newskoseli.Com

विद्यालयका लागि नब्बे लाख सङ्कलन

म्याग्दीको देविस्थान–३ राजदाङमा रहेको भीम माविको स्वर्ण जयन्तीका अवसरमा विद्यालयका लागि नब्बे लाख रुपैयाँ सङ्कलन भएको छ ।

विद्यालयको भौतिक पूर्वाधार र शैक्षिक विकासमा सुधार ल्याउनका लागि अक्षयकोष स्थापना गर्ने उद्देश्यले चन्दा सङ्कलन गरिएको हो । वैशाख ६ देखि १० गतेसम्म स्वर्ण जयन्ती मनाउने क्रममा प्रवास, देशका विभिन्न सहर र गाउँका बासिन्दाले नब्बे लाख रुपैयाँ सहयोग गरेका प्रअ डम्मरबहादुर घर्तीले जानकारी दिए ।

पुस्तकालय, कम्प्युटर ल्याब, बालविकास केन्द्रलाई व्यवस्थित र सुविधासम्पन्न बनाउने, विद्यालय परिसर घेराउ गर्ने र प्राविधिक शिक्षालय स्थापनाका लागि जग्गा खरिद गरी भवन लगायतका पूर्वाधार तयार गर्न आर्थिक स्रोत जुटाउन स्वर्ण जयन्तीको अवसर पारेर अभियान सुरु गरिएको हो ।

यसैगरी स्थानीय बासिन्दाको सक्रियतामा म्याग्दीको भकिम्ली–५ मा रहेको जयन्ती माविको २० कोठे भवन निर्माण कार्य सुरु भएको छ । स्वदेश तथा विदेशमा रहेका भकिम्लीका बासिन्दाको पहलमा निर्माण हुन लागेको २० कोठे भवनको शनिबार शिलान्यास गरिएको हो । पुरानो र जीर्ण भवनमा पठनपाठन सञ्चालन गर्दै आएको विद्यालयको पूर्वाधारसँगै शैक्षिक अवस्थामा सुधार गर्ने उद्देश्यले निर्माण गर्न लागिएको भवनको होमबहादुर रोकाले शिलान्यास गरे ।

जिल्ला शिक्षा कार्यालयले १९ लाख ५० हजार रुपैयाँ सहयोग गरेको भवन निर्माणका लागि भकिम्लीवासीले ४९ लाख ८३ हजार ६१५ रुपैयाँ सङ्कलन गरेका छन् । करिब तीन करोड लागत अनुमान गरिएको भवनको निर्माणकार्य तीव्र गतिमा अगाडि बढाएर जिल्लामै नमुना भौतिक संरचना बनाउने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम पुनले बताए ।

चन्दा सङ्कलन गरेर क्याम्पसका लागि जग्गा खरिद यसैगरी म्याग्दीको बाबियाचौरमा स्थानीय बासिन्दाले चन्दा सङ्कलन गरेर सामुदायिक क्याम्पसका लागि जग्गा खरिद गरिएको छ । बाबियाचौरस्थित मङ्गला शिक्षा क्याम्पसको भौतिक पूर्वाधार लगायतको संरचना निर्माण गर्न ३३ रोपनी जग्गा खरिद कार्य सम्पन्न भएको हो । बाबियाचौर–५ लाम्पाटामा ५७ लाख ५० हजार रुपैयाँमा ३३ रोपनी जग्गा खरिद गरिएको आर्थिक सङ्कलन अभियानका संयोजक चन्द्रप्रसाद बुढाथोकीले जानकारी दिए । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर