newskoseli.Com

खुलापत्रः कमरेड किरणको राजीनामा र राजनीतिक सन्देश

आदरणीय कमरेड किरण,
लालसलाम !

तपाईंले क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको महासचिव पदबाट राजीनामा दिनुभएको सुनियो। आफ्नो स्वास्थ्य अवस्थाको कारण उल्लेख गर्दै दिनुभएको यो राजीनामामार्फत तपाईंले जीवनमा प्रथमपल्ट, एकैसाथ स्वयम् आफैंलाई र जीवनकालभरि विभिन्न राजनीतिक आरोह–अवरोहहरूमा अनवरत रूपमा साथ दिने सहयात्री एवम् समकक्षी सहयोद्धा कमरेड गौरवलाई पनि न्याय गर्नुभएको छ। यस अवसरमा तपाईंलाई बधाई एवम् धन्यवाद र कमरेड गौरवलाई शुभकामना !

नेपालको कम्युनिस्ट आन्दोलनमा नेतृत्व हस्तान्तरण सम्बन्धी कमरेड पुष्पलाल, कमरेड निर्मल लामा र तपाईंमा छुट्टै प्रकारको ऐतिहासिक पृष्ठभूमि देख्न पाइन्छ। नेकपाका संस्थापक महासचिव कमरेड पुष्पलालले प्रथम महाधिवेशनमा नै पार्टीको मूल नेतृत्व आफूभन्दा पाँच वर्ष जेठा मनमोहन अधिकारीलाई (विभिन्न कारणले) हस्तान्तरण गर्नुभएको थियो। त्यस्तै, महासचिव मनमोहन अधिकारीको अनुपस्थितिमा भएको दोस्रो महाधिवेशनमा आफूभन्दा दुई वर्ष कान्छा डा. केशरजंग रायमाजीलाई (परिस्थितिवश) नेतृत्व छाडिदिनुभएको थियो। तेस्रो महाधिवेशनबाट आफूभन्दा १० वर्ष जेठा तुलसीलाल आमात्यलाई समेत नेतृत्व छाड्न बाध्य हुनुभएको थियो। मूल नेतृत्व र पदीय जिम्मेवारीमा नरहँदा पनि कमरेड पुष्पलालमा कुनै किसिमको आत्मग्लानि र निष्क्रियता आएको देखिँदैन। त्यसैगरी, कमरेड निर्मल लामाले पनि आफू ६८ वर्षको उमेरमा हुँदा आफूभन्दा ३२ वर्ष कान्छा नारायणकाजी श्रेष्ठलाई नेतृत्व सुम्पनुभएको थियो।

नेकपा मसालको पाँचौं महाधिवेशनबाट महासचिव बन्नुभएका तपाईंले ४३ वर्षको उमेरमा स्वेच्छिक रूपले आफूभन्दा नौ वर्ष कान्छा प्रचण्डलाई नेतृत्व हस्तान्तरण गर्नुभएको थियो। अहिले, एउटा विषम परिस्थितिमा, राजनीतिक जीवनको लामो कालखण्डसम्मका अनवरत सहयात्री तथा सहयोद्धा कमरेड गौरवलाई निःसर्त नेतृत्व हस्तान्तरण गरेर कम्युनिस्ट आन्दोलनभित्र विद्यमान नेतृत्व पंक्तिको पदीय महत्त्वकांक्षाको जडतामाथि जबरजस्त प्रहार गर्दै तपाईं अपवाद बन्न पुग्नुभएको छ।

हुन त कमरेड मोहनविक्रम सिंहले पनि ६५ वर्षको उमेरमा आफूभन्दा झन्डै २० वर्ष कान्छा कमरेड रामसिंह श्रीसलाई नेतृत्व हस्तान्तरण गर्नुभएको थियो। तर, त्यो स्वविवेकीय नभएर बाध्यतावश गरिएको नेतृत्व हस्तान्तरण थियो। यसकारण इतिहासमा त्यस सन्दर्भको साह्रै कम चर्चा हुने गरेको देखिन्छ।

अशोक शर्मा

कमरेड पुष्पलाल र तपाईं (कमरेड किरण) मा रहेको आधारभूत अन्तर के हो भने कमरेड पुष्पलालले ज–जसलाई नेतृत्व हस्तान्तरण गर्नुभयो, ती सवै बाध्यतावश भएका हस्तान्तरण थिए र नेतृत्व हस्तान्तरणसँगसँगै नवनिर्वाचित नेतृत्वसँग उहाँको वैचारिक–राजनीतिक अन्तर्विरोध सुरु हुन पुग्यो र त्यसले पार्टीलाई निकै ठूलो नोक्सान समेत पुर्‍यायो। तर, तपाईंको नेतृत्व हस्तान्तरणसम्बन्धी प्रश्न फरक प्रकृतिको भएको तथ्य सहजै बुझ्न सकिन्छ।

स्वेच्छापूर्वक हस्तान्तरण गरेको नेतृत्वलाई लामो समयसम्म अभिभावकीय ढङ्गले वैचारिक मार्गदर्शन गरिरहन तपाईं प्रायः सफल भइरहनुभयो। प्रचण्डलाई नेतृत्वमा स्थापित गर्न, सर्वहारा क्रान्तिको राजनीतिक एवम् सामरिक कार्यदिशाको सुस्पष्ट वैचारिक नेतृत्व सम्हाल्न तथा महान् जनयुद्धको समग्र वैचारिक अभिभावकत्व प्रदान गर्न तपाईंले प्राप्त गर्नुभएको उच्च राजनीतिक सफलता तपाईंमा विद्यमान उच्चतम् राजनीतिक योग्यताको प्रमाण थियो भन्ने कुरा इतिहासका तथ्य र व्यवहारले पुष्टि गरिसकेका छन्। तपाईँमा अन्तर्निहित उच्च वैचारिक योग्यताका कारण जनयुद्धमार्फत सर्वहारा क्रान्तिले नयाँ उचाई प्राप्त गर्न सफल भएको ऐतिहासिक तथ्यलाई भुल्नु इतिहास र स्वयम् तपाईंप्रतिकै अन्याय हुन जान्छ।

कमरेड किरण ! तपाईंको सिङ्गो इतिहास सर्वहारा वर्ग, वर्गसङ्घर्ष, सर्वहारा क्रान्ति र यसका समग्र रणनीति एवम् कार्यनीतिप्रति वैचारिक एवम् राजनीतिक दृष्टिकोणले अविचलित देखिन्छ। सर्वहारा क्रान्तिको राजनीतिक आदर्श, निष्ठा र उद्देश्यप्रति देशी–विदेशी शक्तिकेन्द्रहरूको दबाव र प्रभावमा परेर एउटा पंक्तिले जनयुद्धको मूल मर्म र भावनाविरुद्ध राष्ट्रिय एवम् वर्गीय आत्मसमर्पणवादको बाटो अवलम्बन गरेपछि तपाईंले तत्कालीन माओवादीको मूल नेतृत्वमा रहेका प्रचण्ड–बाबुरामहरूको संशोधनवादी लाइनविरुद्ध दृढतापूर्वक क्रान्तिको झण्डा उठाइरहने साहस गर्नुभयो। माओवादी जनयुद्धलाई प्रचण्ड–बाबुरामहरूमार्फत संसदवादमा पतन गराउनका लागि तपाईं र कमरेड गौरवलाई पक्राउ समेत गरी साम्राज्यवादीहरूले सर्वहारा वर्गमाथि गरेको भयङ्कर गद्दारीविरुद्ध खडा भइरहनु भएको तपाईंको निष्ठालाई धुमिल पार्ने सुनियोजित उद्देश्यसहित प्राप्त गराइएको संविधानसभा सदस्य (सांसद) पद समेत परित्याग गरेर तपाईंले आफ्नो वर्गीय निष्ठा र आदर्श बचाउने काम गर्नुभयो। आफैंद्वारा स्थापित र प्रशिक्षित नेतृत्ववाट सर्वहारा वर्ग र क्रान्तिप्रति गद्दारी गरिएपछि तपाईंले उनीहरूकै विरुद्ध विद्रोहको क्रान्तिकारी झण्डा उठाउनुभयो र माओवादी आन्दोलनमा वैचारिक पुनर्गठनको राजनीतिक नेतृत्व गर्नुभयो। सर्वहारा क्रान्तिको प्रक्रियामा त्यसबेला तपाईंले देखाउनु भएको अदम्य क्रान्तिकारी साहस र वैचारिक निष्ठा क्रान्तिकारी राजनीतिक आन्दोलनको इतिहासकै एउटा युगान्तकारी परिघटनाका रूपमा जबर्जस्त दर्ज भएको छ।

प्रचण्ड–बाबुरामहरूको संशोधनवाद विरुद्ध विद्रोहको झण्डा उठाउँदा पार्टीको नेतृत्व लिनु तपाईंको मनोगत इच्छा नभएर परिस्थितिले खडा गरेको ऐतिहासिक एवम् वस्तुगत आवश्यकता थियो भन्ने कुरा सहजै बुझ्न सकिन्छ। यद्यपि, माओवादी आन्दोलनको पुनर्गठन गर्ने सन्दर्भमा तपाईंको वर्गीय एवम् वैचारिक निष्ठासँग केही असङ्गत मानसिकता बोकेका मानिसहरू पनि मिसिएका थिए। उनीहरूको उद्देश्य आन्दोलन र क्रान्तिलाई नयाँ ढङ्गले पुनर्गठन गरेर लैजानुभन्दा पनि व्यक्तिगत पदीय महत्त्वाकाङक्षासहित प्रचण्डहरूसँगको निजी कुण्ठा, आक्रोश र बदलाको भावनाले प्रेरित थियो थियो भन्ने कुरा पुष्टि भइसकेको छ।

तपाईंले निकट भविष्यमै नेतृत्व हस्तान्तरण गर्न सकारात्मक सोच बनाइसक्नु भएका पात्र विप्लवले नै सबैभन्दा पहिले तपाईंसँग ‘सम्बन्ध–विच्छेद’ गरेर धोका दिए। त्यसलगत्तै एउटा परिस्थितिमा पुगेर बादलमार्फत नेतृत्वको हस्तान्तरण गर्ने तपाईंको इच्छामाथि स्वयम् बादलले ‘सम्बन्–विच्छेद’ गरेर अर्को धोका दिए। कम्युनिस्ट आन्दोलनभित्रका फुट र विभाजनहरूबाट ऐतिहासिक शिक्षा लिँदै त्यहाँभित्रका क्रान्तिकारी शक्तिहरूसँग व्यापक एकता र ध्रुवीकरण गर्ने अभियानमा यसबीच तपाईंले थुप्रै समूहहरूसँग एकता गर्नुभएको छ। कतिपय वैचारिक मतभेदहरूलाई नजरअन्दाज गरेर एकता गरे तापनि एकताप्रतिको तपाईंको भावना सर्वहारा क्रान्तिको विकास गर्ने सूत्रभन्दा दायाँ–बायाँ छैन भन्ने कुरामा विवाद छैन। पछिल्लो समय नेकपा बहुमतसँग एकता गरेर धर्मेन्द्र बास्तोलालाई नेतृत्वमा स्थापित गर्ने तपाईंको योजना स्वयम् धर्मेन्द्रले ‘धोका’ दिएर असफल बनाएपछि पार्टीभित्र युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्न खोज्ने तपाईंको पवित्र इच्छामा तत्कालीन भौतिक परिस्थितिले साथ दिन सकेन।

कमरेड किरण ! गतसालको पार्टी महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्ने उद्देश्यका साथ तपाईंले निकै राम्रो पहलकदमी गरिरहेको कुरा धेरै मान्छेलाई थाहा छ। तर, सो महाधिवेशन तपाईंको इच्छाभन्दा बाहिर हुन गयो। पार्टी नेतृत्वमा रहने इच्छा नहुँदानहुँदै पनि वस्तुगत परिस्थितिले तपाईंलाई नै मूल नेताका रूपमा जबर्जस्त खडा गरिछोड्यो। तपाईंको राजनीतिक निष्ठा, इमान र इतिहासमाथि उक्त महाधिवेशनमार्फत परिस्थितिले निकै ठूलो र भद्दा मजाक गरिदियो। यसबाट सबैभन्दा पीडित स्वयम् तपाईं नै भएको हुनुपर्दछ।

महाधिवेशनले तपाईंमाथि गरेको यो मजाक र अन्यायलाई मनन गरेर समयक्रममा तपाईंले आफूमाथि न्याय हुने गरी कदम चाल्नुहुन्छ वा हुन्न भन्ने कुरा इतिहासको एउटा परीक्षाकै रूपमा, अनिश्चित विषय बनेर रहेको थियो। तपाईं अहिले उक्त परीक्षामा उत्तीर्ण हुनुभएको छ र आफूमाथि मात्र न्याय गर्नुभएको छैन कि तपाईंको राजनीतिक निष्ठामाथि भएको महाधिवेशनको मजाकलाई समेत राम्रोसँग जवाफ दिनुभएको छ।

कमरेड किरण ! नेतृत्वबाट राजीनामा दिएर तपाईंले आफूमाथि न्याय त गर्नु नै भयो, साथसाथै आफैंद्वारा राजनीतिक जीवनको कुनै एउटा महत्त्वपूर्ण कालखण्डमा अन्यायमा पारिएका र पनि जीवनपर्यन्त तपाईंलाई साथ दिँदै आएका वैचारिक एवम् राजनीतिक सहयोद्धा कमरेड गौरवलाई समेत तपाईंले यसपल्ट न्याय गर्नुभएको छ। ‘सेक्टर काण्ड’ का बखत आफूपछि दोस्रो वरियतामा रहनुभएका कमरेड गौरवलाई विभिन्न कारणले किनारामा धकेलेर प्रचण्डलाई नेतृत्वमा स्थापित गर्ने योजनामा तपाईंको समेत हात रहेका कारण अन्यायमा पारिए पनि तपाईंको साथमा निरन्तर निःशर्त राजनीतिक सहयात्रा गर्दै आएका कमरेड गौरवले ढिलै भए पनि आज आएर तपाईंबाट न्याय पाउनु अवश्य नै सुखद् विषय हो। आफ्नो राजनीतिक जीवनकालमा यतिबेला तपाईं यस सन्दर्भमा पनि सापेक्षित हिसाबले दोषमुक्त हुनुहुने देखिन्छ। यस सन्दर्भमा कम्युनिस्ट आन्दोलनमा तपाईंबाट सिक्नुपर्ने थुप्रै अनुकरणीय कुराहरू छन्, जसले कम्युनिस्ट आन्दोलन र सर्वहारा वर्गको हितमा महत्त्वपूर्ण योगदान गर्न सक्दछन्।

कमरेड किरण ! म तपाईंको निरपेक्ष आलोचक र समर्थक दुवै होइन। तपाईंको विचारसँग असहमत कयौं विषयवस्तुमा मैले एउटै पार्टीमा, सँगै भएका बखत केन्द्रीय समितिमा खुला आलोचना गरेको तथ्य स्पष्ट नै छ। सहमत भइएका विषयहरूको पक्षमा तपाईंको विचारको पक्षमा दृढतापूर्वक खडा भएको तथ्य पनि उत्तिकै स्पष्ट छ। विप्लव नेतृत्वको नेकपामाथिको ‘प्रतिबन्धित’ कालमा सो पार्टीसँग वार्ता–छलफल गर्ने सन्दर्भमा म, मेरो नेतृत्व र घर समेतलाई भूमिगत ट्रान्जिट प्वाइन्टका रूपमा तपाईंको योजना अनुकूल प्रयोग गरिएको कुरा तपाईंको स्मरणमा ताजै हुनुपर्दछ। चाहे भूमिगत ढङ्गले तपाईंलाई विप्लवसँग भेट गराउने वातावरण तयार पार्न होस् वा कमरेड गौरवलाई प्रकाण्डसँग भेट गराउने वातावरण मिलाउने विषय नै किन नहोस्, कयौं राजनीतिक अन्तर्विरोधका बीचमा मैले सदैव नेतृत्वलाई असाध्यै नजिकबाट, सकारात्मक ढङ्गले सहयोग गरेको कुरा दिनको घाम झैं छर्लङ्ग छ।

कतिपय सन्दर्भमा, कम्युनिस्ट आन्दोलनका विभिन्न कालखण्डमा काम गरेका महत्त्वपूर्ण व्यक्तित्वहरूसँग गोप्य रूपमा छलफल र भेटघाटको वातावरण बनाउन तपाईंले दिएको जिम्मेवारीलाई समेत मैले कुशलतापूर्वक पूरा गरेको कुरा पनि तपाईंलाई थाहै हुनुपर्दछ। निरपेक्ष समर्थक र निरपेक्ष आलोचक दुवैले नेतृत्वलाई सधैं सङ्कटको भुमरीभित्र फसाइदिने गर्दछन्। तपाईंको जीवनमा पनि यो पक्षले कतिपय सन्दर्भमा प्रभाव नपारेको होइन। तर, मबाट तपाईंको राजनीतिक जीवनमा यस प्रकारका कुनै गतिविधि कहिल्यै भएनन्। कतिपय स्वभावजन्य कमीकमजोरीका बावजुद नियतमा भने तपाईं स्पष्ट र सफा हुनुहुन्छ भन्ने मेरो स्पष्ट बुझाइ र अनुभव छ।

वस्तुको विकास गतिको नियमका आधारमा हुन्छ। विज्ञानको विकास गतिको नियम र मानव समाजको इतिहासका सार्वभौम एवम् अपराजेय श्रृङ्खलाकै नियमित प्रक्रिया हो। कम्युनिस्ट आन्दोलन, वर्गसङ्घर्ष र सर्वहारा क्रान्ति पनि गतिशील प्रक्रियाभित्रका अनन्त राजनीतिक श्रृङ्खला हुन्। यो यथार्थतालाई अस्वीकार गर्नेहरू क्रान्तिकारी बन्न सक्दैनन्। विज्ञान र कला, वस्तु र गति– परिस्थितिमाथि नेतृत्वदायी पहलकदमी लिनका लागि अनिवार्य पक्ष हुन्छन्।

तपाईं व्यक्तिगत हिसाबले उल्लेखित समग्र विषयप्रति सचेत, जवाफदेही र जिम्मेवार हुनुहुन्छ तथापि तपाईंले कम्युनिस्ट आन्दोलनमा अपेक्षित सफलता हासिल गर्न भने सक्नुभएन। यसका पछाडिको मुख्य कारण तपाईंको वरिपरि गतिहीन र स्वार्थी जमात केन्द्रीकृत हुनु अनि कुनै न कुनै रूपले यस प्रकारका तत्त्वहरूबाट तपाईं प्रभावित हुनु नै हो भन्ने कुराको आत्मसमीक्षा स्वयम् तपाईंबाट नै हुनुपर्दछ भन्ने मलाई लाग्दछ। यसबाट मुक्त हुन सक्नुभएको भए तपाईंको नेतृत्व–छाताबाट धेरै असल, योग्य र क्रान्तिकारी नेता–कार्यकर्ता समेत अलग हुनुपर्ने परिस्थिति शायद आउने थिएन। म स्वयम् पनि तपाईंको यही कमजोरीको सिकार एक पात्र हुनुको नाताले यतिखेर यो अनुभव साझा गरिरहेको छु।

तपाईंप्रति राजनीतिमा मेरो व्यक्तिगत गुनासो छैन, छ त केवल सम्मान, आदर र आलोचनात्मक दृष्टिकोणसहितको सकारात्मक सोच। राजनीतिक इमानका दृष्टिकोणले, अध्ययन–अनुसन्धान र विश्लेषण गर्ने क्षमताका हिसाबले, वर्गीय पक्षधरता, राजनीतिक इमान्दारिता र निष्ठाका दृष्टिकोणले अनि पृष्ठभूमि, इतिहास र निरन्तरताका हिसाबले तपाईं हामीभन्दा धेरै माथि हुनुहुन्छ। तपाईंको त्यो उचाई चुम्न हामी र हाम्रो पुस्ताले अझै धेरै ठूलो मेहनत र त्याग गर्न सक्नुपर्दछ। यस अर्थमा तपाईं म र मेरो पुस्ताका लागि राजनीतिक आदर्श र प्रेरणाको स्रोत हुनुहुन्छ। तपाईंसँग सँगै राजनीतिक सहयात्रा गरे वा नगरे, तपाईंले व्यक्तिगत रूपमा मलाई राम्रो माने वा नमाने– जुनसुकै स्थितिमा पनि मेरो दृष्टिकोण र नजरमा तपाईं निर्विवाद नेतृत्व र राजनीतिको सापेक्षित मार्गदर्शक नै हो र हुनुहुनेछ।

कमरेड किरण ! मलाई राम्ररी थाहा छ, मानिस सबै हिसाबले क्रान्तिकारी हुनु आफैंमा कठिन कार्य हो। झन् जीवनभर, अनवरत क्रान्तिकारी भइरहन सक्नु त्योभन्दा कयौं गुणा कठिन कार्य हो। तपाईं त्यो महान् कार्यमा उत्तीर्ण भइसक्नुभएको छ; हामी त परीक्षाको भर्खर प्रारम्भिक तयारीमा मात्र सीमित छौं। कम्युनिस्ट आन्दोलनको राजनीतिक इतिहासमा हामीले असल हुन, क्रान्तिकारी बन्न, आदर्शलाई पछ्याउन, निष्ठामा अडिन र बलिदानी भावनाले ओतप्रोत हुन तपाईंलाई जित्नु छ। यसका निम्ति तपाईंका असल, राम्रा र अनुकरणीय कामबाट मार्गदर्शन लिने र कमजोरीहरूको खुला, स्पष्ट र निश्चल आलोचना गर्ने पद्धतिको विकास गर्नु अनिवार्य हुन्छ। यो नै तपाईं र कम्युनिस्ट आन्दोलनमा तपाईंले पार गर्नुभएको राजनीतिक यात्राको निरन्तर विकासका निम्ति अपनाउनुपर्ने ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवादी मार्ग हो र यो मालेमावादको मार्ग पनि हो। क्रान्तिकारी अभिवादन सहित !

भरतपुर– ११, चितवन
३ कात्तिक, २०८२

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर