शिखर नगरपालिका– ११, तल्लीसातका २६ वर्षीय तेजबहादुर जोराको मङ्गलबार निधन भयो । गाउँभरि सबैतिर रुवाबासी चलेको थियो ।
तर, उनका सानो उमेरका अन्जान छोरा अनिशलाई भने यो कुराको खास अर्थ नै थाहा थिएन ।के हुँदैछ भन्ने कुराको कुनै जानकारी पनि उनलाई थिएन । घरबाट शवयात्रा सुरु भयो, बुबाको शवलाई काँध हाल्न अनिशलाई गाउँलेले सघाए ।
शवयात्रासँगै उनी पनि समसानघाट पुगे । तर, के भइरहेको छ भन्ने कुराको कुनै भेऊ उनले पाएका थिनन् । उनी त्यतिबेला आत्तिन्छन्, जब बुबालाई चितामा सजाएर ‘आगो लगाऊ’ भन्दै उनको हातमा राँको दिइयो । त्यतिबेला उनले मार्मिक प्रश्न गरे– ‘मेरो बाबालाई किन आगो लगाएर डढाउने ?’
‘आगोले बाबाको शरीरमा पोल्छ’ भन्दै उनी आगो लगाउन मानिरहेका थिएनन् । परिवारका अन्य सदस्यले सम्झार्इ–बुझार्इ गर्दा बुबाको चितामा आगो लगाउन त अनिश तयार भए तर ‘बाबा–बाबा !’ भन्दै चिच्याउँन थाले । ‘बाबालाई किन आगो लगाएको…’ भन्दै उनी चिच्याइरहेका थिए ।
तर, उनले सोधेको प्रश्नको उत्तर दिने हिम्मत कसैमा थिएन । उनका बुबा ८ महिना अघिदेखि क्यान्सरबाट पीडित थिए । १४ वर्षको उमेरदेखि रोजगारीको सिलसिलामा भारत आउजाउ गर्ने तेजको ८ महिनाअघि बाँया पाखुरा दुख्न थाल्यो । उनले भारतमै जाँच गराउँदा पाखुराभित्र गानो भएकाले शल्यक्रिया गर्नुपर्ने सल्लाह चिकित्सकले दिए । तेजले सोही अनुसार गरे पनि । तर, त्यो निको हुनुको सट्टा झन् बल्झियो र क्यान्सर देखियो ।
उपचारका लागि तेजले भारतको चेन्नई, ब्याङ्लोर र नेपालको चितवनसम्म धाए । तर, कुनै सुधार भएन । अन्ततः उनको मृत्यु भयो । गरिबीका कारण डोटीलगायत अन्य पहाडी जिल्लाका स्थानीयवासीले समयमै उपचार नपाउँदा क्यान्सरजस्तो प्राणघातक रोगबाट अकालमै ज्यान गुमाउन थालेको खबर राससले प्रेषित गरेको छ ।