अमेरिकी पहलमा गराइएको द्वन्द्वरत हुठी विद्रोही र सरकारबीचको युद्धविराम ४८ घन्टापछि अन्त्य भएसँगै भएको झडपमा मङ्गलबार १९ जनाको मृत्यु भएको यमनी सैनिक अधिकारीले बताएका छन् ।
यमनी हुठी विद्रोहीको राम्रो पकड रहेको तायज शहर वरपरका क्षेत्रमा हुठी विद्रोहीद्वारा यमनी राष्ट्रपति अवेद्रब्बो मन्सुर हाडी समर्थक सेनामाथि भएको आक्रमणको प्रतिकार गर्ने क्रममा अधिकांश विद्रोही तथा उनीहरुका सहयोगीतर्फ उक्त हताहती भएको हो ।
प्रत्याक्रमणमा साउदी अरब नेतृत्वको गठनबन्धन सेनाले हवाई आक्रमण गरी विद्रोहीलाई हट्न बाध्य तुल्याएको बताइएको छ । घटनामा विद्रोहीतर्फ ११ लडाकुको मृत्यु भएको छ भने ५ सैनिक अधिकारीको पनि मृत्यु भएको छ । विद्रोहीको आक्रमणमा सोमबार पनि २ सेनाको मृत्यु भएको थियो भने ४ जना घाइते भएका थिए ।