हामी (विशेषतः नेपालीहरू) जुनसुकै कुरामा पनि सजिलो बाटो अपनाउँछौं । कुनै पनि कुरामा तर्क र प्रश्न गर्नुभन्दा कसैले भनिदिएका कुरामा आँखा चिम्लेर विश्वास गर्न र त्यसैलाई पछ्याउन सजिलो मान्छौं । तर्क वा प्रश्न गर्नुलाई टाउको दुखाइ र अपजस सम्झन्छौं ।
शासकहरू, सामन्त, ठग र धूर्तहरू यस्तै चाहन्छन् । कथित ठूलाबडाहरूले भनेको वा गरेको कुरालाई उल्लङ्घन गर्नुलाई अपराध जस्तै सम्झन्छौं । जति नै घातक भए पनि ठूला–बडाले हिँडेको बाटो नै मूल बाटो सम्झन्छौं (महाजनो यन गत स पन्थाः) ।
यसैले प्रश्न गर्ने, तर्क गर्ने, परम्परागत विश्वासभन्दा फरक मत राख्नेहरूलाई तत्कालीन सत्ताधारी (शासनसत्ता र ब्राह्मण–पुरोहितसत्ता) हरूले ‘नास्तिक’, ‘भोगवादी’, ‘अधर्मी’ आदि भन्दै अनेक यातना मात्र दिएनन्, तिनका विचार र कृतिहरू समेत नष्ट गरिदिए । लोकायत वा चार्वाक दर्शन त्यसको एउटा उदाहरण हो ।
यसैले पश्चिमा जगतभन्दा पहिल्यै तर्क, वास्तु, गणित, ज्योतिष अनि पदार्थ र चेतनतत्त्वका बारेमा खोज र प्रयोग गरिसकेर पनि कट्टरपन्थी ब्राह्मण–पुरोहितहरूका कारण पूर्वमा वैज्ञानिक चिन्तनमा आघात पुग्यो र विज्ञानको विकास निकै ढिलो हुन पुग्यो ।
‘ईश्वर’ को अस्तित्व स्वीकार नगर्ने, वेदलाई प्रमाण नमान्ने, कर्मकाण्ड र यज्ञलाई अनावश्यक सम्झने अनि अन्धविश्वासको विरोध गर्नेहरूलाई तत्कालीन कट्टरपन्थी ब्राह्मण–पुरोहितहरूले होच्याउने र निन्दा गर्ने सिलसिलामा प्रयोग गर्ने गरेको ‘नास्तिक’ शब्द अहिले भौतिकवादीहरूले समेत प्रयोग गर्नु सर्वथा अनुचित हो ।
प्रसिद्ध व्याकरणविद् पाणिनिले– ‘अस्तिनास्तिदिष्टं मतिः’ भन्दै नास्तिक र आस्तिक गरी दर्शनका दुई धारा छुट्याएका थिए । त्यस अनुसार ‘परलोक’ मा आस्था राख्ने, ‘ईश्वर’ मा आस्था राख्ने र वेदमा आस्था राख्नेलाई आस्तिक र तिनमा आस्था नराख्नेलाई नास्तिक भनिएको पाइन्छ । मनुले ‘नास्तिको वेदनिन्दकः’ भन्दै वेदको निन्दा गर्नेलाई नास्तिक भनेका छन् ।
मानव चेतनाको उषाकालदेखि हालसम्मको लाखौं वर्षको इतिहासमा कहीं–कसैले नदेखेको, नभेटेको, पुष्टि नभएको वा हुँदै नभएको, ‘स्वर्ग’, ‘नरक (नर्क)’, पूर्वजन्म, पुनर्जन्म र ‘ईश्वर छन्’ भन्नेहरू कसरी आस्तिक हुन सक्दछन् अनि नभेटेको, नदेखेको र पुष्टि नभएको कुरालाई छैन भन्नेहरू कसरी नास्तिक हुन सक्छन् ? सही कुरा गर्ने नास्तिक र फट्याइँ कुरा गर्नेहरू कसरी आस्तिक हुन सक्छन् ?
भौतिकवादीहरू सम्पूर्ण सृष्टि वा जीवनको कारण भौतिक तत्त्वहरूको विशिष्ट सम्मिश्रण वा अन्तर्क्रियालाई मान्दछन् । पदार्थबाटै चेतनतत्त्व उत्पन्न हुन्छ, यसैले चेतना पदार्थको उपज हो भन्नेहरू वास्तवमा आस्तिक हुन् र चेतनाले पदार्थ उत्पन्न गर्छ भन्ने गतल सोच राख्नेहरू नास्तिक हुन् । आस्तिक र नास्तिक शब्द नै प्रयोग गर्ने हो भने पनि यथार्थ र सत्य कुराको उदघाटन गर्नेहरू नै वास्तवमा आस्तिक हुन् ।
कुनै पनि कुराको अस्तित्व नमान्नेलाई नास्तिक भन्ने हो भने पनि पदार्थको अस्तित्वलाई स्वीकार गर्दै त्यसैलाई मुख्य ठान्नेहरू नास्तिक हुन सक्तैनन् । फेरि, भौतिकवादीहरूले वेदको निन्दा गर्दैनन्, प्राचीन साहित्यका रूपमा सम्मान नै गर्छन्; खालि वेदलाई ‘ईश्वरीय वाणी’ र ‘प्रमाण’ मात्र नमान्ने हुन् ।
यसैले, भौतिकवादीहरूलाई अनीश्वरवादी वा निरीश्वरवादी भन्न सकिन्छ तर सातौं शताब्दीका मनु अनि कट्टरपन्थी पुरोहितहरूको भाकामा भाका मिलाएर नास्तिक भन्न सकिँदैन ।