गैरास्थित अत्तरिया–डडेल्धुरा–भीमदत्त सडक खण्डको किनारमा बसाेबास गर्दै आएका अमरगढी नगरपालिका– ६, डडेल्धुराका ५४ वर्षीय ज्ञानबहादुर पार्कीले ३ पुस्तादेखि नै डोका, छाप्रा र भकारी निर्माणबाट गुजारा चलाउँदै आएका छन् ।
बाजे, बुबा हुँदै आफू पनि यस्ता सामग्री बनार्इ कैलाली–कञ्चनपुरसम्म बिक्री गरेर घर खर्च चलाउँदै आएका पार्की दम्पतीले झन्डै ३९ वर्षदेखि लगातार डोकाको व्यापार गरिरहेका छन् । यसै पेशाबाट दैनिक गुजारा चलाउनुका साथै छोराछोरीको पढाइ र विवाह खर्च समेत गरेको उनले बताए । गैरामा तयार भएका सामग्री बिक्रीका लागि उनले नजिकका जिल्लामा पुर्याउने गरेका छन् ।
“घरको भाडा र खाना खर्च काटेर मासिक १० हजार रूपैयाँ जति आम्दानी हुन्छ”, पार्कीले भने– ‘‘मेरो त जागिर भनेकै डोका, छाप्रा, भकारी बनाउनु हो ।’’ डोटीको गैरा, घण्टेश्वर, हगुल्टे लेक र यहाँका सामुदायिक वनमा डोकालगायतका सामग्री बनाउने कच्चा पदार्थ बनाउन चाहिने निगाँलो पाइने भएकाले केही समय डडेल्धुराबाट बसाइँ सरेर आफू गैरा आएर बस्ने गरेको उनले सुनाए ।
बनाइएका ती सामग्री तराईका कैलाली–कञ्चनपुरसम्म बिक्री हुने र प्रतिडोका ५ सय रूपैयाँसम्म लिने गरेकाे सुनाउँदै पार्कीले भने– ‘‘समयमै यो काम गरेन भने घरव्यवहार धान्नै मुश्किल हुन्छ । बुबा हलुवा पार्की र बाजे कमले पार्कीले पनि डोकोकै व्यापार गरेका थिए । बाउ–बाजेबाट सिकेर मैले पनि आधा जीवन यसमै खर्चिएँ ।’’
एक महिनामा ३० थानसम्म डोका बनाउने गरेको छु भन्दै यसै व्यापारबाट ७ छोराछोरीको लालनपालनका लागि खर्च धानेको उनले बताए ।
अब पहिलेजस्तो निगाँलो पाउनै छाडिसके पनि डोका र छाप्राको माग भने अझै घटेको छैन, तराई जाँदा ५ सय थानसम्म डोका र छाप्रा बिक्री भएको उनले बताए । पहाडी जिल्लामा भन्दा तराईका जिल्लामा डोका, भकारी धेरै खपत हुने भएकाले तराईमा डोकासित अन्न समेत साट्ने गरेको बताउँदै पार्कीले भने– ‘‘प्रतिडोका २५ देखि ३० किलोसम्म धानसित पनि साट्ने गरेको छु , यस पेशाबाट जीवनमा धेरै ठूलो परिर्वतन नआए पनि पेट पाल्न अरुसित हात थाप्नु परेन ।”
दलित समुदायले सुदूरपश्चिममा यस प्रकारका हस्तनिर्मित सामग्री बनाएर बिक्री गर्ने गरेको भए पनि पछिल्लो दशकयता डोका, भकारी बनाएर बिक्रीवितरण गर्ने प्रचलनमा कमी आउँदै गएको छ । कच्चा पदार्थको कमी भएकाले पनि हस्तनिर्मित उपभोग्य सामग्री निर्माणमा कमी आएको छ ।