newskoseli.Com

राजेन्द्र कार्कीको हास्यनिबन्धसङ्ग्रह ‘खाइराइड’ सार्वजनिक

व्यङ्ग्य निबन्धकार राजेन्द्र कार्कीको ‘खाइराइड’ हास्यव्यङ्ग्य निबन्धसङ्ग्रहमाथि समीक्षा तथा अन्तर्क्रिया सम्पन्न भएको छ । वरिष्ठ समालोचक तथा त्रिभुवन विश्वविद्यालय केन्द्रीय नेपाली विभागका प्रमुख प्रा.डा. खगेन्द्र लुइँटेलको प्रमुख आतिथ्यमा राजधानीमा शुक्रबार समीक्षात्मक अन्तर्क्रिया सम्पन्न भएको हो ।

वरिष्ठ हास्यव्यङ्ग्यकार चट्याङ मास्टर, प्रगतिशील गीतकार श्याम तमोट तथा चलचित्र निर्माता एवं साहित्यकार प्रकाश सायमीको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित पचासभन्दा बढी व्यक्तिहरूको उपस्थिति रह्यो । कार्यक्रममा साहित्यकार चन्द्र घिमिरे, केदार शर्मा, लक्ष्मण गाम्नागे, डा. रमेश शुभेच्छु र चूडा निर्भीकले कृतिमाथि आ–आफ्ना धारणा राख्दै कृतिको सूक्ष्मतम टिप्पणी गरे ।

‘खाइराइड’ कृति माथि टिप्पणी गर्दै टिप्पणीकारहरूले कृतिको नाम, शीर्षक चयन, विषयवस्तु छनोट, लेखनशैली इत्यादि पक्षमा खोट लगाउने ठाउँ नभएकाले कृति सघन रहेको भन्दै कार्कीको यो पहिलो कृति भए तापनि स्थापित र सिद्धहस्त लेखकको कृतिभन्दा कम नरहेको जिकिर गरे । कार्यक्रममा अतिथिको तर्फबाट चट्याङ मास्टरले शुभकामना मन्तव्य राखे । कृतिकारका गुरु तथा चर्चित गीत ‘गाउँ गाउँबाट उठ, वस्ती वस्तीबाट उठ’ का रचनाकार श्याम तमोटले लेखकको परिचयसहित मार्मिक मन्तव्य राख्दै कार्कीलाई हौसला र थप प्रगतिको शुभकामना दिए ।

चलचित्र निर्माता एवं साहित्यकार प्रकाश सायमीले ‘खाइराइड’ पढेपछि त्यसको लेखनशैलीले हरिशङ्कर प्रसाईं, सूर्यबहादुर पिवाको झल्को दिएको बताउँदै थप प्रगतिका निम्ति लेखक कार्कीलाई बधाई तथा शुभकामना दिए । कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. खगेन्द्र लुइँटेलले ‘खाइराइड’ हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रहमाथि समालोचनात्मक विवेचना गर्दै यो कृति पढ्नै पर्ने किताब भएको बताए ।

‘तपाईं हास्यव्यङ्ग्य निबन्ध लेखनकार्यमा सफल व्यक्ति ठहरिइसक्नु भएको छ तर अर्को अर्को पटकको कृतिमा यसको गुणात्मकता खस्कन नदिने गरी अघि बढ्नुपर्ने चुनौती छ’– उनले भने । समकालीन साहित्यकारहरूका कमजोर पक्ष र नेपाली साहित्य तथा भाषामा देखिएका विकृतिमाथि समेत डा. लुइँटेलले रोचक तथा घोचक तरिकाले आफ्ना भनाइ राखे ।

कृतिका स्रष्टा राजेन्द्र कार्कीले आमन्त्रित एवम् समीक्षकहरूप्रति आभार प्रकट गर्दै पुस्तकमाथि भएका समीक्षा र टिप्पणी एवम् घनिभूत सहभागिताले आफूलाई अत्यन्त प्रोत्साहित गरेको बताए । कार्यक्रम वरिष्ठ हास्यव्यङ्ग्यकार तथा फित्कौली अनलाइनका प्रधान सम्पादक नरनाथ लुइँटेलको अध्यक्षता एवम् सहजीकरणमा सम्पन्न भएको थियो । कार्यक्रमको आरम्भमा बोल्दै लुइँटेलले हास्यव्यङ्ग्यको अभ्युत्थान र प्रवर्द्धनका लागि फित्कौली अभियान समर्पित रहेको चर्चा गरे । त्यसैको कडीका रुपमा आफूहरूले यो कृति प्रकाशित गरेको जानकारी उनले गराए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर