विश्वभर चासोका साथ हेरिएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा मतदात चलिरहेको छ । सो निर्वाचनमा डेमोक्रेटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीका तर्फबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प कडा प्रतिस्पर्धाका साथ मैदानमा छन् ।
मतदानको समय नजिकिँदै गर्दा ह्यारिस र ट्रम्प दुवैको संयन्त्र ब्याटलग्राउण्ड स्टेट (मतदानबारे अनिर्णीत मतदाता रहेका राज्यहरु) मा केन्द्रित थिए । आफ्नो उमेदवारलाई विजयी गराउन दुवै पार्टीले आ–आफ्ना सबै प्रकारका संयन्त्र परिचालन गरेका छन् ।
मतदाताहरुको प्रत्यक्ष मतदान र ‘इलेक्टेरोल कलेज’ को सम्मिश्रणका आधारमा निर्वाचित हुने अमेरिकी राष्ट्रपतीय निर्वाचन यसपटक विगतमा भन्दा पनि बढी प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । प्रत्यक्ष कार्यकारी अधिकारसहितको विश्व शक्तिशाली अमेरिकाको राष्ट्रपति परिवर्तनले विश्वलाई नै प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव पार्ने धेरैको धारणा छ ।
यस निर्वाचनमा पनि विगतका निर्वाचनमा जस्तै आप्रवासन, बन्दुकको अधिकार, महिलाको अधिकार, आर्थिक विषय र विश्वभर देखापरिरहेको अशान्त वातावरणलाई केन्द्रमा राखेर डेमोक्रेट र रिपब्लिकन पार्टीले एजेण्डा अघि सारेका छन् । कोभिड महामारीपश्चात् अर्थतन्त्र केही चलायमान बन्ने प्रयत्न गरेको भए पनि मूल्यवृद्धिले अमेरिकी जनजीवनको हरेक तहलाई असर परेको छ । खाद्यवस्तु, इन्धनका साथै सवै वस्तु तथा सेवामा परेको असरले मध्यम आय हुनेहरुका लागि कठिन अवस्था सिर्जना गरेकाले समेत यस निर्वाचनलाई महत्त्वका साथ हेरिएको छ ।
आप्रवासीहरुप्रति तुलनात्मक रुपमा नरम नीति अङ्गीकार गर्ने डेमोक्रेट पार्टीले अमेरिकाको इतिहासमा पहिलो पटक महिलालाई सर्वोच्च कार्यकारी अधिकार प्रदान गर्ने गरी कमला ह्यारिसलाई मैदानमा उतारेको छ । अर्कातिर, अनेकन मुद्दा खेपिरहेका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकाल सम्हाल्ने गरी सत्तारोहणका लागि कडा मेहनत गरिरहेका छन् ।
निर्णायक स्विङ्ग राज्यहरु
अमेरिकाका कूल ५० राज्यमध्ये मुख्य ७– एरिजोना, जर्जिया, मिचिगन, नाभडा, नर्थ क्यारालिना, पेन्सलभेनिया र विसकन्सिनलाई स्विङ्ग (मतदाताले अन्तिम समयमा मात्रै मतदानबारे निर्णय गर्ने) राज्यका रुपमा परिभाषित गरिएको छ । यीमध्ये सबैभन्दा बढी ध्यान पेन्सलभेनियाले खिँचिरहेको छ । विगतका निर्वाचनहरुमा यी राज्यहरुको नतिजा हेर्दा सन् २०१६ मा डोनाल्ड ट्रम्पले ५ वटा स्विङ्ग राज्यमा जित हासिल गरेर निर्वाचित भएका थिए । उता, सन् २०२० मा जो बाइडेनले ६ वटा राज्यमा जित हासिल गरेर राष्ट्रपति बन्न सफल भएका थिए ।
पेन्सलभेनिया कति महत्त्वपूर्ण छ भन्ने विषय उक्त राज्यमा रिपब्लिकन र डेमोक्रेट पार्टीले सबै प्रकारका चुनावी अभियानमा सबै प्रकारका सञ्चार माध्यमहरुमा खर्च गरेका १ अर्ब २० करोड डलरको विज्ञापनले नै पुष्टि गर्छ । सन् २०२४ को चुनावमा अमेरिकाभर कूल १० अर्ब ५३ करोड विज्ञापनमा खर्च गरिएकामा ११ प्रतिशत त एउटै राज्यमा खर्च गरिएकोबाट पनि पुष्टि हुन्छ ।
कूल ९१ लाख मतदाता रहेको पेन्सलभेनियामा अर्लीभोटिङमार्फत १६ लाख २० हजारले मतदान गरिसकेका छन् । उक्त राज्यमा निर्वाचनकै दिन अर्थात् ५ नोभेम्बरको बिहान ७ बजेदेखि मतदान सुरु भएको छ ।
नेपाली मतदाताहरुको हैसियत के ?
ब्याटलग्राउण्ड अर्थात् मुख्य प्रतिस्पर्धा हुने राज्यका रुपमा रहेको पेन्सलभेनियाको निर्वाचन निर्णायक हुने भनेर सरोकार भएका संयन्त्रको ध्यान केन्द्रित हुनुका साथै निर्वाचन समितिको परिचालन भइरहेको छ । सो राज्यमा करिव २५ हजार नेपालीभाषीमा मताधिकार रहेकाले उनीहरु निर्णायक हुन सक्ने बताइएको छ ।
नेपाली मतदाताहरुलाई निर्वाचनसम्बन्धी जनचेतनाका लागि पेन्सलभेनियाको हयारिसवर्गमा आइपुगेका अमेरिकी राजनीतिज्ञ डा. ह्यारी भण्डारीले यो स्थान निर्वाचनलाई निर्यायक बनाउन समर्थ भएकाले निकै महत्त्वपूर्ण रहेको बताए । आफ्नो अगुवाइमा मेरिल्याण्डबाट ५१ जना स्वयंसेवक परिचालन गरी भोट माग्न शनिबार जुटेका भण्डारीले हरेक मतको मूल्य हुने बताए ।
नेपालीहरु पनि दुवै पक्षमा
आप्रवासीहरुप्रति नरम नीति लिने डेमोक्रेट पार्टीका पक्षमा धेरै नेपालीहरु देखिए तापनि रिपब्लिकन अर्थात् ट्रम्प समर्थक नेपाली मतदाता पनि पनि अमेरिकामा भेटिन्छन् । नेपाली अमेरिकनहरुले चुनावका सन्दर्भमा प्रसस्त टिप्पणी र पोस्टहरु आ–आफ्नो सामाजिक सञ्जालमा राखेका छन् ।
ब्याटलग्राउण्ड स्टेट र हारजितको विश्लेषण
अमेरिकाको राजनीतिलाई अत्यधिक प्रभाव पार्ने पेन्सलभेनियाका ६७ वटा क्षेत्र (काउन्टी) मध्ये केही काउन्टीका मतदाता दुवै पक्षमा रहेका पाइएको छ । समर्थकहरुले मतदानमा निर्णयक भूमिका निर्वाह गर्ने चुनावी अभियानमा क्रियाशील स्वयंसेवकहरुको भनाइ छ ।
यसपटकको अमेरिकी निर्वाचनले २ सय ४८ वर्षको इतिहासमा महिला राष्ट्रपतिको इतिहास निर्माण गर्नेछ वा पूर्वराष्ट्रपति ट्रम्पको दोस्रो पटक ह्वाइट हाउस यात्रालाई बाटो खोल्नेछ भन्ने विषयको निर्क्योल आजको निर्वाचनले गर्नेछ । मतदानका लागि योग्य कूल २३ करोड १० लाख मतदाता भए पनि १६ करोड ८० लाखले मात्र मतदानका लागि दर्ता गरेका छन् । कूल ५ सय ३८ इलेक्टोरल कलेजमध्ये २ सय ७० भोट ल्याउने उम्मेदवारले निर्वाचन जित्नेछन् ।