बसको ढोकाबाट हामफाल्दा चितवनमा एक युवतीको मृत्यु भएको छ । नारायणगढबाट भण्डारातर्फ जाँदै गरेको लु १ ख ६९९१ नम्बरको बसमा सवार रत्ननगर नगरपालिका– ९, बस्ने ३७ वर्षीया बालिका आचार्यले भरतपुरको चौबीसकोठीमा पुगेपछि आइतबार बसको ढोकाबाट हामफालेकी हुन् ।
पुरानो मेडिकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
दुई पुरुष मृत फेला
चितवनका छुट्टाछुट्टै स्थानमा आइतबार दुई पुरुष मृत अवस्थामा फेला परेका छन् । भरतपुर महानगरपालिका– १५, फूलबारीमा ८० वर्षीय रामप्रसाद तिवारी मृत फेला परेका हुन् । भरतपुर– ३, बेलचोक घर भई मागेर खाँदै हिँड्ने तिवारीको अपराह्न ५ः३५ बजे शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।
आइतबार अपराह्न नै कालिका नगरपालिका– ८, न्युरेनीमा अन्दाजी ३०–३२ वर्षीय दुर्गाबहादुर चेपाङ पनि मृत अवस्थामा फेला परेका छन् । उनी सडक छेउमा मृत फेला परेको इलाका प्रहरी कार्यालय टाँडीले जानकारी दिएको छ । चेपाङको के कारणले मृत्यु भएको भन्ने खुल्न नसकेको प्रहरीले जनाएको खबर राससले प्रेषित गरेको छ ।