दसवर्षे सशस्त्र जनयुद्धको मुख्य कमान्डर रही हाल सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीका दुईमध्ये एक अध्यक्ष रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीप्रति अशोभनीय टिप्पणी गरेका छन् ।
विगतमा प्रचण्ड आफैंले नेतृत्व गरेको पार्टीका एक प्रभावशाली युवानेता नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतले जनयुद्धको ‘समापन’ सँगै गम्भीर वैचारिक–राजनीतिक असहमति राख्दै तत्कालीन मुख्य नेताहरु प्रचण्ड र डा. बाबुराम भट्टराईहरुसँग चर्को अन्तर्संघर्ष गरेका थिए । त्यसबाट पनि पार नलागेपछि र दस वर्ष लामो सशस्त्र जनयुद्धबाट आएको पार्टीभित्र वैचारिक–सैद्धान्तिक एवं कार्यनीतिगत हिसाबले निकै फराकिलो अन्तर व्यवहारतः सतहमै आइसकेपछि मोहन वैद्य ‘किरण’ को नेतृत्वमा बेग्लै पार्टी गठन हुन पुगेको थियो ।
किरणको नेतृत्वमा छुट्टै पार्टी बनेको करिव डेढ वर्षपछि त्यहाँबाट समेत टुक्रिएर विप्लवहरुले आफ्नै नेतृत्वमा अर्को पार्टी गठन गरेका थिए । वैद्य–विप्लव विभाजन हुनुअघि खिलराज रेग्मीको नेतृत्वमा गराइएको दोस्रो संविधानसभाको चुनाव समेत दुवै पक्षले बहिष्कार गरेका थिए । त्यहाँदेखि निरन्तर सत्ता पक्षसँग भिन्न मत राख्दै आफ्नै ढंगको राजनीतिक गतिविधि गर्दै आएको विप्लव नेतृत्वको पार्टीप्रति सरकार र जिम्मेवारीमा रहेकाहरुले सत्ताधारी मानसिकताका साथ टीकाटिप्पणी गर्नु सामान्य कुरा हो । तर, व्यक्तिगत हिसाबले आफैं सत्तामा नरहेका र विगतमा आफैंले त्यति ठूलो रक्तपातपूर्ण संघर्षको नेतृत्व गरेका प्रचण्डले ‘विप्लव समूह राजनीतिक सहमतिमा नआए प्रशासनिक रुपमा समाधान खोज्छौं’ भन्दै धम्कीपूर्ण भाषा बोल्नु विडम्बनापूर्ण छ ।
‘विप्लव समूहका पछिल्ला गतिविधिलाई सरकारले गम्भीर रुपमा लिएको छ र यसको समाधान छिट्टै निस्कन्छ,’ विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भने– ‘संविधान र वामपन्थी सरकारलाई अस्थिर बनाउन खोज्नु अतिवाद हो र अतिवादलाई नियन्त्रण गर्न सरकारले गम्भीर रुपमा सोच्नुपर्छ, सोच्छ, सोचेको छ ।’
आज पनि नेपाली समाजको ठूलो हिस्सा माओवादी सिद्धान्त र माओवादी आन्दोलनप्रति आस्थावान् छ । आज पनि हजारौं माओवादी कार्यकर्ताहरु वर्तमान राजनीतिक परिवर्तन मात्रैले समाज र राष्ट्रको उन्नति–प्रगति सम्भव हुने प्रचारवाजीप्रति विश्वस्त छैनन् । अझ, अहिले प्रचण्ड जुन पार्टी र त्यसभित्र जुन अवस्थामा क्रियाशील छन्, त्यहींबाट र यथास्थितिमै उनीहरुले भनेको समाजवाद आउने कुराप्रति त्यही पार्टीका अधिकांश नेता–कार्यकर्ता विश्वस्त देखिएका छैनन् । यस्तो स्थितिमा विप्लव, वैद्य र अरु माओवादीहरुप्रति प्रचण्ड स्वयंले बोल्ने भाषा र शब्दहरुप्रति निकै ठूलो सजगता, संयमता र सन्तुलन अपेक्षित छ ।
जनआधारित भएर कम्युनिस्ट शक्तिहरुले उठाउने संघर्ष सत्ताको धम्कीपूर्ण भाषा, दमन र ‘प्रशासनिक समाधान’ को प्रयत्नले नियन्त्रणमा आउन सक्दैन भन्ने कुरा नेपालमा अरुलाई भन्दा प्रचण्डलाई नै बढी थाहा हुनुपर्छ । यो कोणबाट पनि प्रचण्डले सत्ताकै तर्फबाट बोल्दा समेत निकट भविष्यमा भड्कन सक्ने सम्भावित विद्रोहलाई ख्याल गरेर ‘बिच्क्याउने’ भन्दा ‘नजिक्याउने’ भाषा प्रयोग गर्नु बुद्धिमत्तापूर्ण हुनेछ । विप्लव वा वैद्यहरुका सन्दर्भमा प्रचण्डले सत्तापक्षीय चेतावनीको भाषा प्रयोग गर्नु कदापि शोभनीय विषय हुन सक्दैन ।
त्यसो गर्नु जनता, राष्ट्र, समाजवादी आन्दोलन र स्वयं प्रचण्डका निम्ति समेत हितकर विषय हुँदैन । यसो गर्दा प्रचण्डको आफ्नै इतिहास सकिन जान्छ । इतिहास सकिएपछि प्रचण्डको वर्तमान पनि बलियो हुँदैन र वर्तमान कमजोर भएसँगै भविष्य पनि सकिने खतरा प्रबल हुन्छ ।