मुटुको भल्बमा समस्या देखिएर अस्पताल भर्ना भएका प्रदेश– ३ का मुख्यमन्त्री डोरमणि पौडेल डिस्चार्ज भएका छन् । जेठ १९ मा अस्पताल भर्ना भएका मुख्यमन्त्री पौडेल एक हप्ता अस्पताल बसाइपछि सोमबार डिस्चार्ज भएका हुन् ।
नियमित स्वास्थ्य परीक्षणका क्रममा मुटुमा समस्या देखिएपछि उनको एनजीओप्लास्टी गरिएको थियो । मुटुको नियमित परीक्षणका लागि काठमाडौंको सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रमा पुगेका मुख्यमन्त्री पौडेलको एनजीओग्राफी गर्दा मुटुको भल्बमा सामान्य समस्या देखिएपछि उनी अस्पताल भर्ना भएको थिए ।
अस्पतालका मुटुरोग विषेशज्ञ डा. चन्द्रमणि अधिकारीको टोलीले उनको उपचार गरेको हो । उनी अस्पताल भर्ना भएसँगै उनका एक हप्तासम्मका सार्वजनिक कार्यक्रम स्थगित गरिएका थिए । मुख्यमन्त्री अस्वस्थ भएपछि जेठ २४ र २५ मा हेटौंडामा हुने प्रदेश समन्वय परिषद् समेत स्थगित भएको थियो ।
जेठ २९ र ३० मा हुने परिषदको बैठकमा सहभागी हुन मुख्यमन्त्री पौडेल मङ्गलबार हेटौंडा आउने जानकारी मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालले दिएका छन् । उहाँका अनुसार परिषद् बैठक मुख्यमन्त्रीको अध्यक्षतामा हुने खबर राससले प्रेषित गरेको छ ।