newskoseli.Com

कविता

म सहर

निदाइरहेको बालक छोरोलाई
रत्नपार्कको पुलमा
एका बिहानै कुच्चिएको भाँडोसँगै
बेवारिसे छाडेर
थुप्रिएको चिल्लरले
मस्म डुम्साउने
महान आमा बोकेको,
साँझमा आफ्नै स्वास्नी बलत्कार गरी
दिनभर नारी अधिकारको वकालत गर्ने
महान पति बोकेको, बाउले झरिमा
दुनियाँको जुत्ता सिएर
थुप्रिएको पैसा सुटुक्क झिकेर
नशामा डुब्ने सन्तान बोकको,
हो म सभ्य सहर हु ।

बूढो पोलको काँधमा अल्झीएका
काला अनि नाङ्गा तारहरूमा झुन्डीएर
विजुलीले आत्महत्या गरेको,
पानीले हावा ओकल्ने धाराहरू
अनि बारीमा उम्रिएका कङ्क्रीट
च्याउहरूले भरी पूर्ण,
हो म सम्पन्न सहर हु ।

लटरम्म मानव मलमुत्रले सजिएको
फुटपाथ, नहर, पलाष्टिक ओड्ने सडक,
पेट बिग्रेका मोटर,
बाग उजाडी
कृतिम पुतलीले सजाइएको,
हो म सुन्दर सहर हु ।

गल्ली–गल्ली बाट मानव उर्जा
निर्यात गर्ने,
देश दगुराउने पंक चालकहरूको
कालो साम्राज्य उभ्याउने,
पथमा पथ भ्रष्टका निम्ति
रेड कारपेट सजाउने,
खोक्रो सभ्यताले लेपिएका
पुरातनवादी खप्परेहरूले भरिपूर्ण
हो म बौद्धिक सहर हुँ ।

कम्जोरलाई कुल्चेर रमाउने
भोको पेटलाई लुटेर अघाउने
यहाँ जिउँदाले जिउदालाई नै लुट्छन्
त्यस्तै मुर्दाहरू पनि जिउदालाई
यहाँ भोक भन्दा ठूलो भोग छ,
मृत्यु भन्दा जिउँदो हनुको शोक छ ।

यहाँ देउताहरू मानवलाई नभै
मानवहरू देउतालाई चलाउछन् ।
यहाँ नदिहरू जीवन होइन
जीवनका कत्ला मात्र बोक्छन् ।

अनि तैले
ए ! मान्छे
समयसँगैको बदलाव भन्दै
कस्तो बनाइस् आफूलाई
त सँगै हेर त
बदलिएको छ तेरो सहरको स्वरूप
मेरो स्वरूप ।

 

— रशिक राज
नेपालगञ्ज–२४

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर