विभिन्न विद्यालय र स्थानमा खेल मैदान निर्माणका लागि ३६ लाख रूपैयाँ सरकारी बजेट आएको छ । चालु आवका लागि युवा तथा खेलकुद मन्त्रालय मार्फत सो रकम जिल्ला भित्रिएको हो । आउँदो असार मसान्तसम्म खेल मैदान निर्माण भइसक्ने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
खेल मैदान निर्माणका लागि उत्तरगङ्गा उमावि, गलकोट उमावि, बाङ्गेचौर खेल मैदान, बोहरागाउँ खेल मैदानका लागि रु. ५/५ लाख, चौतारेडाँडा खेल मैदानका लागि रु. १० लाख तथा महेन्द्र उमावि सुखौरा र सूर्योदय जनक मावि बिनामेरका लागि रु. ३ लाख बजेट विनियोजन भएको छ ।
मन्त्रालयसँग उक्त रकमको सम्झौता भई पहिलो किस्ता रकम खेलकुद विकास समितिमा आइसकेको समितिका अध्यक्ष धनबहादुर परियारले बताए । दोस्रो किस्ता रकम भने निर्माण सम्पन्न भइसकेपछि आउने उनको भनाइ छ । “कपितय ठाउँमा नयाँ मैदान निर्माण हुनेछन्, कतै जीर्ण मैदानको मर्मत र स्तर वृद्धि पनि हुनेछ” परियारले भने “अहिले काम सुरु भइसकेको छ, असारभित्र सबैतिरको काम पूरा हुन्छ ।”
बजेट अभावमा मैदान बनाउन नसकेका विद्यालयलाई सरकारी बजेटले उत्साहित बनाएको छ । खेल क्षेत्रको अत्यावश्यक पूर्वाधार मानिने खेलकुद मैदान निर्माणका लागि बर्सेनि खेलकुद मन्त्रालयबाट बजेट आउने गरेको छ । जिल्लास्तरमा व्यवस्थित र स्तरीय खेल मैदानको अभावमा खेलकुदको यथोचित विकास हुन सकेको छैन ।