newskoseli.Com

ह्वाइटहाउस छिरे ट्रम्प, सैनिक विमानबाट क्यालिफोर्निया उडे ओबामा

अमेरिकाका धनाढ्य एवं टेलिभिजन कार्यक्रमका कुशल प्रस्तोता तथा कलाकारका रूपमा परिचित डोनाल्ड ट्रम्पले शुक्रबार स्थानीय समयअनुसार मध्यान्हमा भव्य समारोहका बीच ४५औं अमेरिकी राष्ट्रपतिका रुपमा शपथ ग्रहण गरेका छन् ।

आठ वर्षदेखि डेमोक्र्याटिक पार्टीको नियन्त्रणमा रहेको अमेरिकी प्रशासन शुक्रबार अपरान्हदेखि पहिलो पटक, न्यूनतम चार वर्षका लागि रिपब्लिकन पार्टीको नेतृत्वमा गएको छ ।

निर्वाचन अभियानमा “अमेरिकालाई फेरि महान बनाऔं (मेक अमेरिका ग्रेट अगेन)” भन्ने लोकप्रिय नारा लिर्इ विजयी भएका राष्ट्रपति ट्रम्पले शपथ ग्रहणको क्रममा सम्बोधन गर्दै आर्थिक, सामाजिक तथा राजनीतिक हिसाबले राज्यद्वारा बेवास्ता गरिएका अमेरिकी नागरिकहरु (फर्गट्टन मेन एण्ड विमन) को उत्थान र सशक्तीकरणका लागि प्रयासरत रहने बताए ।

अमेरिकी राजनीति, नेतृत्वशक्ति र राज्य सञ्चालनमा गहिरो अनुभव हासिल नगरेका राष्ट्रपति ट्रम्पले विश्वशक्तिको प्रथम स्थानमा रहँदै आएको अमेरिकाले आर्जन गरेको इज्जत र मानलाई अलिकति पनि कम हुन नदिन राष्ट्रप्रेम झल्काउने दुई शब्दहरु– “अमेरिका फर्स्ट” लाई आत्मविश्वासका साथ बारम्बार दोहोर्‍याई उद्घोष गरे ।

भित्र अमेरिकी उच्च अधिकारी तथा सम्मानित व्यक्तित्वहरु र बाहिर प्राङ्गणमा, निवार्चनमा मत दिर्इ विजयी गराउने विभिन्न राज्यका हजारौं जनता तथा अन्य आगन्तुकले खचाखच भरिएको अमेरिकी संसद् भवन “क्यापिटल हिल” मा आयोजित समारोहका बीच राष्ट्रपति ट्रम्पले शपथ ग्रहण गरेका हुन् ।

उक्त समारोहमा राष्ट्रपतीय एकता प्रदर्शन गर्न एक वृद्ध दम्पतीबाहेक अमेरिकाका सबै जीवित पूर्वराष्ट्रपति सपत्नी उपस्थित थिए । पूर्वराष्ट्रपति जर्ज डब्ल्यु बुसका पिता एवम् पूर्वराष्ट्रपति ९२ वर्षीय जर्ज एच डब्ल्यु बुसलाई निमोनिया रोगले सताएका कारण अस्पताल भर्ना भएकाले उनी भने उपस्थित हुन सकेनन् । बुसपत्नी बार्बरालाई पनि एक्कासि ज्वरो आएकोले उनी पनि अस्पतालमै छिन् ।

डेमोक्र्याटहरुको निन्दा गरेको भन्दै अमेरिकी संसदको तल्लो सदनका ६० भन्दा बढी सदस्यहरु उक्त शपथग्रहण समारोहमा उपस्थित भएनन् । निवर्तमान राष्ट्रपति बाराक ओबामाबाहेक अमेरिकी उच्च अधिकारी तथा सम्मानित व्यक्तित्वसँगसँगै एउटै पङ्क्तिमा आसनग्रहण गर्ने वरिष्ठ डेमोक्र्याटहरुमा राष्ट्रपति पदकी पूर्वउम्मेदबार हिलारी रोधाम क्लिन्टन एक जना मात्र थिइन् ।

अमेरिकी परम्परागत धार्मिक चलनअनुसार शपथग्रहण समारोहमा आउनुपूर्व ट्रम्प शुक्रबार बिहानै सपरिवार स्थानीय चर्चमा गर्इ त्यहाँ आयोजित प्रार्थनासभामा सम्मिलित भए । तत्पश्चात् उनी निवर्तमान राष्ट्रपति बाराक ओबामा तथा प्रथम महिला मिसेल ओबामाको निमन्त्रणा मान्न सपरिबार ह्वाइटहाउस गर्इ चियापान कार्यक्रममा सम्मिलित भए ।

निवर्तमान राष्ट्रपति ओबामा भने ह्वाइटहाउसबाट बिदावारी भएपछि केही वर्षसम्म सपरिवार वासिङटनमै बस्ने बिचारमा छन् । शपथग्रहण समारोहपश्चात अमेरिकी राष्ट्रपति मात्र चढ्नका लागि छुट्याइएको सैनिक हेलिकप्टर– “अमेरिकन एयर फोर्स–वान्” बाट ओबामा वासिङटनको एन्ड्रयुज सैनिक आधारशिविर पुगी त्यहाँ भेला भएका ह्वाइटहाउसका सबै कर्मचारी वर्गलाई बिदाइ सम्बोधन गरे । त्यसपछि उनी सैनिक विमानबाटै क्यालिफोर्नियाको पाम स्प्रिङग्स पुगेका छन् । त्यहाँ उनी सपरिवार छुट्टी मनाई केही समय आराम गर्नेछन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर