newskoseli.Com

२४औं जनयुद्ध दिवस : प्रचण्ड, वैद्य र विप्लवका के–के कार्यक्रम ?

तत्कालीन नेकपा (माओवादी) को आह्वान र नेतृवमा जनयुद्ध सुरु भएको दिन फागुन १ गते माओवादी पृष्ठभूमिबाट विभिन्न घटकमा विभाजित पक्षहरुले देशभर विभिन्न कार्यक्रम गर्दै २४औं जनयुद्ध दिवस मनाइरहेका छन् ।

तत्कालीन नेकपा (माओवादी) टुक्रिएर विभिन्न पार्टी गठन गरेका नेताहरुले बेग्लाबेग्लै कार्यक्रम गदैछन् । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा कार्यक्रम आयोजना गरेको छ ।

विगतमा भन्दा फरक रुपमा दिवस मनाउने योजनासहित नेकपाले जनआन्दोलन र जनयुद्धका सहिदहरुको स्मृतिमा श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम राखेको नेकपा केन्द्रीय कार्यालयले जनाएको छ । कार्यक्रमलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गर्ने कार्यक्रम छ । नेकपाका अन्य नेताहरु पनि श्रद्धाञ्जलि कार्यक्रममा सहभागी हुने तर प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओली भने सहभागी नहुने नेकपाले जनाएको छ ।

नेकपाका महासचिव विष्णु पौडेलले देशभर विभिन्न कार्यक्रमको आयोजना गरी जनआन्दोलन र जनयुद्धका सहिदहरुको स्मृतिमा श्रद्धाञ्जलिसभा गर्न मंगलबार विज्ञप्तिमार्फत निर्देशन नै दिएका थिए ।

त्यस्तै, तत्कालीन नेकपा (माओवादी) बाट अलग्गिएर बनेको मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले राजधानीसहित देशैभर ‘रातो मार्चपास’ गरेर जनयुद्ध दिवस मनाइरहेको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले राजधानीको शान्तिबाटिकामा कार्यक्रमसहित देशभर विविध कार्यक्रम गरी जनयुद्ध दिवस मनाइरहेको छ । प्रचण्डहरु एमालेसँग एकीकृत हुँदा असहमति जनाउँदै माओवादी केन्द्रलाई पुनर्गठन गरेका गोपाल किरातीले भने यसै दिन पार्टीको महाधिवेशन उदघाटन गरेर जनयुद्ध दिवस मनाइरहेका छन् ।

१ फागुन, २०५२ देखि सुरु भएको जनयुद्धको स्मरणमा माओवादीहरुले त्यसलाई जनयुद्ध दिवसका रुपमा मनाउँदै आएका छन् । पार्टी एकतापछि नेकपाले यस पटक फरक रुपमा जनयुद्ध दिवस मनाउन लागेको सो पार्टीका कार्यालयका सचिव प्रभाव बुढाथोकीले जानकारी दिए ।

जनयुद्ध थालनीका दिन तत्कालीन नेकपा (माओवादी) ले रोल्पाको होलेरी प्रहरी चौकी, रुकुमको आठबिसकोट प्रहरीचौकी, सिन्धुलीको सिन्धुलीगढीस्थित प्रहरी चौकी, गोरखाको च्याङलीस्थित साना किसान विकास आयोजना र काभ्रेपलाञ्चोकका दौलतसिंह दोङको घरमाथि एकैसाथ हमला गरेका थिए ।

नेपाली जनयुद्ध र देशका विभिन्न स्थानहरुमा आधारइलाका स्थापना गर्दै हजारौं हजार नियमित ‘जनमुक्ति सेना’ परिचालनको स्तरसम्म पुगेर १० वर्षसम्म चलेको थियो । जनयुद्धका क्रममा १७ हजारभन्दा बढीले ज्यान गुमाएका थिए भने हजारौं घाइते र बेपत्ता भएका थिए । मारिनेमध्ये झन्डै नब्बे प्रतिशतलाई तत्कालीन राज्य पक्षले हत्या गरेको थियो ।

५ मंसिर, २०६३ मा तत्कालीन सरकार र माओवादीबीच भएको वृहत शान्ति सम्झौतापछि सशस्त्र जनयुद्ध समाप्त भएको थियो ।

थप यी सामग्री पनि पढ्नुहोस्–
यस्तो थियो जनयुद्ध थालनीको अपिल (जनयुद्धको शंखघोष गर्दै जारी माओवादी पर्चा)

फागुन १ जनयुद्ध दिवस : के–के थिए जनयुद्ध सुरु गर्दाका ७ प्रतिबद्धता ?

‘जनयुद्ध’ साँच्चिकै जनयुद्ध नै थियो त ?

‘अर्को माओवादी जन्मन्छ’ भनेर प्रचण्डले एमालेहरुलाई तर्साउन खोजे

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर