कक्षाकोठाको अभावमा पठनपाठनमा समस्या आएपछि यहाँका स्थानीयले विद्यालयको भवन निर्माणका लागि श्रमदान गरेका हुन् । दलित र कुमाल समुदायको बाक्लो बस्ती रहेको यस वडामा अहिले दिनहुँजसो यहाँका १ सय ३३ जना स्थानीयले विद्यालयमा श्रमदान गरिरहेका छन् ।
आफ्नो विद्यालय राम्रो विद्यालय बनाउने उद्देश्यले यहाँका स्थानीयले ढुङ्गा, बालुवा, गिट्टी बोकेर विद्यालयको भौतिक अवस्था राम्रो बनाउन लागेको स्थानीय नारायण रानाले बताए ।
कक्षाकोठाको अभावमा यहाँ २ वटा कोठालाई टिनले बारेर चार कोठा बनाई पठनपाठन गर्दै आएको विद्यालयका प्रधानाध्यापक भीमबहादुर थापाले बताए । “कक्षाकोठाको अभावमा टिनले बारेर हाल २, ३, ४ र ५ कक्षा सञ्चालन गरेका छौँ, स्थानीयको श्रमदान र एसआरडिसीको रु एक लाख आर्थिक सहयोगमा तीन कोठे नयाँ भवन निर्माण हुदैछ” प्रअ थापाले भने ।
साथै स्थानीयको श्रमदान र एसआरडसीको १ लाख ८२ हजारको लागतमा पर्खाल पनि निर्माण भइरहेको विद्यालयले जनाएको छ । पर्खाल निर्माणका लागि यहाँका ३०० स्थानीयले श्रमदान गरिरहेका छन् । विसं २०६१ मा स्थापना भएको विद्यालयमा हाल १३० विद्यार्थी अध्ययनरत छन् । रासस