराअनुसार विदेशी पाहुनाको बसाइलाई सुखद् बनाउन नेपाली सञ्चार माध्यमले भूमिका निर्वाह गर्नुपर्नेमा ती मिडिया हात धोएर सम्मेलनको पछि लाग्नुले आशंका जन्माएको छ– ती सञ्चार माध्यम कसैको गोटी त बनिरहेका छैनन् ?
यस्तो बेला नेपाली कांग्रेस पार्टी तथा त्यसका प्रवक्ता समेत एशिया प्यासिफिक शिखर सम्मेलनको विपक्षमा देखिए । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा स्वयं यूपीएफले यसअघि तीन मुलुकमा आयोजना गरेका यस्तै सम्मेलनमा सहभागी भइसकेका छन् । त्यस्तै, कांग्रेस नेताहरु शेरबहादुर देउवा, रामचन्द्र पौडेललगायतका नेताहरु समेत विदेशमा भएका यस्तै कार्यक्रममा सहभागी भइसकेका छन् । आफू त्यही संस्थाले विदेशमा आयोजना गरेको शिखर सम्मेलनमा सहभागी हुन जाँदा संस्था ठीक हुने, त्यही संस्थाले नेपालमा आयोजना गरेको कार्यक्रम भने धर्मप्रचारक संस्थाले गरेको हुने ? यसरी दोहोरो मापदण्ड बनाएर गरिने राजनीतिले खुम्चिँदो कांग्रेसलाई अझै कति खुम्च्याउला ? भविष्यले देखाउने नै छ ।
लेखक ‘एशिया प्यासफिक समिट– २०१८’ को प्रेस संयोजन गरिरहेका पत्रकार हुन् ।