आर्थिक वर्ष २०७५–२०७६ मा नेपालबाट ‘नो अब्जेक्सन लेटर (एनओसी)’ लिने विद्यार्थीको संख्या ६३ हजार २ सय ५९ पुगको छ ।
विदेश अध्ययन गर्न जाने विद्यार्थीको संख्या घट्दै गएको दाबी सरकारले गरे तापनि आर्थिक वर्ष २०७४–२०७५ को तुलानमा गत वर्ष विदेशिने विद्यार्थीको संख्या ५ हजार बढेको हो । शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाले दिएको तथ्यांकअनुसार गत वर्ष अष्ट्रेलियाका लागि ‘नो अब्जेक्सन’ लिने विद्यार्थीको संख्या ह्वात्तै बढेको छ । अष्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीको संख्या असार मसान्तसम्ममा ३६ हजार ३ सय २४ रहेको छ । अन्य देशको तुलनामा अष्ट्रेलिया जाने विद्यार्थीको संख्या करिव ७० प्रतिशत बढी रहेको छ ।
अष्ट्रेलियामा अध्ययनसँगै रोजगारी समेतको अवसर पाइने भएपछि विद्यार्थीको संख्या बढेको शाखाले जनाएको छ । अष्ट्रेलियामा तुलनात्मक रुपमा सजिलै भिषा पाइने भएकाले पनि त्यहाँ जानेको संख्या बढ्न थालेको शाखा प्रमुख महेश्वर शर्माले बताएको खबर ईश्वरराज ढकालको बाइलाइनमा शुक्रबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।