लामो समय प्रगतिशील एवम् जनवादी गीतसङ्गीतमा काम गरेकी पाल्मो लामा ( शुक्रीमाया मोक्तान) ले हालै ‘ल्हासामा नम्बरी सुन छ’ सेलो गीत सार्वजनिक गरेकी छन् । पाल्मोको आफ्नै शब्दमा अनिश च्याङ्बाले सङ्गीतसिर्जना गरेको यो गीत ‘गनगन टिभी’ नामक युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।
तामाङ भाषाको यस गीतमा नेपाली भाषाका अनेकौं थेगोहरूका अतिरिक्त अङ्ग्रेजी शब्द ‘हन्ड्रेड पर्सेन्ट’ समेत समावेश गरिएकाले गीत थप रोचक बन्न पुगेको छ । यस आधारमा यो गीतलाई तामाङ, नेपाली र अंग्रेजी गरी तीन भाषा मिश्रित गीत समेत मान्न सकिन्छ ।
‘कान्छाको कपाल र मेरो जोवन सँगसँगै फुलेर आए’ भन्ने जस्ता रमाइला प्रसङ्गहरू गीतका विषयवस्तु रहेका छन् । पाल्मोको ‘मैले माया गरें’ गीत यसअघि नै सार्वजनिक भइसकेको छ ।
अघिल्लो गीतले राम्रो भ्युज पाएका कारण दर्शक तथा श्रोताले मन पराएको ठानी पाल्मो उत्साहित छिन् । उनको तामाङ भाषाको दोस्रो गीत ‘ल्हासामा नम्बरी सुन छ’ पनि आम दर्शक–श्रोता र विशेषतः तामाङ समुदायबीच लोकप्रिय बन्ने अपेक्षा गरिएको छ ।