पछिल्लो समय जिल्लामा वैदेशिक रोजगारबाट फर्केका युवाले व्यावसायिक रुपमा कृषि व्यवसाय सञ्चालन गरेर मनग्य आम्दानी गर्न थालेका छन् ।
कृषिमा सम्भावना छैन भन्नेहरूका लागि ज्यामिरगढी–५ का रेवत उप्रेती उदारण बनेका छन् । विसं २०६५ मा दुबईबाट फर्केका ३८ वर्षीय रेवतले स्वदेशमै कृषि व्यवसायलाई अङ्गाल्ने अठोट गरे ।
उनले ‘श्रीराज कृषि फार्म’ खोलेर विदेशमा बस्दाको दुःख सम्झेर घर छेउमा रहेको जग्गामा गाईपालन, गड्यौले मल उत्पादन र बिरुवा प्लानेट गर्ने कृषि व्यवसाय एकसाथ अघि बढाए ।
फार्ममा रु चार लाख खर्चेर व्यावसायिक रुपमा गाईपालन गरिरहेका छन् । यस्तै सुनसरीको तरहराबाट एक हजार गड्यौला ल्याएर मल उत्पादन समेत गरिरहेका छन् । “सामान्य गोबर मलभन्दा गड्यौले मल बढी फाइदाजनक छ” उनले भने।
गड्यौले मल प्रतिकिलो रु १० मा बिक्री हुन्छ । गड्यौले मलबाट उहाँले वार्षिक रु एक लाख बढी आम्दानी लिइरहेका छन् ।
गरामनी गाविस– ५ का शोभित तिवारीले डेढ बिगाहा जग्गामा तरकारी खेती गरिरहेका छन् । “वार्षिक रु दुई लाख बढी आम्दानी हुन्छ,” उनले भने । विदेशमा श्रम गर्नुभन्दा आफ्नै देशमा केही गरौँ भनेर तरकारी खेतीमा लागेको उनको भनाइ छ ।
यस्तै बाहुनडाँगी– ९ का मञ्जील देवान, मुकुन्द थापा, डम्बरकुमार मगर, जीवन विश्वकर्मा, भूपाल थापा र पवन प्रधानले सामूहिक रुपमा माछापालन व्यवसाय गर्दै आएका छन् । उनीहरुले विदेशमा भन्दा यहीँ आम्दानीको सम्भावना देखेपछि कृषि व्यवसायलाई अँगालेका हुन् ।
बाहुनडाँगी–९ स्थित देवीगञ्जमा करिब रु २० लाख लगानीमा दौतरी एग्रो फार्म खोलेर माछापालन सुरु गरिएको छ । दुई बिगाहा १३ कट्ठा जग्गा भाडामा लिएर पाँचवटा पोखरीमा सात प्रजातिको माछापालन गरी मनग्य आम्दानी लिइरहेका छन् ।
जनकपुरबाट ५० हजार माछाका भुरा ल्याएर पोखरीमा हालेको पाँच महिनापछि उत्पादन दिन थालेको फार्मका सञ्चालकमध्येका देवानले बताए ।
साइप्रसबाट फर्किएका देवान कृषिमा सम्भावना रहेको बताउनुहुन्छ । बाहुनडाँगीको बगर क्षेत्रलाई माछाको पकेट क्षेत्र बनाउने योजनाका उनीहरुले व्यवसाय सुरु गरेका हुन् ।
थप चार बिगाहा जग्गामा माछापोखरी बनाउने उनीहरुको योजना छ । माछा प्रतिकिलो रु ३०० मा पोखरीबाटै बिक्री हुने गरेको छ ।
सरकारले कृषिमा अनुदान दिइरहेको भए पनि सदुपयोग भए÷नभएको अनुगमन गर्न आवश्यक रहेको देवानको भनाइ छ । कागजपत्र हेरेर मात्र अनुदान दिने प्रवृत्तिले कृषि व्यवसाय अघि बढ्न नसक्ने उनले भने।