पदार्थ वा वस्तुहरूलाई जस्तो छ, त्यस्तै रूपमा हेर्नु–बुझ्नु नै भौतिकवादी दृष्टिकोण हो । दुर्व्यसन एक खराब रोग हो । मानिस कुनै दुर्व्यसनमा फस्यो भने त्यसबाट बाहिर निस्कन धेरै गाह्रो पर्छ ।
कुरा २०२६–२७ तिरको हो, हामी ‘राजकाज मुद्दा’ मा जेलमा थियौं । त्यसैबेला बजारका सबभन्दा धनी, प्रतिष्ठित व्यक्तिका छोरा (जसका छोरा–छोरी समेत थिए) जेलमा आए । उनको परिवार अहिले पनि प्रतिष्ठित मानिन्छ, उनका सन्तान राजनीतिमा पनि उच्च स्थानसम्मै पुगेका छन् (उनीहरूको मान–इज्जतको ख्याल गरी नाम–वतन उल्लेख गरिएन) । उनी चोरी केसमा जेल आएका रहेछन्, जबकि उनको सम्पत्तिले सयौं परिजारलाई जीवनभर खान–लाउन पुग्ने अवस्था थियो । उनी कुखरा चोरेर जेल आएका रहेछन् । जेल सजाय पनि पन्ध्र दिन मात्र तोकिएको थियो, त्यसपछि उनी छुटे । छुटेको दस–पन्ध्र दिनपछि चोरीको केसमै फेरि जेल आए ।
हामीले भन्यौं– तिमी करोडौंका मालिक छौ, फेरि के चोरेर जेल आयौ ? उनले भने– साथीहरूको लहैलहैमा लागेर रक्सी खाएको तालमा कुखुरा चोरेको थिएँ । पुलिसले होइन, पिताजीले नै रिसको झोंकमा जेल पठाउन लगाए । अब बाहिर इष्टमित्र–साथीभाइहरूक अगाडि म चोर भएँ । उनीहरूले मलाई राम्रो नजरले हेर्दैनन्, म साथीभाइबिहीन एक्लो भएँ । यहाँ पाँच–छ सय कैदीबन्दीहरू छन्, यिनीहरूका अगाडि मलाई हीनताबोध हुँदैन । बाहिर बेइज्जति भएर बस्नुभन्दा मलाई यहीं ठीक लाग्यो । यसपटक चाहिँ उनी छिमेकीको गाग्री देख्ने गरी नै चोरेर जेल आए । याे उनले ‘पटके चोर’ को सजायस्वरूप एक वर्षको सजाय पाए । त्यसपछि ‘फेरि जे होला…’ भन्थे । पछि उनी जेलमै मरेछन् ।

मैले यो प्रसङ्ग किन उठाएको हुँ भने, मानिस एकपटक दुर्व्यसनमा फस्यो भने त्यसबाट बाहिर निस्कन नसक्ने रहेछ । साँच्चै कुरा गर्ने हो भने प्रचण्ड असाधारण मानिस हुन् । प्रचण्ड नभएको भए न जनयुद्ध हुन्थ्यो, न गणतन्त्र आउँथ्यो । शायद उनले जति मार्क्सवादको प्रयोग गर्न सक्ने मानिस अझसम्म नेपालमा देखापरेको छैन । मार्क्सवाद नबुझेर प्रचण्ड अहिलेको हालतमा पुगेका होइनन् ।
प्रचण्डमा आँट–साहस दुवै थिए । उनको आँट र साहसलाई अघि बढाउन सहयोग गर्ने र पार्टीभित्र दुईलाइन सङ्घर्ष गर्ने मानिस नै रहेनछन्; कि उनका अन्धभक्त रहेछन् कि त सत्रु रहेछन् । जनयुद्धलाई शान्ति प्रक्रियामा ल्याउँदासम्म यस्तो स्थिति रह्यो । २०६४ सम्म पनि प्रचण्ड दोधारमा देखिन्छन् । सरकार छाडेर सङ्घर्षमा आउन पनि तयार भएको देखिन्छ । उनलाई रचनात्मक तरिकाले आलोचना गर्दै अघि बढाएको भए कम्युनिस्टहरूको स्थिति आजको जस्तो हुने थिएन ।
क्रान्ति गर्न भन्दै जनयुद्धको ठूलो शक्तिले उनलाई छाड्यो । जान्दाजान्दै उनी नवउदारवादी राजनीतिको दलदलमा फसे । कम्युनिस्टहरूसँग कम र नवउदारवादी–पुँजीवादीहरुसँग बढी हेलमेल भयो । उनी सामूहिकतावादबाट विचचपलत भए र व्यक्तिवादी उदार पुँजीवादी कित्तामा पुगे ।
‘क्रान्ति गर्न’ प्रचण्डसँग सम्बन्ध–विच्छेद गरेकाहरू पनि उनीतर्फ नै फर्के । प्रचण्डलाई सत्ताको दुर्व्यसनले समात्यो । सत्ताका लागि कहिले एमाले त कहिले काङ्ग्रेससँग एकाकार भएर चुनाव लडे । नवउदारवादी व्यक्तिवादी राजनीति अपनाएपछि साम्राज्यवादी शक्तिहरू सबै ‘मित्र शक्ति’ मा बदलिए ।
आन्तरिक विवादमा भारतका लागि ‘उपयोगी’ सरकार बनाउनका लागि प्रचण्डले एमालेको स्थानमा काङ्ग्रेसलाई सहयोग गरे । एमसीसी जस्तो राष्ट्रघाती सम्झौता गर्न ‘व्याख्यात्मक टिप्पणी’ ल्याए । संशोधनवादी प्रतिक्रियावाद परम्परागत प्रतिक्रियावादभन्दा पनि खराब हुन्छ । जनतामा भ्रम छर्नु र नवउदारवादी प्रतिक्रियावादको रक्षा गर्नु नै यसको मुख्य काम हो ।
काङ्ग्रेस, एमाले र माओवादी केन्द्र बीचको लडाइँ सैद्धान्तिक होइन र यो वर्गीय लडाइँ पनि होइन । यदि प्रचण्डले तीनबुँदे सहमती नगरेका भए रमेश लेखक एयरपोर्ट काण्डमा राजीनामा गर्न बाध्य भइसकेका थिए । शायद तयतिबेलै उनको राजीनामा भइसकेको भए ‘जेन–जी काण्ड’ नहुन पनि सक्थ्यो ।
जनमत आकर्षित गर्न एकले अर्काका विरूद्ध जे पनि बोल्ने र भ्रम छर्ने गरे तापनि एकले अर्कोलाई बचाउने यिनीहरूको क्रियाकलापकै कारण जेन–जी घटना भयो । जेन–जी घटनालाई आईएनजीओले हस्तक्षेप गरी आफ्नो अधीनमा पार्यो । अहिले नेपालमा कुनै पार्टीको हैसियत छैन । सरकार आईएनजीओ मार्फत साम्राज्यवादीहरूले चलाएका छन् ।
प्रचण्ड क्रान्तिकारी छँदा पनि गतिमान् थिए, अहिले नवउदारवादी कित्तामा जाँदा पनि उत्तिकै गतिमान् छन् । पार्टीमा आफ्नो सत्ता यथावत राख्नका लागि उनले अहिले नवउदारवादी व्यक्ति–समूहहरूलाई आफ्नै नेतृत्वमा गोलबद्ध गर्दैछन् । यस गोलबन्दीमा भित्र्याउनका लागि प्रचण्डले जोडबल गरे तापनि विप्लव भने प्रचारमा आएजस्तो ‘नेतृत्व नपाएर’ होस् वा अन्य जेसुकै कारणले होस्– त्यो प्रक्रियामा सहभागी भएका छैनन्; यो सकारात्मक कुरा हो । उनी यही नवउदारवादी सत्ताको दुर्व्यसनमा नफसून् भनेर उनलाई सहयोग गर्नुको सट्टा ‘पार्टी एकतामा गयो, विप्लव मात्रै छुटे’ भन्दै गरिएको प्रचारबाजी सत्य होइन ।
विप्लवसँग मैले पाँच वर्ष काम गरेँ । म उनको प्रतिस्पर्धी थिइनँ, बरू सहयोगी थिएँ । केन्द्रीय समितिको सदस्य, सल्लाहकार र सल्लाहाकारको अध्यक्ष भएर मैले उनीसँग काम गरेँ । अतः मैले उनलाई राम्रैसँग बुझेको छु । उनी माओवादी जनयुद्धका उपज हुन्; उनमा युवालाई वशिभूत गर्ने कला छ । उद्देश्य राम्रै थियो होला, पछिल्लो चरणमा उनमा व्यक्तिवाद हावी भएको देखिन्छ ।
पार्टीको विकास दुईलाइन सङ्घर्षबाट हुने हो तर विप्लवले त्यसलाई निषेध गरेका छन् । उनी जनवादी केन्द्रीयता पनि मान्दैनन् र आलोचना–आत्मआलोचनाको पद्धति पनि स्वीकार्दैनन्, एकमनावादमा पूरै भासिएका छन् । त्यसैले उनी क्रान्तिकारी कम र उदार वामपन्थी बढी देखिन्छन्; उत्पादन मुख्य कुरा हो र राजनीति चाहिँ गौण हो भन्ने ल्यु–शाओचीको पथमा छन् ।
यसैकारण विप्लव अस्थिर राजनीतितर्फ धकेलिएका छन् । कहिले ‘प्रधानमन्त्री हुने इच्छा छ’ भन्छन् त कहिले वाम एकताका कुरा गर्छन् । केही अघिसम्म उनी ‘निरपेक्ष एकता’ को कुरा गर्थे तर अहिले एकतामा गएनन्– राम्रै गरे । यदि मार्क्सवादी दर्शन, अर्थराजनीति र वैज्ञानिक समाजवादलाई हृदयदेखि स्वीकार गरेमा विप्लव समकालीन नेपालमा वामपन्थी धारको नेतृत्व गर्न समर्थ र योग्य व्यक्तित्व हुन् ।
विप्लव उग्र महत्त्वाकांक्षी छन् । आफूले जोडेको घरजग्गा र पार्टी कार्यालय भवन अरूलाई सुम्पेर यिनले कुनै हालतमा, कसैसँग एकता गर्दैनन् । प्रचण्डले नेतृत्वको पासा खेलेर यिनको बदनाम मात्र गरे । न प्रचण्डले अरूको नेतृत्व स्वीकार गर्छन् न त विप्लवले । विनापूर्वाग्रह भन्ने हो भने विप्लव नेतृत्वको पार्टीमा रहेका नेता–कार्यकर्ता जस्ता इमान्दार मानिसहरू अन्यत्र छैनन् ।
अहिले विप्लवको पार्टी फुटेको जुन हल्ला गरिँदैछ, त्यो बेकारको होहल्ला र झुटो प्रचारबाजी मात्रै हो । गए होलान् पाँच–दस जना, त्यो भिन्नै कुरा हो । यस्तो हुनु पनि राम्रो कुरा त होइन, त्यसमा कमजोरी विप्लवकै छ । पार्टीमा जनयुद्ध लडेका र सयौं पटक दमनचक्र व्यहोरेका सयौं कमरेडहरू क्रियाशील छन् । त्यस्ता कमरेडहरूलाई पछि पारेर जनयुद्धकालमा समेत जनयुद्धको विरोध गरेका चिरन पुन, तीन वर्षको कालो कालपछि पार्टीमा जोडिन आएका कर्णजित बुढाथोकी लगायतलाई एकता वार्ता समितिमा राख्ने मूर्खता विप्लवले गरे ।
अवसरवादीहरूको कुनै विश्वास हुँदैन । तर, विप्लवले विश्वास गरे– उनीहरूले विश्वासघात गरिदिए; विप्लवलाई नै छाडेर ‘एकता’ मा गए; भएको केवल यत्ति हो । संख्याका हिसाबले पार्टीलाई खासै नोक्सान परेको छैन, प्रचारका हिसाबले विप्लव प्रतिरक्षात्मक बन्न पुगेका छन् । यो स्थिति विप्लवमा विद्यमान अतिभूतवादी चिन्तनको दुष्परिणाम हो ।
विप्लव सत्ताको दुर्व्यसनतर्फ उन्मुख भने भएकै हुन् तर दुर्व्यसनी नै चाहिँ भइसकेका छैनन् । उनमा विकास भएको एकमनावादका करण प्रचण्डसँग निरपेक्ष एकताको कुरा गर्नु हुँदैन भन्ने मेरो मतलाई कर्णजित बुढाथोकीले एकताविरोधी करार गर्दै मसँग सम्बन्ध–विच्छेद गरेका थिए । अहिले उनले के भन्दा हुन् ? उनीसँग मेरो सम्बन्ध नै छैन र त्यस घटनालाई मैले पूर्वाग्रहका रूपमा लिएको पनि छैन ।
विप्लवले आफ्ना कमीकमजोरी सच्याएमा वाम ध्रुवीकरणलाई फाइदा नै हुनेछ । व्यक्तिवादी नवउदारवादतर्फ उन्मुख भए तापनि उनी नवउदारवादी नै चाहिँ भइसकेका छैनन् । नवउदारवादीहरूको एकतालाई बल पुग्ने गरी विप्लवलाई समेत उतै घचेट्ने हिसाबले जुन हल्ला भइरहेको छ, यो ठीक होइन । क्रान्तिकारीहरूले उनलाई नवउदारवादमा घचेट्नुभन्दा क्रान्तिका पक्षमा तान्नु राम्रो हुन्छ ।
अहिले भएको २१ दलको साम्राज्यवाद विरोधी मोर्चामा नेपाल विप्लव नेतृत्वको कम्युनिस्ट पार्टीलाई पनि ल्याउन कोसिस गर्नु आवश्यक छ । विप्लव र उनी नेतृत्वको पार्टीलाई प्रतिक्रियावादी सत्ता दुर्व्यसनमा फस्नबाट रोक्नुपर्छ । जसरी अब कुनै हालतमा पनि प्रचण्ड नवउदारवादी व्यक्तिवादबाट बाहिर आउनै सक्तैनन्, त्यता फसिहालेमा विप्लवलाई पनि कुनै हालतमा बाहिर ल्याउन सकिने छैन । अझै बेला छ, उनीसँग वार्ता–सम्वाद गर्दै गरौं, प्रतिक्रियावादी कित्तामा जानबाट रोक्न यथासक्य कोसिस गरौं ।









