अफगानिस्तानको पूर्वी क्षेत्रमा पर्ने नानगाहार प्रान्तमा सुरक्षा कारबाहीमा परी कम्तीमा ३० जना लडाकुको मृत्यु भएको छ ।
इश्लामिक स्टेट आवद्ध उनीहरु २४ घन्टाको अवधिमा भएका कारबाहीमा मारिएको स्थानीय अधिकारीले बुधबार जानकारी दिएका छन् ।
“हेस्का मिना र एचिना जिल्लामा सरकारी सुरक्षा फौजले गरेको हवाई कारबाही र सुरक्षा फौजसंग भएको दोहोरो भिडन्डका क्रममा २४ घण्टामा आइएसमा आवद्ध ३० जना लडाकु मारिएका छन्,” प्रान्तीय एक अधिकारीले भने । मृत्यु हुनेमा लडाकुतर्फका एक जना स्थानीय कमान्डर हम्जा पनि रहेका छन् भने अन्य ५ जना लडाकु घाइते भएका छन् ।
सरकारी सुरक्षा फौजले आइएस लडाकुहरुका सवारी साधन, ठुला ठुला मेसिन लगायतका अन्य सामग्रीहरु पनि नष्ट गरिदिएको सरकारी अधिकारीहरुको भनाइ छ । घटनास्थल केन्द्रीय राजधानी काबुलदेखि १२० किलोमिटर टाढा पर्दछ ।