गत चैतमा सम्पन्न एसईई परीक्षामा एक परीक्षार्थीले बाहिरबाट लेखेर ल्याएको उत्तरपुस्तिकासँग मूल उत्तरपुस्तिका साटेको आशंकामा राष्ट्रिय परीक्षा बोर्डले छानबिन थालेको छ । जुम्लाको जनता मावि महतगाउँका विद्यार्थी विमल भण्डारीमाथि छानबिन थालिएको हो ।
भण्डारीले जुम्लाकै कर्णाली मावि अनामनगर केन्द्रबाट परीक्षा दिएका थिए । स्रोतका अनुसार भण्डारी शिक्षा तथा मानव विकास स्रोत केन्द्रका अधिकृत जीवन भण्डारीका छोरा हुन् । परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्ने तयारी गरिरहँदा उत्तरपुस्तिका साटेको भनी उजुरी परेको थियो । प्रारम्भिक अध्ययन गर्दा उत्तरपुस्तिका साटेको भन्ने आरोप बलियो देखिएपछि असार १२ मा राष्ट्रिय परीक्षा बोर्डले छानबिन समिति गठन गरेको छ ।
उत्तरपुस्तिका साट्न जिल्ला शिक्षा कार्यालयकै कर्मचारी संलग्न रहेको बोर्डको आशंका छ । बोर्डकै उपनियन्त्रक चेतनाथ शर्माको संयोजकत्वमा छानबिन समिति गठन गरिएको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का नियन्त्रक विष्णु अधिकारीले जानकारी दिए । उनका अनुसार अहिले भण्डारीको नतिजा स्थगित छ । ‘बोर्डले छानबिन गरिरहेको छ, प्रतिवेदन आएपछि सबै कुरा थाहा होला’– अधिकारीले भने ।
एक जना परीक्षार्थीको मात्र उत्तरपुस्तिका साटिएको भए पनि यसमा विद्यालय प्रशासनसहित शिक्षाकै कर्मचारीको मिलेमतो रहेको आरोप लागेको छ । भण्डारीले परीक्षा दिएको केन्द्रका अध्यक्ष मीन शर्मा, निरीक्षक देवीचन्द्र उपाध्याय र प्रेम हमाललाई काठमाडौं बोलाएर छानबिन समितिले बयान लिएको छ । बयान दिएर उपाध्याय र हमाल जुम्ला फर्केका छन् । शर्मा भने काठमाडौंमै छन् ।
शर्माले भने– ‘कसरी उत्तरपुस्तिका साटियो, हामीलाई जानकारी छैन । यस घटनामा हाम्रो कुनै पनि संलग्नता नरहेको छानबिन समितिलाई बतायौं ।’ उत्तरपुस्तिका साटिएको प्रमाणित भएमा दोषीलाई कानुनअनुसार कारबाही हुनुपर्ने र यसका लागि आफूले पनि सहयोग गर्ने शर्माले बताएको खबर सूर्यप्रसाद पाण्डेको बाइलाइनमा आइतबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।