हिरासतभित्रै जनवादी गायक एवम् आदरणीय दाजु खुसिराम पाख्रिनको मृत्युको खबरले निकै दुःखी तुल्यायो । उहाँको निधन प्रकाश दाहालको श्रद्धाञ्जली तथा चुनावी–सभामा गीत गाउँदा–गाउँदै हृदयघातका कारण भएको रहेछ । खुसिराम पाख्रिनको निधन एउटा अपत्यारिँदो समाचार थियो । चितवनको भरतपुरमा आयोजित श्रद्धाञ्जली तथा चुनावी–सभामा गाउँदा–गाउँदै असजिलो महसुस भएपछि उहाँलाई अस्पताल लगिएको रहेछ । नारायणी सामुदायिक अस्पताल भरतपुर पुर्याइएका पाख्रिनलाई चिकित्सकहरूले मृत घोषणा गरेका रहेछन् । पाख्रिनले ‘उठ जाग युवाहरू’ बोलको गीत गाएर मञ्चमा बस्नेवित्तिकै ढल्न पुग्नुभएको रहेछ ।
२०३८ सालदेखि निरन्तर जनवादी गीत गाउँदै आउनुभएका पाख्रिन दाइले माओवादीको बहुचर्चित चुनबाङ बैठकमा प्रचण्डसहितका माओवादी नेतालाई रुवाउने गीत गाउनुभएको थियो । २०४७ सालतिर कञ्चनपुरको बेलौरी र पुनर्वास क्षेत्रमा जनवादी गीत गाएर सुदूरपश्चिममा समेत कम्युनिस्ट चेतना फैलाउन महत्त्वपूर्ण योगदान पुर्याउने काम पनि पाख्रिनले नै गर्नुभएको थियो । पाख्रिनले आफ्नो जीवकालमा एक सयभन्दा बढी गीतमा आफैँले स्वर दिनुभएको छ भने ५ सयभन्दा बढी गीत लेख्नुभएको छ । ‘सगरमाथाको काखमा नेपाल देश छ’ भन्ने बोलको गीतबाट जनवादी गीत लेख्न सुरु गर्नुभएका पाख्रिनले जनयुद्धको क्रममा कैयौँ गीत लेख्नुभएको थियो । ‘डाँडाकाँडा फुटालेर बाटो बनायो, के पायो नि कुल्ली दाइले ड्राइभरले ट्याक्सी गुडायो’ सहित उहाँका ‘लाल झुपडीका मान्छेहरू’, ‘न्यायपूर्ण युद्धको लहरले’, ‘रक्तक्रान्तिको बेला हो यो’ र ‘लड्दैछाैं मुक्तियुद्ध’ जस्ता दर्जनौं चर्चित गीतहरू रहेका छन् ।
खुसिराम पाख्रिन नेपाली प्रगतिवादी साङ्गीतिक आन्दोलनका एक चर्चित र स्थापित संस्कृतिकर्मी हुनुहुन्थ्यो । वर्गचेतना, वर्गप्रेम र वर्गसत्रुप्रति असीम घृणाका साथ वर्गमुक्तिको लागि सशस्त्र वर्गीय युद्धको पक्षमा आफ्नो सिङ्गो जीवन समर्पित गर्नुभएका खुसिराम सरल र इमानदार मानिनुहुन्थ्यो । २००९ साल कात्तिक ९ गते बाबु सिलधर र आमा फूलसानीको कोखबाट जन्मनुभएका पाख्रिनको जीवन गरिबी, अभाव र विपन्नतामा नै बितेको थियो । २०१४ सालमा बसाइ सरेर चितवनमा बसोबास गर्न थाल्नुभएका सहिदपिता पाख्रिनका दुई छोराहरूमध्ये कान्छा छोरा अमर पाख्रिन २०६१ चैत ८ गते लमजुङको पाचोकमा सेन्ट्री बसेको बेला घेरामा परी दोहोरो भिडन्त हुँदा सहिद हुनुभएको थियो ।
खुसिराम पाख्रिनले २०३६ सालतिर लेख्नुभएको ‘सगमाथाको कोखमा नेपाल भन्ने देश छ । त्यही नै हाम्रो देश रे ! भोका र नाङ्गाको बास छ’ बोलको गीत पहिलो रचना थियो । भारतले सिक्किम खाएको घटनाविरुद्ध उठेको चर्को विरोध, जुल्फिकार अलि भुट्टोलाई निर्ममतापूर्वक दिएको फासी, पञ्चायती व्यवस्थाको अन्याय–अत्याचार, दमन तथा समाजमा धनी वर्गको अन्याय र थिचोमिचोले उहाँलाई जनवादी गीत लेख्न प्रेरित गरेको थियो । उहाँले चितवनमा पहिलो पटक २०३६ सालमा आमसभामा ‘हाम्री चेली बिरानो गाउँमा, नौडाँडापारि, सम्झेर आमालाई रुन्छिन् धरधरी’ बोलको गीत गाउनुभएको थियो । २०३७ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गर्नुभएका खुसिरामले अखिल नेपाल जनसांस्कृतिक सङ्घको केन्द्रीय उपाध्यक्षको भूमिकामा रहेर पनि काम गर्नुभएको थियो ।
(प्रस्तुत सामग्री थपलियाको १५औं पुस्तकका रुपमा हालै बजारमा आएको ‘खोर’ बाट लिइएको हो– सं.)