हावाहुरीका कारण कञ्चनपुरमा रहेका विद्युतका संरचनामा व्यापक क्षति पुगेको छ । हावाहुरीका कारण विद्युतका संरचनामा ७५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले जनाएको छ ।
हावाहुरीले विद्युत् प्रशारण लाइनका पोल ढालेको, टुटेको, तार चुँडालेको र पोलसँगै ट्रान्स्फर्मर समेत खस्दा क्षति भएको केन्द्रका प्रमुख अवधेशकुमार गुप्ताले बताए । उनका अनुसार हावाहुरीका कारण सबैभन्दा बढी कृष्णपुर नगरपालिकाको रैकवार विचवामा मात्रै १ सय ७४ वटा पोल ढलेका र तार टुटेका छन् ।
त्यस्तै, भीमदत्त नगरपालिकामा १ सय, बेलौरी वितरण केन्द्रअन्तर्गतका स्थानमा १ सय ५०, शुक्लाफाँटामा ३५ र बेदकोट नगरपालिकामा ३० वटा पोल ढलेका छन् । जिल्लाका दुई स्थानमा पोलसँगै दुई वटा ट्रान्सफर्मर समेत खसेर नोक्सान भएका छन् ।
कार्यालय प्रमुख गुप्ताका अनुसार एक पोलमा १५ हजार रुपैयाँ बराबरको क्षति भएको छ । ‘हावाहुरीसँगै ढलेका रुखहरु विद्युतीय संरचनामा खस्दा र तार चुडाँलेर लैजादा प्राधिकरणले ठूलो नोक्सानी व्यहोर्नु परेको छ,’ प्रमुख गुप्ताले भने– ‘अवरुद्ध विद्युत् सेवा सञ्चालनका लागि पोल राख्ने, तार जोड्नेलगायतका कामहरु दु्रत गतिमा अगाडि बढेका छन् ।’
मुख्य बजार क्षेत्रका अधिकांश स्थानको विद्युत् सेवा सञ्चालन भएको छ । ग्रामीण क्षेत्रका अधिकांश स्थानको विद्युत् सेवा सञ्चालन भइसकेको र हुन नसकेका स्थानमा प्राविधिक टोलीले कार्य गरिरहेको जानकारी गुप्ताले दिएको खबर राससले प्रेषित गरेको छ ।